गाउँपालिकामा ‘एक वडा एक खेल मैदान’ भन्ने अभियान चलाएका छौं – अध्यक्ष लिम्बुसँगको कुराकानी

  २०७७ चैत ७ गते १०:१३     विकासन्युज

पूर्वी नेपालको मेची अञ्चल अन्तर्गत ताप्लेजुङ जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो मेरिङदेन गाउँपालिका । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ ।

गाउँपालिकाको सिमाना पूर्वतर्फ फुङलिङ नगरपालिका र मिक्वाखोला गाउँपालिका, पश्चिममा संखुवासभा जिल्ला, उत्तरी सिमानामा मिक्वाखोला गाउँपालिका एवं दक्षिणमा मौवाखोला गाउँपालिका रहेको छ । २ सय १० दशमलव ३३ वर्ग किलोमिटरमा फैलिएको यो गाउँपालिकामा १२ हजार ५ सय ४८ जनाको बसोबास रहेको छ ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष गणेश बहादुर लिम्बुसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश ।

कृषि क्षेत्रबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

गाउँपालिकामा कृषि विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । गाउँपालिकाको सबै वडालाई कृषि पकेट क्षेत्रका रुपमा छुट्याएका छौं । अलैंची, किवि, तरकारी पकेट क्षेत्र पनि गाउँपालिकामा छुट्याएका छौं ।

सहकारी र यसका शाखा बाट हामीले किसानको माग अनुसारको बिउ उपलब्ध गराउने व्यवस्था पनि मिलाएका छौं । गाउँपालिकामा सानातिना तरकारीको बिउ निःशुल्क र त्यसैगरी ५० प्रतिशत अनुदानको बिउ पनि वितरण गर्ने कार्यक्रम रहेको छ । कृषिलाई आधुनिकीकरण गर्ने तर्फ पनि विशेष ध्यान दिइरहेका छौं । कृषिलाई निर्वाहमुखि मात्र नभएर व्यवसायिक बनाउन पनि किसानहरुलाई आग्रह गरेका छौं ।

गाउँपालिकाका कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् ?

यहाँका धेरैजसो नागरिकहरु कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिब ७५ प्रतिशत मानिसहरु कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं ।

खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ?

खेलकुद विकासको लागि गाउँपालिकामा ‘एक वडा एक खेल मैदान’ भन्ने अभियान चलाएका छौं । खेलकुद समितिको पनि गठन गर्ने भनेका थियौं तर समितिको गठन हुन सकेको छैन । युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरु आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, टेबल टेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरेका छौं ।

गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । यो एक वर्ष कोरोनाको कारणले खेलकुदका सबै कार्यक्रमहरू स्थगित भएका थिए । खेलकुद विकासको लागि गाउँपालिकामा ५ लाख रुपैयाँ बजेट रहेको छ । गाउँपालिकामा ‘अध्यक्ष कप’ खेलकुद प्रतियोगिता पनि हुने गरेको छ ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आईरहेको छ त ?

शैक्षिक विकासको लागि पनि गाउँपालिकामा धेरै काम गर्दै आईरहेका छौं । यहाँ ३६ ओटा विद्यालयहरु रहेका छन् । जाति अनुसारको मातृभाषा संरक्षण गर्नका लागि विद्यालयहरुमा मातृभाषा पढाउने शिक्षकहरु पनि राखेका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी बेलाबेलामा प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । कतिपय ठाउँमा विद्यालय भवनको पनि अभाव रहेको छ ।

गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ?

गाउँपालिकामा ठुला योजना त धेरै रहेको छैन । गाउँपालिकाको ठुलो योजनाको रुपमा सडक निर्माणको काम नै रहेको छ । गाउँपालिकाको सबै वडामा कच्चि सडक पुगेको छ । सहकारी मार्फत गाउँपालिकाका सबै वडामा बिजुलीको काम पनि भइरहेको छ । गाउँपालिकामा खानेपानीको काम पनि भइरहेको छ ।

अहिलेसम्मको आफ्नो काम गराईबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

हामीले सोचे र कल्पना गरेअनुसारका सम्पूर्ण काम गर्न नसके पनि अहिलेसम्मको काम गराईबाट म सन्तुष्ट नै छु ।

यस अवधिमा बजेट के कति खर्च भयो ? खर्चअनुसार उपलब्धि प्राप्त भएको छ कि छैन होला ?

गाउँपालिकाको बजेट त सकिएको छैन । विकास निर्माणको काम पनि भइरहेको छ । विकास भए अनुसार खर्च पनि भइरहेको छ । हामीले गाउँपालिकामा बजेट विनियोजन गरेजति यो आर्थिक वर्ष भित्र खर्च हुन्छ होला ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर संभावना बोकेको ठाउँ हो । पर्यटन क्षेत्रको पनि हामीले प्रचारप्रसार गरिरहेका छौं । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । गुराँसे पोखरी संरक्षणको लागि गाउँपालिका र संघबाट बजेट छुट्टिएको छ । घुमाउने पोखरीको संरक्षण र प्रवद्र्धनको लागि संघ बाट १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । पर्यटकीयस्थल सम्म पुग्नको लागि सडक निर्माणको काम पनि भइरहेको छ । कोरोनाको कारणले गाउँपालिकाको पर्यटन क्षेत्रमा ठुलो असर पु¥यायो । गाउँपालिकाको आर्थिक विकासको लागि पर्यटकीय क्षेत्र पनि एक हो । पर्यटन पूर्वधारको विकास गरी मठ मन्दिरको निर्माण गर्ने काम पनि गाउँपालिकामा भइरहेको छ ।

प्रदेश तथा केन्द्र सरकारसँग कस्तो समन्वय भइरहेको छ ?

हाम्रो समन्वय राम्रै गरी भइरहेको छ । समपुरक बजेट पनि प्रदेश र केन्द्रबाट आउने गरेको छ । गाउँपालिकाको विकास निर्माणका कामहरु पनि प्रदेश र केन्द्र सरकार बाटै आएको बजेटमा गर्ने हो । प्रदेश र केन्द्रको सहयोगमा हामीले सडक निर्माणको काम पनि गरेका छौं ।

गाउँपालिकामा नागरीकहरु प्रायः कस्ता समस्या लिएर आउँछन् नि ?

धेरैजसो त पूर्वाधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउने गरेका छन् । शिक्षामा पनि समस्या आउने गरेको छ । बेलाबेलामा विकास निर्माणको काममा पनि समस्या आउने गरेको छ । तर पनि यी सबै समस्याको समाधान गरेर मात्र हामी अगाडि बढी रहेका छौं ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

गाउँपालिकाका नागरीकहरुलाई समृद्ध बनाउने योजना छ । जे होस्, आफुले जिताएको जनप्रतिनिधि गाउँपालिकाको अध्यक्ष भएको छ भन्ने अनुभुति जनतालाई भएको छ भन्ने कुरामा विश्वस्त छु । आफुले गरेका विकास निर्माणको काम प्रभावकारी होस् र जनता पनि सन्तुष्ट रहुन् भन्ने इच्छा मुताविक विभिन्न किसिमका योजनाहरु बनाएको छु । मुख्य रुपमा पूर्वाधारको विकास गर्ने योजना पनि बनाएको छु ।