नेपाल, खनाल, गौतम, बादल, भट्ट, रायमाझी लगायतकाे सांसद पद धरापमा !

  २०७७ फागुन २३ गते १६:११     विकासन्युज

काठमाडौं । सर्वाेच्च अदालतले सत्तारुढ पार्टीलाई दिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम अबैध भएको फैसला गरेसँगै सत्तारुढ दल बेनामे बनेको छ ।

सर्वाेच्चले आज गरेको फैसला अनुसार साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र हुन भने पाउने छन् । र, यी दुबै दल पार्टी एकीकरणको लागि अहिले पनि तयार भए संयुक्त रुपमा अर्काे कुनै नामको पार्टी दर्ता गरिदिन सर्वाेच्चले निर्वाचन आयोगलाई आदेश दिएको छ ।

सर्वाेच्चले दिएको दोस्रो विकल्पमा जान अहिले सत्तारुढ पार्टी तयार देखिदैन । एउटा समुहको नेतृत्व गरेका प्रधानमन्त्री ओली र अर्काे समुहको नेतृत्व गरेका पुष्पकमल दाहाल–माधवकुमार नेपाल करिब पानी बाराबारको अवस्थामा छन् । त्यसैले तत्कालिन एमालेका अध्यक्ष ओली र तत्कालिन माओबादी केन्द्रका अध्यक्ष दाहाल अर्काे एउटै पार्टीको नाम प्रस्ताव लगेर दर्ता गर्ने अवस्थामा देखिदैनन् ।

यस्तो अबस्थामा पूर्ववत एमाले र माओबादी केन्द्र अस्तित्वमा कायम रहने सर्वाेच्चको फैसला छ । पूर्ववत एमाले र माओवादी केन्द्र अस्तित्वमा आए ओली पक्षमा लागेका पूर्व माओवादी केन्द्रका नेताहरु र दाहाल नेपाल पक्षमा लागेका पूर्व एमाले नेताहरुको सांसद पद धरापमा पर्ने देखिएको छ ।

अहिलेको कानुनी व्यवस्था अनुसार दल विभाजन गर्नका लागि ४० प्रतिशत सांसद संख्या र ४० प्रतिशत केन्द्रीय सदस्य हुनुपर्छ । अन्यथा पार्टी विभाजन सम्भव हुदैन, दल त्यागेको अर्थ लाग्छ । त्यसरी दल त्यागेमा दल त्याग गर्ने सांसदको सांसद पद जान्छ । अर्काे निर्वाचन गर्नुपर्ने हुन्छ ।

अहिले पूर्व एमालेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुषाल, डा. भिम रावल, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु दाहाल खेमामा लागेका छन् । यी नेताहरु अब कि त ओली नेतृत्वको पुरानो एमाले फर्कनु पर्छ, होइन भने पुरानो एमालेबाट ४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत सांसद लिएर अर्काे पार्टी बनाउनु पर्छ । यो संख्या पुगेन भने पूर्व एमालेका नेताहरुको सांसद पद खारेज हुनेछ ।

यस्तै अवस्था पूर्व माओवादी केन्द्रका नेताहरुको पनि छ । पूर्व माओवादी केन्द्रका नेताहरु गृहमन्त्री रामबहादुर थापा, उर्जा मन्त्री टोपबहादुर रायामाझी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह ओली पक्षमा लागेका छन् । यी नेताको सांसद पद जोगिन पनि पूर्व माओवादी केन्द्रबाट ४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत सांसद संख्या पुर्याएर नयाँ पार्टी बनाउनु पर्छ ।

यस्तै, सत्तारुढ बेनामे पार्टीका उपाध्यक्ष बनेका बामदेव गौतम पार्टी एकताको पक्षमा रहेको भन्दै दुबै समुहमा लागेका छैनन् । अब उनी ओली नेतृत्वको पूर्व एमालेमा नलागेमा उनको पनि सांसद पद धरापमा पर्नेछ ।

सम्बन्धित समाचार

सेयर बजारलाई राजनीति र तरलताको एकैपटक प्रतिकूल सन्देश, कता जाला अब बजार ?

One comment on "नेपाल, खनाल, गौतम, बादल, भट्ट, रायमाझी लगायतकाे सांसद पद धरापमा !"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.