कामप्रतिको विश्वास नै सफलताको आधार

  २०७७ चैत २ गते १७:२३     हरिकृष्ण जोशी

हामी जलस्रोतको हिसाबले विश्वकै दोस्रो धनी राष्ट्र यसो भन्दा छाती चौडा पारेर नाक नफुलाउने कुन नेपाली होला तर शिरपुछारै बाह्रै महिना कुला नाला र खोला नदीहरुमा धारा प्रवाह पानी बगाउन सक्ने भएर पनि केही समय अघिसम्म चर्को लोडसेडिङकाे पीडा खेप्नेमा सम्भवतः हामी नेपाली नै प्रथम थियौं होला ।

चिया पसलमा, चौतारामा होस् या भट्टीमानै किन नहोस् ठूला ठूला गफ गर्ने तर व्यवहारमा माखो नमार्ने प्रवृत्तिले दक्ष र केही काम गर्ने अठोट बोकेका युवालाई नकारात्मक असर पारिरहेको छ । केही योजनाका साथ केही काम गर्न अठोट बोकेका व्यक्तिलाई खाली समस्याको भारी देखाईदिने र भविष्यनै छैन भन्ने सन्देश दिने जमातले बिगारेको देशका बासिन्दा हौं हामी ।

यहाँ नभएको केही छैन हामी ४०/४५ हजारको जागिरको लागी विदेश जान्छौं तर विदेशी यहाँ आएर त्यो भन्दा बढी कमाएर लगाएका छन् । हामी बिस्तार बिस्तारै बिलासितातिर लम्कीरहेका छौं दुःख नगर्ने मिठो खाने, गाउँ छोडने शहर पस्ने, उत्पादनमूखी होईन उपभोगमूखी हुने अनि कहाँबाट हुन्छ सम्बृद्ध र विकास ?

हामी हाम्रो जीवन बदल्नको लागी पटक पटक सोच्छौं आफ्नो जीवन सुधारेर राम्रो बन्नको लागी, कति नियम बनाउछौं भोलीदेखि यो गर्छु, अर्को महिनादेखि यो गर्छु, जन्म मितिदेखि यो गर्छु, नयाँ सालबाट यो गर्छु तर पनि जीवन उहीको उही रहन्छ भएको बानी पनि हट्दैन आखिर किन ? के कुराले असर गरिरहेको छ हामीलाई अगाडि बढ्नमा ? हो हामी आफ्नाे भन्दा पनि अरुको बारेमा सोच्ने गर्दछाैं । अर्काको रिस डाह गर्ने र पछाडि कुरा काटने बानी प्राय हामी सबैमा छ उदाहरणकाे लागी आफुसंगै रहेको साथी आफूलाई छोडी अगाडी बढ्यो भने वा अलिकति पैसा कमायो भने हामीलाई डाह लाग्छ तर त्यही पेशामा नचिनेको मान्छे माथी पुग्यो भने वा विनोद चौधरीहरु धनी भएको तपाईलाई मतलब छैन ।

आखिर किन तपाईंको साथीभन्दा माथि तपाईंले नचिनेको मान्छे धेरै अगाडी बढी सके, बिनोद चौधरीहरु धनाढ्यको सूचीमा नाम चढाईसके किन आफ्नै सहकर्मीको रिस गर्नुहुन्छ किनकी तपाईं आफ्नाे घेराबाट बाहिर निस्कनु भएकै छैन जस्तो समाजमा हुर्कीयौं जस्ताको सङ्गत गर्याैं त्यही सिक्याैं । कहिल्यै समाज र सङ्गत भन्दा पनि फरक केही छ की भनेर अध्ययन गरेनौं । अनि भावनाले मात्र जीवन चलाउन खोज्यौं । तर भावनाले मात्र त जीवन चल्दैन जीवन चल्नको लागी भोग्नै पर्दछ । जीवन नभोगी जीवन नचिनि नै हामी जीवन बिताईरहेका छौं ।

हो, हाम्रो जीवन पनि त्यही हो केही गरेका नै छैनौं अनि केही गर्न खोज्यो अरुले केही भनिदिन्छ अनि तुरुन्तै बदली दिन्छौं । जे जान्याैं त्यही ठीक जे सुन्याे त्यही राम्रो भन्ने बानीको विकास भएको हामीमा परिर्वतनको ठूलो खाँचो छ ।

एउटा सन्दर्भ हेरौं ।

केही समय अघिको कुरा हो दुई जना साथीहरु मिलेर पसलमा मःम खान गएछन् । मःम अर्डर गरेछन् । र, मःम आईपुगे पछि दुई जना मिलेर गफगर्दै मिठो तालले मःम खाईरहेका थिए । नजिकै एक जना ग्राहक आई बसेछन् र साउजीलाई सोधेछन् साउजी बफ मःम छ ? अनि साउजीले उत्तर दिएछन् भाई यहाँ बफको भन्दा अरु मःम नै बन्दैन भनेपछि खाईरहेको साथीहरुले सुनेछन् । त्यसमध्ये एक जना साथीले मुखमा हालेको मःम पनि फ्याकेछन् र उनलाई बान्ता पनि भएछ । आखिर मःम बफको खानु हुँदैन भनेर कही लेखेको छ र ? कि सुन्ने बित्तिकै बान्ता गर्नु पर्दछ भनेर लेखेको छ ? छैन भने किन भयो त बान्ता ? खानै नहुने भए अरुले किन मागे त बफ मःम ? के फरक छ त दुबैमा ? दुबै मानिस नै हुन् । किनभने उसलाई बफ मःम खान बानी पारएन, सिकाईएन र त्यसप्रति घृणा जगाईयो र उसको दिमाख तीनै कुराहरुबाट प्रभावित भएको थियो ।

हो हामीले जे देखेका छौं, जे भोगेका छौं अनि जे सिकेका छौं त्यतिलै पूर्ण होईन । आफै जान्न पर्ने, सुन्न पर्ने र भोग्न पर्ने र अध्ययन गर्नु पर्ने कुरा धेरै छन् । तर हामी यी सब गर्न तयार छैनाैं समस्याबाट भागीरहेका छौं । हामीलाई यो थाहा छैनकी समस्याबाट भाग्नु भनेको अर्को समस्या निकाल्नु हो । आफ्नो कामबाट भन्दा पनि अरुको कुरा सुनेर हामी धेरै दु:खी हुने गर्दछौं । याद गरौं, तपाईं आफ्नो लक्ष्यमा डरलाई कुनै स्थान दिनुहुन्छ भने आफ्नो काममा पनि विश्वास गर्नु हुँदैन जब तपाई आफू स्वयम् आफूमा विश्वास हुँदैन तब तपाईंले सोचेको काम पनि पुरा हुँदैन । तसर्थ काम गर्नुभन्दा पहिला कामप्रति विश्वास राखौं र कामलाई सफलता तिर डोराऔं ।

(जाेशी बैंकर हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.