विद्यार्थी र टिनएजर्सको समस्या सम्बोधन गर्न अदितिको सोचले जन्माएको ‘लर्न इन्फिनिटी’

  २०७७ चैत ९ गते १४:४६     विकासन्युज

काठमाडौं । सायद कलेजले रेस्ट्रिकेट नगरेको भए अदिति गोयलको ‘लर्न इन्फिनिटी’ जन्मिदैनथ्यो । एक कलेजले ११ र १२ कक्षा विद्यार्थीलाई कलेजमै खाना दिन्थ्यो । १२ कक्षा कि छात्रा गोयलले एक दिन खाना हाइजेनिक नभएको गुनासो गरिन् । त्यहि बहानामा उनलाई साे कलेजले निकाल्यो ।

गोयलका बुबालाई कलेजमा बोलाएर स्पष्टिकरण पनि सोधियो । त्यो कुरा पचाउँन उनलाई गाह्रो भयो । घर पुगेपछि मात्र बुबाले वास्तविकता बुझ्नुभयो । हाइजेनिक खाना नभएकै कारण गोयल २० दिन बिरामी परेकी थिईन् । उनी रेस्टमा थिईन् । त्यो कुरा उनका बुबाले बुझेका थिए ।

‘म गलत छैन भन्ने कुरा बुबाले बुझ्नु भयो, मानसिक र भावनात्मक साथ दिनु भयो,’ गोयलले भनिन् । ढुक्क साथ घरमै आफ्नो अध्ययनलाई उनले निरन्तरता दिइन् । यति सकारात्मक हुन्छु भन्ने उनलाई पनि विश्वास थिएन । जे हुन्छ, राम्रैका लागि हुन्छ भन्ने सोचका साथ उनी अघि बढिन् ।

लर्न इन्फिनिटी संस्थाकी संस्थापक गोयल यसपाली अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘आइटी एण्ड इन्नोभेसन अवार्ड’बाट सम्मानित भइन् ।

यसरी जन्मियो लर्न इन्फिनिटी

बीरगञ्जमा जन्मिएकी गोयलमा मनमा इख थियो, केही गरेर देखाउने । उनले थालेको लर्न इन्फिनिटी खासगरी टिनएजर्सलाई लक्षित छ । प्लस टु पढ्दा कलेजबाट निकालिएपछि गोयल मानसिक तनाबमा परिन् । ६ महिना त युट्युवबाटै पढिन् । त्यसैको भरमा ९५ प्रतिशत अंक ल्याएर कलेज टप नै गरेर एकेडिमिक एक्सिलेन्स अवार्ड पनि हात पारिन् ।

त्यो त भयो खुसीको कुरा । त्यहींबीच उनले मानसिक तनाब, रिसलाई कसरी नियन्त्रण गर्ने, आमा बुबासँग कसरी सुमधुर सम्बन्ध राख्ने भन्ने बारे सिकिन् । यी सबै कुरा सिकाउने गुरु युट्युब नै भयो ।

हो, त्यही बेला गोयललाई महशुस भयो, आखिर म जसरी कति विद्यार्थीहरु, टिनएजर्सहरु यस्तो समस्याबाट गुज्रिरहेका होलान् ? त्यस्तो वर्गका लागि पनि केही न केही नौलो काम गर्नुपर्छ । घर, परिवारमा सल्लाह गरेर उनले लर्न इन्फिनिटी सुरु गरिन् । अहिलेका वच्चाहरुका लागि यसको झन् ठूलो महत्व छ भन्ने उनलाई महशुस भयो । टिनएजर्स पुस्ता फोनमा झुन्डिन्छ, घर परिवारबाट टाढा छ । धेरै खालका व्यवहारिक समस्या छन् । तिनैलाई लक्षित गरेर लर्न इन्फिनिटी जन्मियो ।

८० हजार रुपैयाँको लगानिमा गोयलले सुरु गरेको लर्न इन्फिनिटीले यतिबेला १३ जनालाई रोजगारी दिएको छ ।

के गर्छ लर्न इन्फिनिटीले ?

लर्न इन्फिनिटीले टिनएजर्स र अभिभावकलाई जीवन उपयोगी सीप सिकाउँछ । यसले खासगरी ६ वटा क्षेत्रमा काम गर्छ । सीप र सिर्जना, करिअर, स्वास्थ्य र पोषण, रिलेसनसिप, हेल्थ एण्ड न्युट्रिसन, टिनएज एण्ड प्यारेन्टिङ, माइन्ड एण्ड सोल जस्ता विषयमा परामर्श दिन्छ ।

जीवनमा आइपर्ने समस्या, व्यक्तित्व विकास, कसरी आत्मविश्वास बढाउने भन्नेबारे सिकाइन्छ । अहिलेसम्म १ हजार २ सय टिनएजर र ७ सय अभिभावकहरुले लर्न इन्फिनिटीबाट सेवा लिइसकेका छन् । उपत्यका बाहिरबाट पनि यो कोर्षमा रुची राख्नेहरु छन् । केही शहरबाट अहिले पनि कोर्ष लिइरहेका विद्यार्थी छन् ।

लर्न इन्फिनिटीले अनलाइन मार्फत यी कोर्षबारे परामर्श दिन्छ । व्यक्तिगत रुपमा एउटा कोर्ष लिने हो भने ८ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म तिर्नुपर्छ । यस्तै स्कुलको हकमा भने ५ सयदेखि ८ सय रुपैयाँसम्म तिर्नुपर्छ । एउटा कोर्ष अधिकतम एक महिना लामो हुन्छ । अनलाइनमा रजिस्टर गरेर अनलाइनबाटै पैसा बुझाउन सकिन्छ । अभिभावकहरुका लागि पनि यो त्यत्तिकै उपयोगी छ । बच्चाहरुको मानसिक अवस्था कसरी बुझ्ने, कसरी उनीहरुसंग सम्बन्ध गाँस्ने भन्नेबारे परामर्श दिइन्छ ।

