२ सय डलर लगानीबाट सुरु गरेको अर्बान गर्ल, अनलाइन सपिङमा आफ्नै ब्राण्ड बनाउँदै

  २०७७ फागुन २२ गते १३:१७     नरेन्द्र रौले

काठमाडौं । नेपालमा अनलाइन सपिङको चलन त्यति सुरु भइसकेको थिएन । मानिसहरु अनलाइनमा भन्दा पसलमै सामान गएर किन्न रुचाउँथे । अनलाइन सपिङ, होम डेलिभरीले त्यति विश्वास जितिसकेको थिएन । त्यती बेला जन्मिएको थियो, ‘अर्बान गर्ल’ ।

सन् २०१२ मा ‘अर्बान गर्ल’ को सुरुवात निकिता आचार्य र किरन तिम्सिनाले गरेका थिए । २ सय डलरको लगानीबाट यो ईकमर्स स्टार्टअप सुरु भएको हो । सुरुवातमा अर्बान गर्लले फेसन ज्वेलरी, टिसर्ट, पानीका बोतल बेच्न थाल्यो । विस्तारै मेकअप, घर सजावट र इलोक्ट्रोनिक्सका सामानहरु पनि बेच्न सुरु गर्‍यो । दुई जनाबाट सुरु भएको अर्बान गर्लले ५५ भन्दा बढी स्टाफलाई रोजगारी दिलायो । तर, लकडाउनले केही कर्मचारीको संख्यामा थपघट भयो । लकडाउनमा अनलाइनबाट आएका अर्डरहरु होम डेलिभरी गर्ने कामले भने निरन्तरता पायो । लकडाउनमा तरकारी, ग्रोसरी आइटम पनि डेलिभरी गरेको थियो ।

काठमाडौंको शान्तिनगरमा एउटा सानो कोठाबाट अर्बान गर्ल सुरु भयो । ६ हजार रुपैयाँँ भाडा थियो । अहिले बानेश्वर हाइटमा ठूलो क्षेत्रफलमा फैलिएको छ । आफ्नै बेग्लै भवनमा कार्यालय छ । भाडा मात्रै १ लाख १० हजार रुपैयाँ छ । अर्बान गर्लले अनलाइनबाट सबै सामान डेलिभरी गर्दै आएको छ । केक उत्पादन गर्ने फ्याक्ट्री पनि स्थापना गरिएको छ । अर्बान गर्लले काठमाडौं बाहेक पोखरामा पनि शाखा विस्तार गरिसकेको छ । सन् २०१६ देखि बेकरी बेच्न सुरु गर्‍यो । युजी केक्स अनलाइनबाटै विक्री गर्दै आएको छ । कान नसुन्ने महिलाहरुलाई तालिम दिएर बेकरी उत्पादनमा संलग्न गराउँदै आएको छ ।

नेपाल गण्डकी डिफ एशोसियसनसँग सहकार्यमा यो काम भईरहेको छ । बित्तिकै शहरी युवायुवतीबिच चिनाईरहनु पर्दैन । सोसल मिडियाका प्रयोगकर्ता र इन्टरनेट पहुँच पुगेको स्थानमा यसले बेग्लै छाप बनाइसकेको छ । अर्बान गर्लको मासिक कारोबारका बारेमा संस्थापक आचार्यले विस्तृतमा खुलाउन चाहिनन् । कमाएको पैसा अहिलेसम्म कम्पनीमै खर्चिएको उनले बताइन् । सन् २०१२ तिर अर्बान गर्ल सुरु गर्दा निकै कठिनाई परेको संस्थापक निकिता आचार्य बताउँछिन् । थोरै लगानीबाट व्यवसाय सुरु गरेकाले सामानहरु सिमित मात्र अनलाइनमा राखिएको थियो । उपभोक्ताहरु अनलाइनबाट सामान किन्न तयार थिएनन् । सामान दिन भेन्डरहरु पनि तयार हँुदैनथे । कुनै सामान अनलाइनमा राख्यो भने उपभोक्ताहरु त्यो सामान कहाँ पाइन्छ भन्ने सोधेर पसलमै जान्थे ।

