बैंकर श्रीमती र बैंकर श्रीमानलाई माया गर्नु है !

  २०७७ चैत १० गते १४:२८     सुशिल घिमिरे ‘त्रैलोक्य’

मैले पढाउने स्कुल कोटेश्वरनिर भएकोले बिहानको नौ बजे सदा झैँ कपनबाट कोटेश्वरतिर जाने बसमा चढेर ९:२० बजे ठ्याक्क के ओर्लेको मात्र थिए, वर्षाैंपछिको स्कुलमासँगै पढेको साथी प्रियासँग अकस्मात भेट् भयो ।

म प्रफुल्ल हुँदै परै बाट हात हल्लाए । उसले मलाई देखिन् र मुस्कुराउँदै भनिन्- तिमी सुशिल होइन् ? बदलामा म त भनेँ ।

उनले मलाई हतार छ, पछि कुरा गरुम्ला ल… तिम्रो नम्बर देउ त, म पछि फोन गर्छु भनिन् ।

उसलाई हतार छ सायद । केही अप्ठ्यारो परेको होला । फेरि वषौंपछि भेट भएको । मैले कुरा अगाडी बढाउने र गफ गर्ने यो उपयुक्त समय नभएको यकिन गरेँ । र, भने- ल टिप ९८…। उसले हतार हतार अर्को बसमा चढ्दै भनिन्- मिस्डकल दिन्छु, मेरो नम्बर सेभ गर है ।

र, उनी सुन्धारा… सुन्धारा भन्दै सहचालकले बोलाइरहेको बसमा बुरुक्कै उफ्रेर चढिन् । म ढुक्क भए वास्तवमै उसलाई हतार भएकै रहेछ ।

अलि दिनपछि फेरि मेरो कलेजको साथी विकास भेट भयो, उही कोटेश्वरमा । तर, प्रायः ऊ बाइकमा हुन्छ । मलाई कहिले काहिँ बाइकबाटै हर्न बजाउछ । म ठिङ्ग उभिन्छु रोक्छ कि बाइक भनेर । अहं रोक्दैन । विकाससँग भेट हुँदैन भनुम भने बाइकमा देखादेख हुन्छ । भेट हुन्छ भनुम् भने रोकिएर गफगाफ भएको छैन ।

म घर आएर सोच्छु- स्कुल र कलेजका साथीहरु जोसँग विगतमा स्कुल र कलेज पढ्दासँगै घन्टौं गफगाफ हुन्थे, सँगै डुलिन्थ्यो, हिडिन्थ्यो । सँगै बसिन्थ्यो । आज किन आँखा जुध्न पनि गाह्रो, किन बोल्दैनन् मसँग ? सायद ठूला भए क्यारे । भाउ खोजे जस्तो छ साथीहरुले ।

अलि दिन पछि शनिबार प्रियाको फोन आयो । भनिन्- सुशिल तिमी कहाँ हो…? भेटुम न ल । मनमनै भनेँ- अस्ति भेट्दा पनि नबाेल्ने तिमी होइन् ? यस्तो भनेर कहाँ हुन्छ र ? अनि भनेँ- हुन्छ । तर कहाँ ?

उनले उही कोटेश्वरमा बताइन् । एउटा कफिशपमा । म उनले दिएको सयम २ बजे नै कफिसपमा पुगेँ । भेटेपछि स्कुलका कुरा भए । कलेजका कुरा भए । उनी बैंकमा काम गर्दिरहिछन् । बसाई बनेपा, जागिर सुन्धारा उनले दुखेसो पोखिन् । बैंकको जगिर तिम्रो झै मास्टरको जस्तो कहाँ सजिलो हुन्छ र ?

‘पहिला बनेपा नोकरी हुँदा लोन लिएर घर बनाएको, अचेल सरुवा भएर सुन्धारा शाखामा छु । सधै घरपायक जागिर नहुँदो रहेछ, हेरन’ उनी गुनासोको पोको फुकाउँदै थिइन् ।

अनि बिहान कति बजे हिड्छौं नि ? मैले बिचैमा प्रश्न गरे ।

‘बिहान त्यस्तै ८ बजेतिर,’ उनले सटिक जवाफ फर्काइन् ।

मै छक्क पर्दै सोधे- अनि खाना ?

‘खाना त खाएर नै हिड्छु,’ उनले यत्ति भनिन् ।

ग्यास्टिक होला नि, मैले माया दर्शाउँदै भने ।

‘ग्यास्टिकको त कुरै नगर, बैंकमा काम गर्ने प्राय सबैलाई ग्यास्टिक हुन्छ नि ।’

उसले यसो भन्दा म ट्वा परें ।

‘तिम्रो सरकारीमा जस्तो कहाँ हुन्छ र प्राइभेटमा ? बिहान उठ्, नानीहरुलाई होमवर्क गराउँ, खाना बनाउँ, भाडा माझ, हतार हतार अफिस जाऊ, बेलुका घर पुग्दा ८ बज्छ, थाकेर पूरै लोत हुइन्छ नि,’ सायद कसैसँग फुकाउन नपाएको गुनासाको पोको धेरै पछि मसँग खोल्दै थिइन् उनी ।

