सर्वाेच्चको आदेशपछि माउन्टेन गाइडलाई लाइसेन्स दिन रोक

  २०७७ चैत १६ गते १७:१०     विकासन्युज

काठमाडौं । पर्यटन विभागले माउन्टेन गाइडलाई वितरण गरेको परिचयपत्र (लाइसेन्स) अनिश्चीत समयका लागि स्थगीत गरेको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को रातो किताबको आधारमा माउन्टेन गाइडलाई प्रमाणपत्र वितरण नगर्न सर्वाेच्चले आन्तरिक आदेश जारी गरेपछि विभागले स्थगीत गरेको हो ।

चैत ९ गतेसंस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सहित पर्यटन विभागलाई रातो किताबको आधारमा माउन्टेन गाइडलाई प्रमाणपत्र वितरण नगर्न सर्वाेच्चले आन्तरिक आदेश जारी गरेको थियो । सर्वाेच्चले आदेश दिएको ६ दिनपछि विभागले सोमबार एक सूचना जारी गर्दै लाइसेन्स वितरणको कार्य स्थगीत भएको जनाएको हो ।

सर्वाेच्चको आदेश विपरित चैत १० गतेदेखि विभागले माउन्टेन गाइडलाई परिचयपत्र वितरण शुरु गरेको छ । विभागले कीर्तिमानी आरोही कामिरिता शेर्पालाई पहिलो परिचयपत्र दिएको सरकारी लाइसेन्स वितरण शुरु गरेको हो ।

चैत १० गते अर्थात पहिलो दिन ८८ जनालाई लाइसेन्स वितरण गरको विभागले ५ दिनको अबधिमा १ सय १० भन्दा बढी गाइडलाई लाइसेन्स वितरण गरिसकेको छ । सर्वाेच्च अदालतबाट नजिकै भृकुटिमण्डपमा रहेको पर्यटन विभागमा अदालतबाट आदेश भएको ७ दिनपछि सोमबार बिहान मात्र जानकारी आएको विभागले जनाएको छ ।

‘आज बिहान हामीलाई सर्वोच्चबाट जानकारी आएको छ, आधिकारिक रुपमा जानकारी आएपछि हामीले वितरणको कार्य स्थगीत गरेका हौँ’, विभाग स्रोतले भन्यो ।

सर्वोच्चले सो विषयमा १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन दुबै पक्षलाई आदेश दिएको छ । यस्तै, चैत १८ गते छलफलका लागि पक्ष र विपक्षलाई सर्वोच्चमा बोलाएको छ ।

नेपाल पर्वतीय पथ प्रदर्शकको परिचय पत्र उपलब्ध गराउने निर्णयको विरुद्धमा ४३ जनाको प्रतिनिधित्व गर्दै अधिवक्ता प्रविण खरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.