सेयर र ऋणपत्रमा जीवन बीमा कम्पनीहरुको ४८ अर्ब ३३ करोड लगानी, कसको कति ?

  २०७७ फागुन २० गते १०:४१     विकासन्युज

काठमाडौं । पुँजी बजारका संस्थागत लगानीकर्तामध्ये बीमा कम्पनीहरु एक प्रमुख हुन् । कम्पनीहरुले बीमा शुल्कबाट प्राप्त भएको रकम नियामक निकायले तोकेको सीमामा रहेर पुँजी बजारका विभिन्न औजारहरुमा लगानी गर्ने गरेका हुन्छन् ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दिएको जानकारी अनुसार अहिले संचालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीहरुको साधारण सेयर तथा बैंक वित्तीय संस्थाहरुको अग्राधिकार सेयर र ऋणपत्रमा गरी ४८ अर्ब ३३ करोड ४५ लाख १२ हजार रुपैयाँ लगानी गरेका छन् ।

जीवन बीमा व्यवसाय गर्ने कम्पनी मेट लाइफले भने यी दुबै क्षेत्रमा लगानी गरेको छैन । जीवन बीमा कम्पनीहरुले यी दुबै क्षेत्रमा गरेको लगानीमध्ये सूचीकृत पब्लिक कम्पनीहरुको सधारण सेयरमा १७ अर्ब ७२ करोड १२ लाख १२ हजार रुपैयाँ र वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुको अग्राधिकार सेयर र ऋणपत्रमा ३० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ लगानी गरेका छन् । जीवन बीमा कम्पनीहरुले गरेको यो लगानी चालु आर्थिक वर्षको दोस्रो त्रैमास (गत पुस मसान्त) सम्मको हो ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ । यस्तै, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको अग्राधिकार सेयर र ऋणपत्रमा कुल लगानीको २० प्रतिशतसम्म लगानी गर्न पाउने सीमा तोकेको छ ।

सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा सबैभन्दा बढी लगानी गर्नेमा सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान अग्रस्थानमा छ । संस्थानले गत पुस मसान्तसम्ममा ५ अर्ब ४५ करोड ६२ लाख २६ हजार रुपैयाँ लगानी गरेको छ ।

सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा सबैभन्दा बढी लगानी गर्ने दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । सो कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ३ अर्ब ४३ करोड ८३ लाख ५२ हजार रुपैयाँ लगानी गरेको छ ।

यस्तै, लाइफ कर्पाेरेसन नेपालले २ अर्ब ५९ करोड ८२ लाख ६१ हजार रुपैयाँ साधारण सेयरमा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.