बैतडीमा ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

  २०७७ फागुन २२ गते ९:२३     विकासन्युज

बैतडी । पैसठ्ठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई यही फागुन २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको हो ।

ती स्थानीय तहका प्रत्येक वडामा गरी ४८ खोपकेन्द्र तोकिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

यही फागुन २७ गतेसम्म सञ्चालन हुने अभियानमा खोप लगाउन आउने व्यक्तिले उमेर खुल्ने परिचयपत्र अनिवार्य ल्याउनुपर्नेछ । दश स्थानीय तहमध्ये चिकित्सक भएका पाँच स्थानीय तहमा मात्रै हाल खोप अभियान सञ्चालन गरिन लागिएको प्रमुख भट्टले बताए । दशरथचन्द, पाटन, पुर्चौडी र मैलोली नगरपालिका तथा दोगडाकेदार गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । उनले भने, ‘खोप लगाइसकेपछि हुनसक्ने आवाञ्छित घटना व्यवस्थापन लागि चिकित्सकसहित मेडिकल टोली भएको स्थानीय तहमा अभियान सञ्चालन गर्दैछौँ ।’

हाल जिल्लामा १३ हजार डोज खोप मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि जिल्लामा दुई हजार ७०० बढीलाई कोरोनाविरुद्धको खोप लगाइसकेको छ । खोप लगाउने प्राथमिकताको पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेविका, सरसफाइकर्मी, शव व्यवस्थापनमा खटिएका कर्मचारी र दोस्रो चरणमा पत्रकार, कर्मचारी, सुरक्षा निकाय, जनप्रतिनिधिलगायतलाई खोप लगाइएको थियो ।

पहिलो चरणका लागि जिल्ला अस्पतालमा मात्रै एउटा मात्रै खोप केन्द्र तोकिएको थियो भने दोस्रो चरणमा पाँच खोपकेन्द्र तोकिएका थिए । यसैबीच पहिलो चरणमा पहिलो डोज लगाएकालाई दोस्रो डोज वैशाख ७ गते र दोस्रो चरणमा खोप लगाएकालाई जेठ ९ गतेदेखि दोस्रो डोज दिइने जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.