गाँजाको अर्थतन्त्रः विश्वभर ३ खर्ब ४० अर्ब डलरको बजार

  २०७७ फागुन २७ गते १५:५५     विकासन्युज

काठमाडौं । आज महाशिवरात्री । शैव र हिन्दुहरुले महाशिवरात्री पर्व विशेष उल्लासका साथ मनाउने गर्छन् ।

नेपालमा शिवरात्रीमा ‘शिवबुटी’ भन्दै गाँजाको सेवन गर्ने प्रचलन छ । यद्यपि, नेपालको कानुनले गाँजाको प्रयोग, ओसार प्रसार र विक्री वितरण रोक लगाएको छ ।

विश्वका ५० भन्दा बढी देशले गाँजालाई प्रतिबन्धित लागू पदार्थको सुचीबाट हटाउँदै यसको व्यवसायिक खेती खुल्ला गरिसकेका छन् । पछिल्लो समय गाँजालाई प्रतिबन्धित औषधीको सुचीबाट हटाउनु पर्छ भनेर विश्वव्यापी रुपमा आवाज उठ्न लागेको छ ।

विश्वमा गाँजाको अर्थतन्त्र निकै ठूलो रहेको तथ्यांकहरुले देखाएका छन् । स्वीट्जरल्याण्डको न्युज पोर्टल ‘जेनेभा विजनेस न्युज’का अनुसार गाँजाको बजार वार्षिक ३ खर्ब ४० अर्ब अमेरिकी डलरभन्दा बढीको छ ।

सो न्युज पोर्टलका अनुसार गाँजाको सबैभन्दा ठूलो बजार एसिया महादेश हो । यो क्षेत्रमा वार्षिक १ खर्ब ३२ अर्ब ९० करोड अमेरिकी डलर बराबरको बजार छ ।

यस्तै, उत्तर अमेरिककामा वार्षिक ८५ अर्ब ६० करोड अमेरिकी डलर, युरोपमा ६८ अर्ब ५० करोड अमेरिकी डलर, अफ्रिका ३७ अर्ब ३० करोड अमेरिकी डलर ल्याटिन अमेरिकामा ९ अर्ब ८० करोड अमेरिकी डलर बराबरको बजार छ ।

नेपालमा गाँजा प्रयोगको इतिहास

नेपालमा गाँजा उत्पादन र बिक्री वितरणको इतिहास लामो छ । तराईका बारा, पसाए, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा गाँजाखेती गर्ने गरिन्थ्यो ।

दोस्रो विश्वयुद्धकै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भएको विश्वास गरिएको छ । ‘हिप्पी’ युगको सुरुआत भएसँगै गाँजाको सेवनकर्ताको घुइचो काठमाडौंमा लाग्न थालेको थियो । सो समयमा काठमाडौंमा ३० भन्दा बढी गाँजा र चरेस केन्द्र खुलेका बताइएको छ ।

गाँजाको प्रयोग परम्परागत रुपमा बूढापाकाले अनिद्रा र शारीरिक पीडा हटाउन तथा एक्ला, अशक्त र पट्यारलाग्दा दिन बिताउन गर्ने चलन थियो । भजनकिर्तनको आनन्द लिन, चाडपर्व मनाउन, घरपालुवा जनावरको उपचार गर्न जस्ता प्रयोजनमा गाँजाको प्रयोग हुने गरेको थियो ।

नेपालमा हिन्दु धर्मको प्रभावले गाँजा चलनमा आएको पाइएको छ । नेपाल र भारतमा फागु पर्व बेला गाँजाको फूल (भाङ) खाने चलन छ । भगवान शिवले समुद्र मन्थन बेला अमृत शुद्धीकरण निम्ति शरीरबाट गाँजा उत्पादन गरेको हिन्दु धर्मशास्त्रमा उल्लेख छ । समुन्द्र मन्थनकै बेलामा उत्पन्न भएको अमृतको थोपा जमिनमा परेपछि गाँजाको बिरूवा उम्रेको अर्काेथरी व्याख्या पनि शास्त्रहरुमा छ ।

नेपालमा गाँजा प्रयोगको लामो इतिहास छ । नेपालले समेत विश्वयुद्धका बेला गाँजाबाटै बनाइएका झाडापखलाको औषधि निर्यात गरेको र अहिले पनि सिंहदरबार वैद्यखानाले त्यस्ता औषधीहरू बनाउने गरेको वैद्यखानाले जानकारी दिएको छ ।

अहिले विश्वमा धेरै खोजिने मध्येको एक निद्रा सम्बन्धी रोगको उपचारमा पनि गाँजा प्रयोग हुने गरेको विज्ञले बताएका छन् ।

