देशभर इन्टरनेट जडान गर्न ३ अर्ब रुपैयाँ भुक्तानी, २५ प्रतिशत क्षेत्रमा काम बाँकी

  २०७७ चैत ११ गते १३:४७     विकासन्युज

काठमाडाैं । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । २५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान हुन बाँकी छ ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी परियोजनालाई १८ प्याकेज बनाएर सञ्चालन गरेको छ । उक्त प्याजेकअन्तर्गत फागुन मसान्तसम्ममा ७४ दशमलव ८९ प्रतिशत स्थानमा उच्च गतिको इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको हो ।

तेह्र प्याकेजअन्तर्गत ५० जिल्लामा तोकिएबमोजिम स्थानमा जडान सम्पन्न भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार १८ प्याकेजका १५ हजार ९८२ स्थानमध्ये हालसम्म ११ हजार ९६९ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ ।

यसैगरी, प्राधिकरणको तथ्याङ्कअनुसार ४ हजार ७ सय ६९ स्थानमा इन्टरनेट जडानको कार्य बाँकी छ । प्राधिकरणको तथ्याङ्कअनुसार ७ सय २ स्थानीय निकायमध्ये ५ सय ५० स्थानमा इन्टरनेट जडान सम्पन्न भएको र १ सय ५२ स्थानीय तहमा जडानको कार्य भइरहेको छ ।

यसैगरी, ५ हजार ९ सय ३३ वडा कार्यालयमध्ये हालसम्म चार हजार ४ सय ७४, पाँच हजार २ सय २५ माविमध्ये हालसम्म ३हजार ७ सय ९२ र ४ हजार १ सय २२ स्वास्थ्य संस्थामध्ये हालसम्म ३ हजार १ सय ५३ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार दुई प्याकेजअन्तर्गत १० जिल्लामा ५० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भई सेवा सञ्चालनमा छ ।

तीन प्याकेजअन्तर्गतका १४ जिल्लाका तोकिएबमोजिम जिल्लामा नेटवर्क तथा कनेक्टिभिटी जडानका लागि सेवा प्रदायकहरु छनोट भई निर्माण भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए । उनका अनुसार सम्पन्न भइसकेका परियोजनामध्ये हालसम्म पाँचवटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण सम्पन्न भइसकेको, दुई परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताबाट पहिलो चरणअन्तर्गतको अनुगमन तथा प्रमाणीकरण कार्य भइरहेको छ ।

यसैगरी चार परियोजनाको दोस्रो चरणअन्तर्गत अनुगमन तथा प्रमाणीकरण कार्य भइरहेको तथा एक परियोजनाको अनुगमनको कार्य भइरहेको छ । कूल ५ अर्ब २६ करोड ९७ लाख ७० हजार रकममध्ये हालसम्म २ अर्ब ९८ करोड ८७ लाख रकम ब्रोडब्यान्ड परियोजनाका लागि सेवा प्रदायकलाई भुक्तानी गरिएको प्रवक्ता अर्यालले जानकारी दिए ।

उनका अनुसार उक्त परियोजनाअन्तर्गत देशभरका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो । प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषअन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट विस्तार परियोजनामा काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई भने समेटेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.