सन् २०१४ बाट भने अर्बान गर्लले पिक अप लिन थाल्यो । ‘सामानहरुको भेराइटि बढाउदै लग्यौं ।’ आचार्य भन्छिन्, ‘अरु भेन्डरबाट सामान ल्याएर डेलिभरी गर्न थाल्यौं ।’ काठमाडौं उपत्यकाभित्र मात्र होइन उपत्यका बाहिरका शहरमा पनि यसले कुरियरका माध्यमबाट सामान डेलिभरी गर्दै आएको छ । आफै बजार बनाउन, नेटवर्क बनाउन, मानिस चिन्न संघर्ष गर्नु परेको निकिताको अनुभव छ । अहिले अनलाइन सपिङको बजार बढिरहेको उनी बताउँछिन् । पछिल्ला दिनमा युवा पुस्तामा अझ अनलाइन सपिङप्रति क्रेज बढेको उनको अनुभव छ । अर्बान गर्लले सबैभन्दा बढी इलोक्ट्रोनिक्स सामानहरु डेलिभरी गर्छ । कप, टिसर्ट, केक

आफै उत्पादन गर्दै आएको अर्बान गर्लले जुत्ता, कपडा, ज्वेलरी लगायतका सामानहरु अरु भेन्डरबाट ल्याएर विक्रि गर्दै आएको छ । निकिता र किरण सूचना प्रविधी कम्पनीमा काम गर्थे । निकिता व्यवसाय प्रशासनमा स्नातककी विद्यार्थी थिइन् भने किरण कम्प्युटर तथा सूचना प्रणालीमा स्नातकको अन्तिम वर्ष पढ्दै थिए । एउटै कम्पनीमा काम गर्दागर्दै दुबैको सोच मिल्यो । नेपालमै केही गर्ने, त्यसमा पनि अनलाइन सपिङ प्लेटफर्म सुरु गर्ने दुबैको चाहना थियो ।

यसरी अर्बान गर्लको आइडिया फुरेको थियो । अमेरिकाबाट प्रकाशित हुने फोब्र्स पत्रिकाले हरेक वर्ष सार्वजनिक गर्ने एसिया महादेशका ३० वर्ष नपुगेका ३० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्छ । सन् २०२० को थर्टी अण्डर थर्टीमा अर्बान गर्लका निकिता आचार्य र किरन तिम्सिना पर्न सफल भएका थिए । यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिभिन्न संस्थाले अर्बान गर्ललाई सम्मान तथा अवार्ड प्रदान गरेको छ । सार्क च्याम्बरले १० उत्कृष्ट उद्यमी महिलामा निकिताको नाम सूचीकरण गरेको थियो । नेदरल्याण्डको रक स्टार्ट इम्प्याक्टले सन् २०१८ मा दस उत्कृष्ट कम्पनीमा सूचीकरण मात्र गरेन बेलायत र नेदरल्याण्ड जस्ता देश घुमायो । बिभिन्न कम्पनीहरु अवलोकन गर्ने मौका प्रदान गर्‍यो ।

पछिल्लो समय बजारमा अनलाइन सपिङ साइटहरु धेरै नै आएका छन् । प्रतिष्पर्धा बढेको छ । बढ्दो प्रतिष्पर्धाले आफूलाई फाइदा पुगेको आचार्य बताउँछिन् । तर, अस्वस्थ प्रतिष्र्धा पनि उत्तिकै बढिरहेको र यसले बजारलाई प्रभावित पारेको उनी बताउँछिन् । ‘कतिपयले आज अनलाइन खोल्ने, केही समयभित्रै बन्द गर्ने गर्छन् ।’ उनी भन्छिन् ‘यसले समस्या निम्त्याइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.