कुखुरापालन व्यवसायमा चितवनका व्यवसायी पोखरेलकाे लोभलाग्दो सफलता

  २०७७ फागुन २० गते १०:००     विकासन्युज

चितवन । निरन्तर मेहनत गर्यो भने सफलतामा पुगिन्छ भन्ने उदाहरण यहाँका व्यवसायी विनोद पोखरेलले देखाएका छन् । पूर्वी चितवनको रत्ननगरका पोखरेललाई २६ वर्षको कठोर परिश्रमले आज देशकै अग्रणी पोल्ट्री व्यवसायी बनाएको छ ।

कुखुरापालन व्यवसायमा दानादेखि चल्ला हुँदै अण्डा र मलसम्मको उत्पादन र बजारीकरणमा उनको नेतृत्वको दाउन्ने कर्पाेरेट सफल भएको छ । यसअन्तर्गत किसान दाना उद्योग, दाउन्ने भेट फर्मा, दाउन्ने एग्रो, किसान एग्रो, एडभान्स पोल्ट्री रहेका छन् । कर्पाेरेटको कार्यकारी निर्देशक पोखरेल हुन् । विसं २०५१ मा आफ्नै काकासँग मिलेर काठमाडौंमा पोल्ट्री फार्म शुरु गर्नुभएका पोखरेलले त्यसको पाँच वर्षपछि आफूले फार्मसँगै ट्रेडिङको व्यापार शुरु गरेका थिए ।

दाउन्ने ट्रेडर्स नामक कम्पनीबाट उनले व्यवसाय सुरु गरे । त्यसको केही वर्षपछि विसं २०६३ मा चितवनमा उनको व्यवसाय विस्तार भयो । साझेदार थिए राजकुमार गुरुङ । पोखरेलले सम्झना गरे, ‘सुरुमा बुबाले काकासँगको साझेदारमा केही रकम शेयर राखिदिएको भए पनि त्यसपछिका दिनमा त्यही रकमले व्यवसाय विस्तार हुँदै गएको हो ।’ बुबा सुरेन्द्र र काका डा टीका पोखरेलको लगानीको साझेदारी पोल्ट्री फार्मलाई पोखरेल आफ्नो व्यवसायको सुरुवाती मान्छन् ।

गुरुङसँग साझेदारी हुँदा उनीहरुले ५० लाख लगानी गरे। आजसम्म आइपुग्दा उनको नेतृत्वको कम्पनीमा लगानी दुई अर्ब ६० करोडभन्दा बढी पुगेको छ । उक्त रकममा बैंकको लगानी पनि रहेको छ । ती कम्पनीमा १२० भन्दा बढी साझेदार छन् । यद्यपि पोखरेल परिवारको लगानी आधाभन्दा बढी पुगेको छ । त्यसैले निर्णायक भूमिकामा रहेर पोखरेलले काम गर्ने अवसर पाएका छन् ।

विगतलाई सम्झँदै उनी भन्छन्, ‘चितवनमा दाउन्ने ट्रेडर्स शुरु हुँदा तीन दिनमा एक बण्डल क्रेट मात्रै बिक्री भएको थियो ।’ उनीहरुकाे कम्पनीले दाना र चल्ला किसानलाई दिने र किसानबाट अण्डा उठाउने गर्दथ्यो । यसै दौरानमा काठमाडौंमा अण्डा बिक्री गर्नेलाई पनि पोखरेलले साझेदार बनाउँदै ल्याए । झण्डै १० जना साझेदार पुगेपछि आफैँले दाना उद्योग खोल्ने र किसान पनि साझेदार बनाउने उनको योजना बन्यो । यसैअन्तर्गत विसं २०६८ मा किसान दाना उद्योग सञ्चालनमा आयो । यससँगै उद्योगले शुरुमा दैनिक आठ टन दाना उत्पादन गर्ने गरेकामा अहिले यस कम्पनीले दैनिक ४० टन मास दाना उत्पादन गर्दछ ।

पोखरेलको भनाइमा नेपालको सबैभन्दा ठूलो मास दाना उनीहरुकै हो । त्यसो त किसान दानासँगै विसं २०७० बाट उनीहरुकै अगुवाइमा दाउन्ने भेट सुरु भयो जसले कुखुराको औषधि बिक्री व्यवसाय गर्दै आएको छ । यसबाट सस्तो मूल्यमा आफ्ना किसानले औषधि पाएको पोखरेल बताँछन् । व्यवसाय विस्तारकै क्रममा पोखरेलको नेतृत्वको समूहले नवलपरासीको दुम्किबासस्थित विनयी त्रिवेणी गाउँपालिकामा ३६ बिघा जग्गा खरिद गरेर अत्याधुनिक प्रविधिको कुखुरा फार्म सुरु गरेको छ ।

