२०७७ चैत ८ गते १७:१९ विकासन्युज
नेपालको गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो देवघाट गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ ।
१ सय ५९ वर्ग किलोमिटरमा फैलिएको यस गाउँपालिकामा ५ ओटा वडाहरु रहेका छन् । गाउँपालिकाको सिमानामा पूर्वतर्फ आँबुखैरेनी गाउँपालिका र चितवन जिल्ला, पश्चिममा ऋषिङ्ग गाउँपालिका र नवलपरासी जिल्ला, उत्तरमा ऋषिङ्ग, बन्दिपुर, आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिका र त्यसैगरी दक्षिणमा नवलपरासी र चितवन जिल्ला रहेको छ । केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय जनगणना २०६८ अनुसार जम्मा घरधुरी संख्या ३ हजार ४ सय ३५ रहेको यस गाउँपालिकामा १६ हजार १ सय ३१ जनाको बसोबास रहेको छ ।
गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश ।
कृषि क्षेत्रबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?
गाउँपालिकामा कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । गाउँपालिकाको भूगोल अनुसार कृषि पकेट क्षेत्र पनि छुुट्याएका छौं । कृषिलाई निर्वाहमुखी मात्र होइन व्यवसायिक गर्नुपर्छ भनेर जोड दिएका छौं । पहाडी भूगोल भएको ठाउँमा बाख्रा तथा सुन्तला पकेट क्षेत्र घोषणा गरेका छौं भने समथर भूभाग भएको ठाउँलाई लिच्ची, गाईपालन तथा तरकारी पकेट क्षेत्रको रूपमा छुट्याएका छौं ।
कृषि समूहको गठन गरी कृषकहरूलाई कृषि सम्बन्धी तालिम पनि दिएका छौं । कृषकलाई सुन्तलाका बिरुवाहरू ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएका छौं । यो वर्ष कृषि विकासको लागि वडा नं. २ मा गाउँपालिकास्तरीय सुन्तला र कागतीको बिरुवा उत्पादन गरिरहेका छौं जसलाई हामीले कृषि अनुसन्धान केन्द्र भनेर नामकरण गरिएका छौं । तर यो वर्षबाट सुन्तला र कागतीको बिरुवा कृषकलाई निःशुल्क वितरण गर्ने तयारीमा छौं । बिरुवा वितरण गर्नु अघि कृषकलाई तालिम दिने योजना छ ।
‘एक घर एक करेसा बारी’ भन्ने हाम्रो नीति रहेको छ । जस अन्तर्गत हामीले मौसम अनुसारका तराकारीको बिउहरू ५० प्रतिशत अनुदानमा दिने गरेका छौं । वडा नं १ मा पशु विकास फार्मको अवधारणा सुरु गरेर उन्नत जातका घाँसका बिरुवाहरू उत्पादन गरी कृषकलाई निःशुल्क वितरण पनि गरेका छौं । वडा नं १ लाई ‘मुख्यमन्त्री कृषि अर्गानिक नमुना गाउँ’ को रुपमा राखेका छौं । यस ठाउँमा टनेल खेतीहरूको सुरुवात भएको छ । विभिन्न कृषि संघ संस्थासँग समन्वय गरेर गाउँपालिकाको आन्तरिक स्रोतको परिचालन गरी कृषिका ब्लक छुट्याएका छौं । गाउँपालिकाअन्तर्गत लघु उद्यम कार्यक्रम पनि सञ्चालन भएको छ । वडा नं. २ लाई मौरीपालन पकेट क्षेत्र बनाउनको लागि पनि जोड दिइरहेका छौं ।
गाउँपालिकाका कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् ?
यहाँका धेरैजसो नागरिकहरु कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिब ९५ प्रतिशत मानिसहरु कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गत वर्ष हामीले गाउँपालिकामा ३ दिने कृषि उत्सव गर्यौं भने यो वर्ष हामीले कृषि मेला पनि गरेका थियौं । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं ।
आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?
हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । पर्यटकीयस्थलको रूपमा देवघाट मन्दिर, शिद्धेश्वर मन्दिर आदि रहेका छन् । गत वर्ष हामीले धार्मिक प्रवद्र्धनको लागि धार्मिक गोष्ठी पनि सञ्चालन गरेका थियौं । यो गोष्ठीमा देशभरका सम्पूर्ण पालिकालाई आमन्त्रण गरेका थियौं । यो आर्थिक वर्षमा देशभरका पालिकाहरूसँग भगिनी सम्बन्ध गर्ने भन्ने लक्ष लिएका छौं । गाउँपालिकामा सरसफाई अभियान पनि सञ्चालन गरेका छौं ।
गाउँपालिकामा ९० प्रतिशत जनजातिहरुको बसोबास रहेको छ । जनजातिका संस्कृतिलाई प्रवद्र्धन गर्नको लागि ८ ओटा सामुदायिक होमस्टे पनि सञ्चालन गरेका छौं । रमणीयस्थलको रूपमा घन्टाचुलि भन्ने स्थान रहेको छ । पर्यटन विकासको लागि संघीय सरकारबाट भ्यूटावर तथा मठमन्दिर निर्माणको लागि ५ करोड रुपैयाँ बजेट छुट्टिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट झरनाको रूपमा छरछरे झरना रहेको छ । अहिले हामीले पर्यटन प्रवद्र्धन र पर्यटन पूर्वाधार विकासमा पनि विशेष जोड दिएका छौं ।
खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ?
वडा नं १ मा गाउँपालिकास्तरीय रङ्गशाला बनिरहेको छ । गत आर्थिक वर्षमा खेलकुद मन्त्रालय बाट ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सो बजेटले हामीले गाउँपालिकामा फुटबल ग्राउण्ड बनाएका थियौं । यो चालु आर्थिक वर्षमा पनि २५ लाख रुपैयाँ संघ सरकारबाट र ५ लाख रुपैयाँ गाउँपालिका बाट गरी जम्मा ३० लाख रुपैयाँ बजेट विनियोजन गरी खेल मैदानको निर्माण भइरहेको छ । ‘एक वडा एक खेल मैदान’ को पनि अवधारण गाउँपालिमा रहेको छ ।
वडा नं. १ मा गाउँपालिकास्तरको रङ्गशला रहेको छ । वडा नं २ मा फुटबल रङ्गशालाको निर्माण भइरहेको छ । वडा नं ३ र ४ मा भलिबल ग्राउण्ड बनेको छ भने वडा नं ५ मा फुटबल र ब्याडमिन्टनको कोर्टहरू बनेका छन् । युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरु आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरेका छौं । गाउँपालिकाका युवाहरू खेलकुदतर्फ उत्सुक छन् ।
शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आईरहेको छ त ?
गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासको लागि पनि धेरै काम गर्दै आइरहेको छ । ‘एक वडा एक मदर स्कुल’ को अवधारणा लिएका छौं । गाउँपालिकामा बाल विकास केन्द्रलाई पनि विशेष जोड दिएका छौं । त्यहाँ हाल ४ सय ८० जना विद्यार्थीहरु अध्ययनरत छन् । बाल विकास केन्द्र सहित गाउँपालिकामा ४० ओटा विद्यालयहरु छन् ।
आउँदो चैत्र २५ गते विश्व स्वास्थ्य दिवसको दिन देखि गाउँपालिकामा प्रत्येक बाल विकास केन्द्रमा रहेका ५ कक्षाभन्दा तलका विद्यार्थीहरुलाई दिगो खाजा बापत प्रत्येक दिन प्रति विद्यार्थी १५ रुपैयाँको दरले खाजाको रकम वितरण गर्ने कार्यक्रम पनि रहेको छ । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं ।
गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् नि ?
