६ सय ६० जनालाई भन्सार एजेन्टमा रोजगारीको अवसर

  २०७७ चैत १६ गते ११:५७     विकासन्युज

काठमाडौं । भन्सार एजेन्टको इजाजतपत्र लिन इच्छुक व्यक्तिका लागि अनलाइन दरखास्त आह्वान खुला भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै ६ सय ६० जनाका लागि आवेदन माग गरेको हो ।

भन्सार नियमावली, २०६४ को नियम ३७, उपनियम (१) बमोजिम भन्सार एजेन्टको इजाजतपत्रका लागि देहाय बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिले विभागको वेवसाइट मार्फत अनलाइन दरखास्त दिन सक्नेछन् । विभागको सूचना अनुसार २१ वर्ष पूरा गरेका नेपाली नागरिकले विभागको वेवसाइटमा गएर दरखास्त दिन सक्नेछन् । त्यसका लागि भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली लिंकमार्फत् दरखास्त दिनुपर्नेछ ।

परीक्षा केन्द्र काठमाडौंमा मात्र हुनेछ । दरखास्त भर्न दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ । २०७८ वैशाख ५ गतेसम्म दरखास्त दिने समय छ । इच्छुक उम्मेदवार स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । कम्प्युटर सम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेछ ।

नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र, कम्प्युटर तालिमको प्रमाणपत्र, भन्सार नियमावली, २०६४ को नियम ३७ को उपनियम (२) को खण्ड (ख) बमोजिमको योग्यता आवश्यक नपर्ने व्यक्तिको हकमा भन्सार नियमावली, २०६४ को नियम ३७ को उपनियम (३) बमोजिम सम्बन्धित भन्सार कार्यालयका प्रमुखले प्रमाणित गरेको कागजात स्क्यान गरी अपलोड गर्नुपर्नेछ ।

२० वर्षपछिको अबसर

लामो समय पछि विभागले पहिलो पटक ठूलो संख्यामा एजेन्टको लाइसेन्सका लागि आवेदन माग गरेको हो । करिब २० वर्षअघि विभागले चार सय भन्सार एजेन्टलाई लाइसेन्स दिइएको थियो । लामो समयसम्म एजेन्टका लागि आवेदन नहुँदा हाल एक सय ७० जना मात्र एजेन्ट रहेका छन् ।

विभागले नयाँ माग गरेको एजेन्टका लागि लोकसेवा आयोगमार्फत लिखित तथा मौखित परीक्षा लिने तयारी गरेको छ । भन्सार एजेन्टका लागि आवेदन दिन बीए वा सोसरहको शैक्षिक योग्यता आवश्यक हुन्छ भने साधारण कम्प्युटर चलाउन सक्ने हुनुपर्छ ।

यसअघि भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार विभागले ऐन परिमार्जन गरी परीक्षा लिन लागिएको जनाएको छ ।

भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.