बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौंको चण्डोलबाट पक्राउ

  २०७७ फागुन २३ गते २०:०८     विकासन्युज

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ बस्ने ४३ वर्षीया भावना श्रेष्ठलाई काठमाडौंको चण्डोलबाट आज प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ पुस २९ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद र १६ लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही श्रेष्ठ फरार हुँदै आएकी थिइन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनले विसं २०७५ पुस ३ र १८ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक टङ्गालको खाताबाट भुक्तान हुने गरी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । त्यसपछि उनी फरार हुँदै आएकी थिइन् । प्रहरीले उक्त फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत काठमाडौंमा पेश गरेको ब्यूरोका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए।

यसैबीच काठमाडौं चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ६०० एम्पुल नोफिन, ५०० एम्पुल डाईजेपाम र ५०० एम्पुल फेनारगनसहित पर्सा वीरगञ्जका फैयाज राउतलाई आज प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४७४८ नम्बरको बसमा जाँच गर्ने क्रममा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.