जर्मनी र मलेसियाको उपकरण जडित अत्याधुनिक उक्त फार्ममा हाल दुई लाख कुखुरा रहेका छन् । एक वर्षभित्रमा दुई लाख थप गरी चार लाख कुखुरा पुर्याउने उनको लक्ष्य रहेको छ । त्यसो त तीन वर्षभित्र यो सङ्ख्या आठ लाख पुर्याउने पोखरेल बताउँछन् । त्यतिबेला उनीहरुको लगानी चार अर्ब ५० करोड पुग्नेछ । पोखरेलले भने, ‘विश्वकै आधुनिक प्रविधिलाई पछ्याएर कम लगानीमा धेरै उत्पादन गर्ने गरी हामी काम गर्दैछौँ ।’ त्यहीँ प्राङ्गारिक मल उद्योग पनि उनकै कम्पनीले स्थापना गरेको छ । बजारमा मल लैजाने चरणमा कम्पनी पुगेको छ ।

पोखरेलका सबै कम्पनीमा १२० हाराहारी साझेदार छन् । उनीहरु सबै कुनै न कुनै हिसाबले कम्पनीसँग व्यवसाय र रोजगारीमा जोडिएका छन् । एक सय ८० जनालाई रोजगारी दिएको कम्पनीको महत्वपूर्ण भूमिकामा काम गर्ने कर्मचारी अधिकांशको धेरथोर शेयर रहेको छ । पोखरेल भन्छन्, ‘काम गर्ने साथीहरुलाई आफूसँग रकम नभए बिना ब्याजमा कम्पनीले नै सापटी दिएर साझेदार बनाएको छु ।’ पाँच लाखदेखि माथि आफूले सकेसम्म कर्मचारीको शेयर राख्न पाउने व्यवस्था उनको कम्पनीमा छ ।

पोखरेलले अण्डा उत्पादन गरेसँगै बजारीकरणमा पनि विशेष ध्यान पुर्याएका छन् । उनको भनाइमा अब एक वर्ष छ महिनाभित्रमा देशका ३० जिल्लामा आफ्नै बिक्री केन्द्र पुर्याइँदै छ । हालसम्म काठमाडौँ, भक्तपुर, ललितपुर र सुर्खेतमा बिक्री केन्द्र खुलिसकेका छन् । आफैँ उत्पादन गरेर उपभोक्ताको घर नजिकै पसलसम्म अण्डा पुर्याउने लक्ष्य रहेको छ । हाल पोखरेलको कम्पनीमा दैनिक तीन लाख ६८ हजार ५०० अण्डा सङ्कलन हुन्छ । सोमध्ये एक लाख ६८ हजार अण्डा आफ्नै फार्मको हो ।

पोखरेलको भनाइमा उहाँले नेतृत्व गरेको कम्पनी किसानको अण्डा सङ्कलन गर्ने र आफ्नै फार्मको उत्पादन गर्ने नेपालको सबैभन्दा ठूलो संस्था हो । त्यसो त मास दानामा पनि उहाँको कम्पनी सबैभन्दा ठूलो हो । आफूलाई चाहिने लेयर्स चल्ला यस कम्पनीको लगानी रहेको ब्राउण्ड वर्ड ह्याचरीबाट ल्याउने गरिन्छ । क्रेट आफ्नै लगानीको चितवन ट्रे को प्रयोग हुन्छ भने औषधि आफ्नै पसल (दाउन्ने भेट) बाट प्रयोग गरिन्छ । त्यसैले उत्पादन लागत कम र मुनाफा बढी हुने गरेको पोखरेल बताउँछन् । कुखुरा व्यवसायमा सफल पोखरेल पोल्ट्रीसँग सम्बन्धित सबैजसो सङ्घ संस्थामा निर्णायक भूमिकामा रहेका छन् ।

निरन्तरको सङ्घर्षबाट ४५ वर्षको उमेरमा मिलेको यो सफलता धेरैका लागि पाठ हुनसक्छ । एकअर्काका परिपूरक एउटै प्रकृतिका व्यवसाय भएका कारण पनि उहाँलाई सफलता चुम्न सहज भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.