कम उमेरमै गोयलले प्रशस्त अनुभव बटुलिसकेकी छिन् । २३ वर्षीया गोयल उमेर भन्दा बढी परिपक्व देखिइन् । उनले आइज्याक नेपाल, टिच फर नेपाल, गुगल बिजनेश ग्रुपमा विभिन्न पदमा रहेर अनुभव बटुलिसकेकी छिन् । विभिन्न स्कुलहरुमा तथा आइटी कम्पनीहरुमा बिजनेश कन्सल्ट्यान्ट रुपमा काम गरिसकेकी छिन् । अवसर पाएपछि लिइहाल्नु पर्छ । सक्छु कि सक्दिन भनेर पर्खिनु हुन्न भन्ने उनको मान्यता छ । आफूमा विश्वास गर्ने उनको स्वभाव छ ।

परिवारको जेठी छोरी हुन्, गोयल । उनका दुई जुम्ल्याहा भाइ छन् । गोयल सफल हुनुमा उनको पारिवारिक वातावरण पनि हो । उनको घरमा अनुशासनलाई सबैले कडाईका साथ पालना गरेका छन् । सुत्ने, उठ्ने, खाने समय एउटै रुटिनमा चल्छ । समयलाई कसरी सदुपयोग गर्ने भन्नेबारे अभिभावकले राम्रो ज्ञान दिएका छन् । एउटा उद्देश्य लिएर अगाडी बढ्न र केही गर्ने सपना देख्न प्रेरित गरेका छन् ।

त्यसैले त गोयलमा केही गरौं भन्ने एक प्रकारको छट्पटी छ ।

‘जीवनमा गर्नु पर्ने कुराहरु अब धेरै छन्, खटेर, एउटै काममा केन्द्रित भएर करिअर बनाउनु पर्छ अब,’ उनी भन्छिन् ।

गोयलले गरेको कामप्रति बुबा, आमा अत्यन्तै खुसी छन् ।

‘एकदमै सहयोगी हुनुहुन्छ,’ उनी मुस्कुराइन्, ‘मेरो कामबाट अरु धेरैलाई सहयोग पनि पुगेको छ ।’

यसैपालीको शैक्षिक सत्रबाट केही स्कुल र कलेजसँग मिलेर काम गर्ने तयारी भइरहेको उनले बताइन् ।

बीरगञ्जमा जन्मिएकी गोयल सन् २००९ मा काठमाडौं पसिन् । कुसुमबाट बिबिए अनर्स अध्ययन पूरा गरेकी उनी औपचारिक शिक्षाभन्दा प्रयोगात्मक शिक्षामा बढी जोड दिन्छिन् ।

‘एक वर्षमा ५/६ वटा सर्ट कोर्षहरु लग्छु, बढीजसो शिक्षा, मानसिक स्वास्थ्य, सूचना तथा प्रविधि, व्यक्तित्व विकासमा केन्द्रित तालिम लग्छु,’ उनले भनिन् ।

गोयलले टप २५ स्टार्टअप इन् साउथ एसिया र बेस्ट इन्टरनेश्नल एण्ड इन्टरप्रेनर अवार्ड हात पारेकी छिन् । लेमन आइडियाज इन्डियाले यो अवार्ड प्रदान गरेको हो ।

पुस्तक प्रेम

गोयल पुस्तक पढ्नमा असाध्यै रुची राख्छिन् । खासगरी सेल्फ हेल्प, बिजनेश, व्यक्तित्व विकाससँग सम्बन्धित किताबले उनलाई बढी आकर्षित गर्छन् । फिक्सनमा भने उनको रुची कमै छ । बेस्ट सेलर लेखक पाउलो कोयल्हो उनको प्रिय लेखक हुन् । पढेकामध्ये सेक्रेट उनको प्रिय पुस्तक हो । सेक्रेटका पाँच वटै सिरिज पुरै पढेकी छिन् उनले । यो किताबले उनलाई यति तान्यो कि हरेक तीन तीन महिनामा दोहोर्‍याउँदै पढ्छिन् ।

आखिर के छ सेक्रेटभित्र ? किन गोयललाई यति तान्यो यो पुस्तकले ?

पढिसक्दा समग्र पुस्तको सारांशलाई उनले तीन लाइनमा यसरी सुनाइन् ।

तपाईं जे सोच्नु हुन्छ, त्यो पाउँनु हुन्छ । तपाईं जे हुनुहुन्छ, त्यो कुरालाई आकर्षित गर्नुहुन्छ । बर्तमानमा बाँच ।

गोयललाई लाग्छ, जीवनमा ग्राटिच्युड् भयो भने जीवन सुन्दर हुन्छ ।

अचेल हरेक बिहान ब्युँझिएपछि १० मिनेट ग्राटिच्युड्कै लागि छुट्याउछिन् । एक वर्ष भयो, जति नै बिरामी भए पनि, व्यस्त भए पनि यसैका लागि १० मिनेट छुट्याउँछिन् ।

रहरहरु

गोयल नयाँ–नयाँ पेशाका व्यक्तिहरुलाई भेट्न रुचाउँछिन् । हरेक व्यक्तिबाट केही न केही नयाँ कुरा सिक्न सकिन्छ भन्ने उनको मान्यता छ । बेकिङ, कुकिङमा पनि उनको रुची छ ।

‘कति कुरा आफ्नोभन्दा अरुको गल्तीबाट म सिक्न चाहन्छु, गल्ति गरेर सिक्न अब समय छैन,’ उनी भन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.