१० वर्षमा १४ प्रतिशत आर्थिक वृद्धि, घरजग्गा काराेबारमा ५२ प्रतिशतकाे उछाल

  २०७७ फागुन २० गते १३:५९     विकासन्युज

काठमाडौं । पछिल्लो १० वर्षमा नेपालको अर्थतन्त्रमा १४.७ प्रतिशतको वृद्धि देखिएको छ । विगत १० वर्षमा कुल ग्राहस्थ उत्पादन (जीडीपी)को आकार १४.७ प्रतिशतले बढेको हो । विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रको आकार बढेर आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको अनुमान गरेको छ ।

विभागका अनुसार सन् २०१०/११ मा आधार वर्ष परिवर्तन गर्ने सन्दर्भमा उत्पादनमा २०.२७ प्रतिशत, मध्यवर्ति उपभोगमा ३५.४२ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा १४.०७ प्रतिशतको वृद्धि देखिएको छ भने उक्त परिवर्तनले जीपीडीको आकार ३९ खर्व ४३ अब ६६ करोड रुपैयाँ पुग्ने देखिएको छ ।

विभागका अनुसार कुल ग्राहस्थ उत्पादनमा आएको परिवर्तनलाई हेर्दा कृषि, वन तथा माछापालनमा ०.५, खानी तथा उत्खनन्मा २२.५ प्रतिशत, औद्योगिक उत्पादन ४.५ प्रतिशत, विद्युत व्याँसमा ४६.८, निर्माणमा ३.७ प्रतिशत, थोक तथा खुद्राका व्यापारमा २३.१, आवाश तथा भोजनालयमा १६.४ प्रतिशत, यातायात तथा संचारमा २.६ प्रतिशत, वितीय तथा बीमा सम्बन्धी क्रियाकलापमा ३६.८, घरजग्गा कारोबारका व्यावसायिक क्रियाकलापहरूमा ५२, सार्वजनिक प्रशासन तथा सुरक्षा, अनिवार्य सामाजिक सुरक्षामा १५७.९ प्रतिशत, शिक्षामा ११.२ प्रतिशतको वृद्धि देखिएको छ ।

यस्तै मानव स्वास्थमा १.२ प्रतिशत र औधोगिक वर्गीकरण, कला, मनोरन्जन तथा अन्य क्रियाकलापमा भने ८५.८ प्रतिशतले घटेको देखिएको छ ।

यस्तै, कोभिड–१९ को प्रभावका कारण नेपालको आर्थिक अर्थतन्त्र ऋणात्मक भएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न लकडाउन र त्यसपछिको विभिन्न समयमा भएको निषेधाज्ञाको कारण नेपाली अर्थतन्त्रमा असर परेको विभागको तथ्यांकले देखाएको छ ।

नेपालीहरुको औसत प्रतिव्यक्ति आय पनि घटेको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार हाल नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको हो । विभागका अनुसार चालु आर्थिक वर्षमा नेपालीहरुको वार्षिक प्रतिव्यक्ती आय ११ सय ३४ डलर कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा नेपालीहरुको वार्षिक प्रक्तिव्यक्ति आय ११ सय ५९ डलर थियो ।
आर्थिक वर्ष २०७६/०७७ को अन्तिम त्रैमास र आर्थिक वर्ष २०७७/०७८ को प्रथम त्रैमासको आर्थिक वृद्धिदर ऋणात्मक बनेको विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको अन्तिम त्रैमासमा आर्थिक वर्ष २०७५/०७६ को सोही अवधिको तुलनामा आर्थिक वृद्धिद्धर १५.५ प्रतिशतले ऋणात्मक र चालु आर्थिक वर्षको प्रथम त्रैमास मा आर्थिक वृद्धिदर ४.६ प्रतिशतले ऋणात्मक भएको विभागले जनाएको छ ।

राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तन गर्दा गत आर्थिक वर्षमा १.९९ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक भएको विभागले जनाएको छ । आधार वर्ष परिवर्तन गर्नु अगाडि २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.