नेपाल एयरलाइन्समा बेथितिः ८ पाइलट २ वर्षदेखि काम विहिन, तलब मासिक १३ हजार

  २०७७ चैत १८ गते १०:४१     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनको वेवास्ताका कारण ८ जना पाइलट साढे २ वर्षदेखि काम विहीन भएका छन् । निगम सञ्चालक समितिले आन्तरिक उडानका लागि नियुक्ति दिएका पाइलटलाई तालिम लगायतको व्यवस्थापन गर्न नसक्दा काम (उडान) विहीन भएका हुन् ।

२०७४ साल फागुनमा लोकसेवा मार्फत स्थायी पाइलटका रुपमा नियुक्ति भएका १० जनालाई २०७५ चैतमा ट्विनअटर विमान उडाउनको तालिम प्रदान गरिएको थियो । यसरी तालिम लिएकामध्ये २ जनालाई ट्विनअटर र बाँकी ८ जनालाई २०७६ चैतमा चिनियाँ उडानको अर्काे तालिम प्रदान गरियो ।

ट्विनअटर तालिम लिएका ८ जना पाइलटले २०७७ साउनमा नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमतिपत्र पाए । तर, पाइलटले अनुमतिपत्र पाए लगत्तै निगम व्यवस्थापनले गत साउन १५ गतेदेखि चिनिया जहाज संचालन नगर्ने भन्दै ग्राउण्डेड गर्ने निर्णय गर्यो । र, ती चिनियाँ जहाज ग्राउण्डेड भए ।

एकैपटक निगममा छिरेका १० जनामध्ये ८ जनालाई जहाज उडाउन नदिने योजना बनाएर चिनियाँ जहाज उडानको तालिमका नाममा उनीहरुको भविष्यमाथि खेलबाड गरिएको एक वरिष्ठ पाइलटले बताए ।

‘सुरुवाती चरणमा १० जनाले नै ट्विनअटरका लागि तालिम लिएका थिए, आवश्यक नै नभएको भए उनीहरुलाई किन तालिम दिइयो ? तालिम दिएका १० जनामध्ये २ जनालाई मात्र किन टिवनअटरमा राखियो, २ जना मात्र आवश्यक थियो भने लोकसेवा मार्फत १० जना किन मागियो ? भएका पाइलटको व्यवस्थापन गर्न नसक्दा किन आवश्यक भन्दा धेरैलाई नियुक्ति दिइयो ?’ ती पाइलटले प्रश्न गरे ।

विदेशमा लाखौँ खर्च गरेर पढाई पूरा गरी नेपाल आएका उनीहरुलाई १३ हजार तलव दिएर साढे दुई वर्षसम्म राखिएको भन्दै निगम सञ्चालक समितिले लापरबाही गरेको उनले आरोप लगाए ।

गत साउनमा प्राधिकरणबाट चिनियाँ जहाज उडानको लाइसेन्स पाएका ८ जना पाइलट हाल मासिक २० हजार रुपैयाँ दिने निर्णय निगम व्यवस्थापनले गरेको छ ।

निगममा स्थायी पाइलटको रुपमा नियुक्ति पाएपछि गत साउनसम्म मासिक रुपमा १३ हजार रुपैयाँ बराबरको सेवा सुविधा पाएका उनीहरु फागुन महिनादेखि मासिक रुपमा २० हजार रुपैयाँ मात्र पाउँदै आएका छन् ।

लाइसेन्स पाएपछि गत भदौदेखि माघ मसान्तसम्म तोकिए अनुसारको मासिक सेवा सुविधा पाएपनि फागुनदेखि भने मासिक २० हजार रुपैयाँ तलब दिने गरिएको छ ।

यता निगमका अधिकारीहरु भने निगमले आन्तरिक उडानका लागि ४ वटा ट्विनअटर खरिदको योजना बनाएको भन्दै जहाज आएपछि व्यवस्थापन हुने बताउँदै आएका छन् ।

‘टिवनअटरका लागि आवश्यक सबै क्यापटेन तथा कोपाइलट सबै छन्, चिनियाँ जहाजका कोपाइलटको व्यवस्थापन गर्न निगमलाई अप्ठ्यारो परेको छ,’ निगम स्रोतले भन्यो ।

हाल कार्यरत ८ जना पाइलटले भने निगम व्यवस्थापनको कमजोरीका कारण लामो समयदेखि उडान विहीन भएको भन्दै तोकिएको सेवासुविधा दिनुपर्ने माग राखेका छन् । निगमले ग्यारेन्टी गरेको ४५ घण्टा बराबरको सेवा सुविधा दिनुपर्ने उनीहरुको भनाइ छ ।

नियुक्ति नै लिएनन् ३ पाइलटले

निगमले २०७४ मा १३ जना पाइलटलाई स्थायी नियुक्ति लिन बोलाएको थियो । तर, वसन्त सुब्बा, आदित्य कसजु र अंकुर आर्याले नियुक्ति लिनन् । लोकसेवामार्फत लिइएको विज्ञापनबाट स्थायी नियुक्ति पाएका मेल्सन ओझा, प्रचण्ड श्रेष्ठ, प्रसान्त शाह, श्रीजना आचार्य, प्रतिक पौडेल, सुजन पुरी, अंकित बोहोरा, रामकृष्ण श्रेष्ठ, बादलराज गुप्ता र आनन्द कुमार श्रेष्ठले भने नियुक्ति लिएका थिए । यसमध्ये अंकित बोहोरा र सुजन पुरीले भने उडानको काम पाएका छन् । बाँकी ८ जना पाइलट उडान विहिन भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.