किसानहरुले किसान क्रेडिट कार्ड मार्फत २ लाख रुपैयाँसम्म विना धितो ऋण पाउँछन् – नगरप्रमुख आले

  २०७७ चैत ११ गते १६:३४     विकासन्युज

नेपालको प्रदेश १ अन्तर्गतको भोजपुर जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय नगरपालिका हो भोजपुर नगरपालिका । १२ ओटा वडा रहेको यस नगरपालिका कृषि उत्पादनका क्षेत्रमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ ।

यो नगर भौगोलिक हिसावले मध्यपहाडी भेगमा पर्छ । यहाँको हावापानी मध्यम खालको रहेको छ । यस नगरपालिका रहेको स्थानलाई मध्यकालीन नेपालमा पूर्व ४ नम्वरको किल्ला भनेर पनि चिनिन्छ । मध्यपहाडी राजमार्गले छोएको हुँदा नेपालको राजधानी काठमाडौंसम्म आवागमन गर्न सहज हुने सम्भावना रहेको यस नगरपालिका पर्यटकीय हिसावले पनि अत्यन्तै सुन्दर एवं मनमोहक देखिन्छ ।

नेपाल एकीकरण अभियानपश्चात यस क्षेत्रलाई माझकिराँत क्षेत्रको प्रशासनिक केन्द्रका रुपमा चयन गरिएको इतिहास छ । वि.सं. १८७२ सालमा यसै नगर क्षेत्रको टक्सार बजारमा नेपालभर आवश्यक पर्ने डोली पैसाका नामले प्रख्यात टक (पैसा) टकमारी गर्ने काम भएकोले सो बजारको नामनै टक्सार रहन गएको छ जुन बजार हाल यसै नगर क्षेत्रमा पर्दछ ।

नगरपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भईसकेपछि नगरपालिकामा कस्ता खाले परिवर्तन देखापरेका छन्, रोजगारीको अवसर सृजना गर्नमा नगरपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा सो नगरपालिकाका मेयर कैलाश कुमार आलेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश ।

कृषि क्षेत्रबाटै सुरु गरौं, नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

कृषि विकासको लागि हामीले नगरपालिकामा धेरै काम गर्दै आएका छौैैं । नगरपालिकाका धेरै नागरिकहरू कृषि पेसामा आवद्ध रहेका छन् । नगरपालिकामा किसान क्रेडिट कार्डको लञ्च गर्न लागेका छौं । आउँदो चैत्र १७ गते किसान क्रेडिट कार्ड सम्बन्धी सम्झौता गर्ने कार्यक्रम पनि रहेको छ । किसानहरुले किसान क्रेडिट कार्ड मार्फत २ लाख रुपैयाँसम्म विना धितो ऋण पाउँछन् । किसानले गर्न लागेको व्यवसायको जानकारी अनुसार मात्र यो सेवा पाउनेछन् ।

हामीले किसानको माग अनुसारको बिउ उपलब्ध गराउने व्यवस्था पनि मिलाएका छौं । नगरपालिकामा सानातिना तरकारीको बिउ निःशुल्क र धेरै जसो ५० प्रतिशत अनुदानको बिउ वितरण गर्दै आएका छौं । कृषिलाई आधुनिकीकरण गर्नेतर्फ पनि विशेष ध्यान दिइरहेका छौं । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउन पनि किसानहरूलाई आग्रह गरेका छौं । हामीले नगरपालिकाका केही वडाहरूलाई पकेट क्षेत्रका रूपमा पनि छुट्याएका छौैं । ३ र ४ नं. वडालाई सुन्तला पकेट क्षेत्र तथा वडा नं. १ र २ लाई अलैंची पकेट क्षेत्रका रूपमा घोषणा गरेका छौं । केही वडालाई मकै पकेट क्षेत्रको रुपमा पनि छुट्याएका छौं ।

नगरपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ?

नगरपालिका भित्र धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँको मुख्य पेशा खेति किसानी नै हो । प्रतिशतमै भन्नुपर्दा करिब ७० प्रतिशत मानिसहरू कृषि पेसामा आवद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं ।

नगरपालिकामा स्वास्थ्य क्षेत्रको विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ?