ठुलो योजनाको रुपमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । ६ करोड रुपैयाँ बराबरको लागतमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । १ करोड रुपैयाँको लागतमा सिटि हलको निर्माण भइसकेको छ । वडा नं. २ को वडा भवन पनि निर्माण भइरहेको छ । गण्डकी प्रदेशको तर्फबाट ६ किलोमिटर सडक १४ करोड रुपैयाँको बजेटमा पिच भइरहेको छ । गाउँपालिकाको सबै वडामा बिजुली पु¥याउने काम पनि भइरहेको छ ।
गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?
काम गर्न चाहने युवाहरुका लागि धेरै ठाउँमा अवसर छ । काम गर्न नचाहने युवाहरुका लागि हामीले केही गर्नसक्ने कुरै भएन । युवाका लागि भन्दै विभिन्न कार्यक्रमहरु ल्याएका छौं । उनीहरुलाई सुलभ ऋणको व्यवस्था पनि मिलाएका छौं । युवालाई व्यावसायीक तालिमको पनि व्यवस्था मिलाएका छौं । केही युवालाई विकास निर्माणको काममा लगाउँदै आएका छौं । गाउँपालिकामा धेरैजसो युवाहरु कृषि पेशामा आवद्ध छन् । युवाहरुलाई कृषि सम्बन्धि तालिम पनि दिँदै आएका छौं । युवाहरुले पशुपालन, खेती, कुखुरापालन लगायतका कार्य गरिरहेका छन् ।
तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ?
हाम्रो गाउँपालिकामा खासै ठुला उद्योग छैनन् । व्यपारीकस्थलहरु भर्खरै सुरुवात हुन थालेका छन् । यद्यपी हाम्रो गाउँपालिका उद्योगको बढी सम्भावना बोकेको ठाउँ चाहिँ हो । हाल गाउँपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरू छन् ।
प्रदेश तथा केन्द्र सरकारसँग कस्तो समन्वय भइरहेको छ ?
हाम्रो समन्वय राम्रै गरी भइरहेको छ । समपुरक बजेट पनि प्रदेश र केन्द्रबाट आउने गरेको छ । गाउँपालिकाको विकास निर्माणको कामहरु पनि प्रदेश र केन्द्र सरकार बाटै आएको बजेटमा गर्ने हो ।
अब तपाईंको बाँकी रहको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?
हामीले ‘हाम्रो देवघाट समृद्ध देवघाट’ भन्ने नारा लिएका छौं । यो नारा सफल बनाउनको लागि हामीले विशेष जोड पनि दिएका छौं । कृषि, पशु, स्वास्थ्य, शिक्षा आदिको विकास गर्ने पनि योजना बनाएको छु । गाउँपालिकामा अझै ६ ओटा पुलको आवश्यकता रहेको छ । ६ ओटा पक्कि पुलमध्ये एउटा पुलको डीपीआर गरेर काम सुरु गर्ने योजना पनि बनाएका छौं ।
हाम्रो कार्यकाल भित्र गाउँपालिकाका सबै ठाउँमा बिजुली पुग्ने छ । सिँचाईको काम पनि अघि बढाएका छौं । खानेपानीको लागि प्रदेश सरकारसँग समन्वय गरेर सोलर लिफ्टीङ खानेपानीको कार्यक्रमहरु पनि अगाडि बढाएका छौं । वडा नं. १ र ५ को पनि आगामी आर्थिक वर्षको बजेटमा बजेट विनियोजन गरी भवनको निर्माण गर्नेनै छौं । ‘एक वडा एक नमुना गाउँ’ को पनि अवधारण लिएका छौं । गाउँपालिकाको भूगोल विकट भएको कारण ७ ओटा ठाउँमा एकिकृत नागरिक सेवाको सञ्चालन गरेका छौं । सिंहदरबार घरघरमा भन्ने आवास जनतालाई दिएका छौं ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.