सन् १९७० अघिसम्म नेपालमा गाँजा खेती र व्यापार वैधानिक थियो । नेपालबाट ठूलो परिमाणमा गाँजा र चरेस निर्यात हुने गरेको तथ्यहरु फेला परेका छन् ।

सन् १९६० र सन् १९७० को दशकमा नेपालमा फैलिएको हिप्पी संस्कृतिको मुल कारण नै गाँजाको सहज उपलब्धता हो भनेर व्याख्या गरिएको थियो ।

नेपालमा कानुनी व्यवस्था

संयुक्त राष्ट्रसंघले सन् १९६१ मा ‘द सिङ्गल कन्भेन्शन अन नार्काेटिक ड्रग्स १९६१’ पारित गर्यो । त्यसमा गाँजालाई पनि अफिमजस्तै कडा खालको लागुऔषध मान्दै प्रतिबन्ध लगाउनुपर्ने प्रावधान राखियो ।

नेपालले सो अभिसन्धिमा हस्ताक्षर गरेपछि सन् १९७६ मा लागुऔषध नियन्त्रणसम्बन्धी कानुन बनायो ।

त्यसमा गाँजाको खेती, भण्डारण, सेवन र बिक्री वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो । पाँचचोटि संशोधन भइसकेको सो ऐनले २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना भनिएको छ । सोभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुन सक्छ ।

उक्त ऐनअनुसार ५० ग्रामसम्म गाँजा राखे तीन महिनासम्म कैद र ३ हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

खुल्ला गर्ने वहसको सुरुवात

गाँजा सेवनलाई विश्वमै सबैभन्दा पहिला अनुमति दिने देश उरुग्वे हो । त्यसपछि नेदरल्यान्ड्स, स्पेन, दक्षिण अफ्रिका, कोलम्बियाजस्ता देशले पनि गाँजा सेवनलाई अनुमति दिएका छन् । अस्ट्रेलिया, अस्ट्रिया, जर्मनी, इजरायल जस्ता देशहरुमा गाँजालाई औषधीमो रुपमा प्रयोग गर्न छुट छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्राड्यूले गाँजालाई कानुनी मान्यता दिने विधेयक संसदमा पेस गरे पारित गरिसकेकी छन् ।

गाँजाको फाइदा

आधुनिक विज्ञानले पनि गाँजा प्रयोगले फाइदा हुने पुष्टी गरेको छ । गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान पनि भएका छन् ।

अनुसन्धानहरुले पुष्टी गरे अनुसार ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुन्छ । शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने पनि पुष्टी भएको छ ।

अर्काे एउटा अनुसन्धानले गाँजा सेवन गर्नेको यौन क्षमता बढी हुने देखाएको छ । ‘जर्नल अफ सेक्सुअल मेडिसिन’को सो रिपोर्टमा गाँजा सेवन गर्नेको यौन क्षमता नगर्नेको तुलनामा बढी हुने उल्लेख गरिएको छ ।

अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयले सन् २००२ देखि २०१५ सम्म सो अनुसन्धान गरेको थियो । अनुसन्धानमा गाँजा सेवन गर्ने २५ देखि ४५ वर्ष उमेर समूहका ५० हजार मानिस सहभागी भएका थिए । सहभागीलाई एक वर्षमा कतिपटक गाँजा सेवन गरेको र त्यसको चार सातासम्म कति पटक यौनसम्पर्क राखेको भन्ने प्रश्न सोधिएको थियो । उनीहरूले सामान्य अवस्थाभन्दा गाँजा सेवनपछि धेरैपटक यौनसम्पर्क गरेको बताएका रिपोर्टमा उल्लेख छ ।

गाँजालाई आयुर्वेदमा ‘विजया’ भनेर उल्लेख गरिएको छ । निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्या जस्ता रोग निको पार्न गाँजा (विजया) को औषधि प्रयोग हुँदै आएको छ ।

सम्बन्धित सामग्री

एक रोपनी जग्गा हुनेले वर्षमै करोड कमाउँछ: गाँजा खेतीबारे तामाङ र स्थापितको अन्तर्वार्ता

गाँजाले देश समृद्ध गर्छ भन्ने कुरा कहाँबाट आयो ? यसले नेपाललाई समस्यामा पार्छः पूर्व डीआईजी मल्ल

गाँजाको खेतीलाई बैधानिकता दिँदा नेपालको जीडीपी ५ गुणाले बढ्छः उपाध्याय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.