स्वास्थ्य क्षेत्रको विकासका लागि हामीले धेरै काम गर्दै आएका छौं । ‘एक वडा एक स्वास्थ्य चौकी’को अवधारण पनि नगरपालिकामा रहेको छ । सरकारले दिएको औषधीहरू गाउँपालिकाका नागरिकलाई निःशुल्क वितरण गर्ने गरेका छौं । ठुलो रोगको त उपचार नगरपालिकामा हुन सक्दैन । नगरपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । १२ ओटा वडा रहेको हाम्रो नगरपालिकामा १२ ओटै स्वास्थ्य चौकी रहेका छन् ।

खेलकुद विकासका लागि नगरपालिकाले कस्ता योजनाहरू बनाएको छ ?

खेलकुद विकासको लागि नगरपालिकामा ‘एक वडा एक खेल मैदान’ भन्ने अभियान चलाएका छौं । खेलकुद समिति पनि नगरपालिकामा गठन भएका छन् । नगरपालिकामा १० ओटा युवा क्लबहरू रहेका छन् । युवा क्लबहरू मार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, टेबलटेनिस, कराँते, फुटबल लगायतका खेलहरू नगरपालिकामा आयोजना गर्ने गरेका छौं । नगरपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पनि नगरपालिकामा हुने गरेको छ ।

शैक्षिक विकासको लागि नगरपालिकाले कसरी काम गर्दै आइरहेको छ त ?

शैक्षिक क्षेत्रको विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । नगरपालिकाको शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं । विद्यालयको कक्षा कोठामा स्मार्ट बोड राखेर पढाउने काम पनि भएको छ । आधुनिक शिक्षा प्रणालिलाई पनि ध्यान दिइरहेका छौं । शिक्षा प्रणालिलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामीले प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । बेला बेलामा विभिन्न विज्ञहरूबाट शिक्षकहरूलाई तालिम पनि दिँदै आएका छौं ।

आफ्नो नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हाम्रो नगरपालिका पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको ठाउँ हो । नगरपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । नगरपालिकाको वडा नं ३ स्थित सुन्तले बजार र सो आसपासका हिमाल तथा विश्वकै गहिरो अरुण उपत्यकाको महनमोहक दृश्य हेर्न सकिने भएकाले भ्यु टावरको निर्माण गर्ने योजना पनि रहेको छ । सिद्धकाली मन्दिर पनि नगरपालिका भित्र पर्यटकीय स्थलको रूपमा चर्चित छ । टक्सार बजार पाटीपौवा तथा देवीदेवताका मन्दिरहरु रहुनुका कारणले महत्वपूर्ण मानिएको छ । नगरपालिकामा पर्यटन पूर्वधारमा पनि विशेष जोड दिएका छौं ।

नगरपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ?

स्थानीय सरकार बनिसकेपछि नगरपालिकामा विकास निर्माणका कामहरु पनि धेरै भएका छन् । नगरपालिको सबै वडामा कच्ची सडक पुर्याएका छौं । नगरपालिकाका केही कच्ची सडक पिच पनि भएका छन् । खानेपानीको काम पनि गरेका छौँ । १२ ओटा वडामध्ये ४ ओटा वडामा मात्र बिजुली पुगेको थियो । हाल हामीले नगरपालिकाका सबै वडामा बिजुली पुर्याउन सफल भएका छौं ।

नगरपालिकामा विकास निर्माणको काम पनि धेरै गरिरहेका छौं । नगरपालिकाको भवन र सामुदायिक भवनको पनि हामीले निर्माण गरेका छौं । २१ करोड रुपैयाँको बजेटमा नगरपालिकाको भवन र सामुदायिक भवनको निर्माण भएको हो । प्रदेश सरकारको सहयोगमा भोजपुर एयरपोर्टलाई स्तरोन्नती गरेका छौं । १६ करोड रुपैयाँको लागतमा यो काम भएको हो । १९ करोड रुपैयाँको बजेटमा भोजपुर रङ्गशालको पनि निर्माण भइरहेको छ ।