अनि घरमा सासु, नन्द र श्रीमानले सघाउँदैनन् ? म बिल्कुल नितान्त कुरा सोध्न पुगें ।

‘अँह, मोबाइल र टिभीको रिमोट भए पुग्यो घरकालाई, अनि महिनै पिच्छे आउने मेरो तलब पनि चाहिन्छ,’ उनले यसोभन्दै गर्दा नियाउरो अनुहार लगाइन् ।

त्यसो भए बैंकको जागिर छोड, अर्को जागिर गर्नु नि- मैले प्याच्च थपे ।

‘कहाँ त्यस्तो हुन्छ ? बैंकको जागिर अरु क्षेत्र जस्तो सजिलो नभए पनि यसमा पारदर्शिता छ, मिहिनेत गर्नेलाई अवसर र मिहिनेतको मुल्याङकन छ । राम्रो गरे प्रमोशन चाडाे पाइन्छ, सेवा सुविधा पनि राम्रै हुन्छ । अलि कति घरकाले सहयोग गरे राम्रो र सजिलो हुने थियो, गुनासो खालि त्यति हो । बैंकमा काम गर्ने बुहारी र श्रीमतीलाई सहयोग गरुन्, माया गरुन्, त्यति भए केहि चाहिँदैन,’ उनले हाँस्दै भनिन् ।

मैले थपें- त्यसो भए बैंकमा काम गर्ने केटा मान्छेलाई चाहि मोज छ हो ? खाना पकाउनु पर्दैन । घरको काम गर्नु पर्दैन होला ।

केटा मानिसलाई पनि त्यस्तै हो । हामीसँग सँगै पढ्ने विकास थियो नि, ऊ पनि बैंकमै हो । मैले बीचैमा कुरा थपें । कोटेश्वरमा भेट हुन्छ मेरो । हर्न बजाउँछ तर, बाइक रोक्दैन ।

‘उसको त झन् थानकोटमा हो नोकरी । मेरोभन्दा टाढा । उसलाई त झन् हतार हुन्छ । घरमा समय दिँदैन भनेर बुबाआमाले र श्रीमती केटाकेटीले कचकच गर्छन् रे,’ उनी विकासको दुःख सुनाउन लागिन् ।

ए ! त्यसो पो ! म ट्वाल्ल परें । अनि अस्ति तिमी कोटेश्वरमा बुरुक्क उफ्रेर बस त्यै भएर पो चढेको ? मेरा प्रश्न थपिँदै गए ।

‘हो त । तर, यसमा तिमीले सोचेभन्दा अलि भिन्न छ । म बस चढन् बुरुक्क उफ्रेको कहाँ हो र ? त्यो बुरुक्क उफ्रेर मैले यो सालको टार्गेट भेट्टाउनु छ । प्रमोशन खानु छ । बैंकको नाफा बढाइ बाेनस खानु छ,’ उनले हाँस्दै भनिन् ।

त्यै भएर पो विकासले बाइक नरोकी हर्न मात्र बजाएको टाढैबाट ? मैले कुराकानी अघि बढाउँदै लगेँ ।

‘बैंकमा काम गर्ने मान्छे, धन्न हर्न बजाउन भ्यायो भन न । अब छुट्टिनु पर्छ होला । घरमा कत्ति काम छन् । आज शनिबार, हप्ताभरिको काम छ । जाम ल !’ उनले उठ्दै भनिन् र काउन्टरमा कफिको पैसा तिर्न लागिन् ।

पर्दैन, म तिरिहाल्छु नि । मैले पर्स निकाल्न खाजेको मात्र थिए, उसले रोक्दै भनिन्- भो म र्तिछु हामी बैंकरसँग प्रशस्त समय पो छैन त, पैसा त छ नि हो । दुबै जना एकसाथ हाँस्दै छुट्टियौं ।

आज फेरि कोटेश्वरमा बाटो काट्दै गर्दा विकासले फेरि बाइकको हर्न बजायो टाढैबाट ।

अब भने मैले बुझे, उसले बाइक नरोक्नुको कारण । उसको व्यस्तता र हतारो । र, अनायासै सोच्न पुग्छु- हिजो साथीसँग वर्षाैंपछि भेट हुँदा खुशी त लाग्यो तर, त्यस्तो व्यस्त पेसा र घर दुबै मिलाएर जिन्दगी अगाडी बढाउन यी बैंकरका परिवारले पनि सहयोग गरे, घरका सदस्यले पनि आ-आफ्नो तर्फबाट यिनीहरुको व्यस्ततालाई बुझेर अलिअलि सहयोग गरे कति जाती हुन्थ्यो होला ? कति खुशी हुन्थे होलान् यिनीहरु ? आखिर परिवारकै लागि त मरिहत्ते गर्छन् नि बैंकरहरु ।

अनि विकासलाई पनि परैबाट हात हल्लाएर बाईबाई भने । तर, उसले देखेन, पर हुइकिसकेको थियो उसको बाइक । मैले मनमनै भने बैंकरको परिवारलाई, बैंकर श्रीमती र बैंकर श्रीमान्लाई माया गर्नु है ! तिमीहरुले पनि माया नगरे कसले गर्छ र !

8 comments on "बैंकर श्रीमती र बैंकर श्रीमानलाई माया गर्नु है !"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.