अरुण-३ जलविद्युत निर्माण डेढ वर्ष अगावै सकिने, ४०% काम सम्पन्न

  २०७७ फागुन १९ गते १९:२६     विकासन्युज

काठमाडौ । अरुण ३ जलविद्युत परियोजनाको निर्माण कार्य निर्धारित समय भन्दा डेढ वर्षअघि सम्पन्न हुने भएको छ । सार्वजनिक–निजी साझेदारीमा संखुवासभा जिल्लामा निर्माण भईरहेको ९०० मेगावाट क्षमताको परियोजना अवलोकन गर्न गएको नेपाल सरकारका उच्च अधिकारीहरुको टोलीलाई परियोजना विकासकर्ता कम्पनीले निर्धारित समयभन्दा करिब डेढ बर्ष अगावै परियोजना निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिएको लगानी बोर्डले जनाएको छ ।

उक्त परियोजना निर्माणको करीब ४० प्रतिशत काम सम्पन्न भैसकेको छ । परियोजनाको निर्माण कार्य तीब्र रुपमा भइरहेको भन्दै भ्रमण टोलीले उत्साह व्यक्त गरेको छ ।

निरीक्षणको क्रममा टोलीले बुधबार परियोजना कार्यान्वयनमा देखिएका समस्याहरुबारे स्थानीय सरोकारवालाहरुसँग छलफल समेत गरेको छ । परियोजना विकासकर्ता कम्पनीका पदाधिकारी तथा चिचिला गाउँपालिका र मकालु गाउँपालिकाका अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन तथा अन्य सरोकारवालाहरुले निर्माण कार्यमा भएको प्रगतिबारे सुनाएको र त्यसबाट आफूहरु उत्साहित भएको भ्रमण टोलीको तर्फबाट लगानी बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त टोलीले संखुवासभाको मकालु गाउँपालिकास्थित फाक्सिन्दा दोभानको परियोजना बाँध निर्माणस्थल तथा चिचिला गाउँपालिकास्थित दिदिङ्गको विद्युतगृह निर्माण कार्यको अवलोकन गरेको छ ।

उक्त टोलीमा गृहसचिव महेश्वर न्यौपाने, रक्षा सचिव रेश्मिराज पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, उर्जा सचिव दिनेश घिमिरे, लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, बोर्ड कार्यालयका उपसचिव रमेश अधिकारी, बोर्ड कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सागरराज गौतम लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.