अहिलेसम्मको आफ्नो काम गराईबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

अहिलेसम्मको काम गराईबाट म सन्तुष्ट नै छु । नगरपालिकामा भएका विकास निर्माणको काम पनि प्रभावकारी नै भएका छन् ।

तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि नगरपालिकामा आएको परिवर्तन बारे केही बताईदिनुस् न

पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । देखिने खालका कामहरू पनि धेरै भएका छन् । पहिला प्रशासनिक भवन नभएर शनिवारे बजारको टहरा बाट काम गथ्र्यौं भने हाल हामीले नगरपालिकाको आफ्नै प्रशासनिक भवन बनाएका छौं । भौतिक संरचनाहरूको निर्माण पनि नगरपालिका भित्र भएको छ । अहिले नगरपालिका भित्र सडकको विकास भएको छ । खानेपानीको व्यवस्था हुन थालेको छ । नगरपालिका भित्रका केही सडकहरू पिच पनि भइसकेका छन् । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । पर्यटन विकासको लागि पनि हामीले जोड दिएका छौं । विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम पनि अगाडि बढाइरहेका छौं ।

यस अवधिमा बजेट के कति खर्च भयो ? खर्चअनुसार उपलब्धि प्राप्त भएको छ कि छैन होला ?

विकास गरेअनुसारको बजेट खर्च हुने गरेको छ । खर्च गरेअनुसार उपलब्धी पनि राम्रो नै भएको छ । बजेट बनाउँदा वित्त समानिकरण बजेट बनाउनु पर्ने हुन्छ । वित्त समानिकरणको बजेट न्यून रहेको छ । यस वर्ष १० करोड ५० लाख रुपौयाँ थियो । थोरै बजेटले धेरै काम गर्नुपर्ने हुन्छ ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारिक कम्पनी कुन हो ?

हाम्रो गाउँपालिकामा ठुला उद्योग त छैनन् । स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरू रहेका छन् । पलिकामा बरु कृषि उद्योग धेरै संख्यामा रहेको छ । कृषकहरूले कुखुरापालन तथा भैँसीपालन लगायतका काम पनि गर्दै आएका छन् । नगरपालिकामा २ ओटा हाइड्रोपावर सञ्चालन भएका छन् । टक्सर पिखुवा हाइड्रोपावरले ८ मेगावाटको विधुत उत्पादन गर्छ भने स्ट्रोन हाइड्रोपावरले ५ मेगावाट विधुत उत्पादन गर्छ ।

सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन् हो नि ?

गाउँपालिकामा ठुलो उद्योगहरू नभइसकेपछि धेरै कर तिर्ने कम्पनी पनि हुने कुरै भएन । तरपनि सामान्य व्यवसायहरुबाट कर सङ्कलन हुने गरेको छ ।

नगरपालिकामा नागरिकहरू प्रायः कस्ता समस्या लिएर आउने गरेका छन् ?

व्यक्ति अनुसारको समस्या आउने गरेको छ । धेरैजसो त पूर्वाधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउने गरेका छन् । कोही शिक्षा क्षेत्रका समस्या लिएर आउँछन् भने कोही चाहीँ विकास निर्माणको समस्या लिएर आउँछन् । तरपनि त्यस्ता समस्याहरूलाई समाधान गरेर मात्र हामी अगाडि बढ्ने गरेका छौं ।

प्रदेश तथा केन्द्र सरकारसँग कस्तो समन्वय भइरहेको छ ?

पार्टी अनुसारको केन्द्र र प्रदेश बाट बजेट आउने गर्छ । फरक पार्टीको नेतृत्वकर्ता भयो भने बजेट पनि न्यून आउने गरेको छ । तर पनि सामान्य विकास निर्माणको काममा त हाम्रो समन्वय भएकै छ ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना छ ?

९ ओटा स्थानीय तह रहेको भोजपुर जिल्लामा उत्कृष्ट काम चाहीँ हाम्रै नगरपालिकामा भएको छ जस्तो मलाई लाग्छ । यो ५ वर्षको कार्यअवधिमा सिमित बजेटले पनि नागरिकहरुको आधारभूत आवश्यकता पुरा हुने विश्वास छ । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं ।