मोटर बीमामा कम्पनीहरुलाई ५० प्रतिशत फाइदा

  २०७७ फागुन २१ गते १५:००     विकासन्युज

काठमाडौं । सरकारले अनिवार्य गराएको मोटर तथा तेस्रो पक्ष बीमामा बीमा कम्पनीहरुलाई करिब ५० प्रतिशत फाइदा हुने गरेको तथ्यांकले देखाएको छ ।

बीमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्कको आधा रकम पनि दाबी भुक्तानीमा खर्च गर्नु नपरेकोले आम्दानी बढी देखिएको हो ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा बीमा कम्पनीहरुले १० अर्ब ४५ करोड ३८ लाख रुपैयाँ मोटर बीमा शुल्कबाट उठाएका थिए । सो आर्थिक वर्षमा कम्पनीहरुले ५ अर्ब ६५ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

कम्पनीहरुले गत आर्थिक वर्षमा दुई पांग्रे सवारी साधनको बीमाबाट २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । सोही आर्थिक वर्षमा कम्पनीहरुले दुई पांग्रे सवारी साधनको लागि ९० करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।

यस्तै, चार पांग्रे सवारी साधनको बीमाबाट गत आर्थिक वर्षमा ८ अर्ब १० करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको थियो । कम्पनीहरुले गत आर्थिक वर्षमा ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।

विगत वर्षहरुको तथ्यांकले पनि मोटर बीमामा कम्पनीहरुलाई ५० प्रतिशतकै हाराहारीमा फाइदा भएको देखाउँछ । कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ मा १० अर्ब ८६ करोड २२ लाख रुपैयाँ मोटर बीमा शुल्क संकलन गरेका थिए । सो आर्थिक वर्षमा कम्पनीहरुले ६ अर्ब ३ करोड ९३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।

यस्तै, आर्थिक वर्ष २०७४/७५ मा कम्पनीहरुले ९ अर्ब ५४ करोड ४ लाख रुपैयाँ मोटर बीमा शुल्क संकलन गरेका थिए । सो आर्थिक वर्षमा कम्पनीहरुले मोटरबीमामा ५ अर्ब ४२ करोड ९२ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।

बीमा समितिले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७३/७४ मा कम्पनीहरुले ८ अर्ब १७ करोड ५ लाख रुपैयाँ मोटरबीमा शुल्क संकलन गरेका थिए । सो आर्थिक वर्ष बीमा कम्पनीहरुले ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । संचालनमा रहेका निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले मोटरबीमा गर्न पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.