ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ खुल्यो, यस्तो छ कम्पनीको अवस्था

  २०७७ फागुन २१ गते ६:१५     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आज (फागुन २१ गते) शुक्रबारदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेकाे हाे ।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता जारी गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । र, बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरकाे लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

फागुन २१ गतेदेखि निष्काशन भएकाे उक्त आईपीओमा इच्छुकले छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन पाउने छन् । उनीहरुले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । इच्छुक आवेदकले  सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन् ।

ज्योति लाईफको आईपीओ किन्नु कति उचित ? यस्ताे छ कम्पनीको योजना

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । त्यस्तै, आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेकाे मध्यमस्तरकाे सुरक्षित कम्पनी जनाउँछ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दै १० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले जीवन बीमा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ संचित छ भने जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल लगानी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.