यूएनएफपीएले सरकारलाई हस्तान्तरण गर्यो पीपीई तथा प्रजनन स्वास्थ्य किट्स

  २०७७ फागुन १९ गते १७:१६     विकासन्युज

काठमाडौं । यूएनएफपीएले नेपाल सरकारलाई पीपीई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण गरेकाे छ । संस्थाले स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयलाई ६,०४८ सेट व्यक्तिगत सुरक्षा कवच (पीपीई), ५० हजार जोडा ग्लोब्स्, ५० हजार थान सर्जिकल मास्क र २७ सेट अन्तरनिकाय प्रजनन स्वास्थ्य सामग्री (आइएआरएच किट्स) हस्तान्तरण गरेकाे हाे ।

यस सहयोगले आवश्यक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा सम्बन्धी सेवा सुनिश्चित गर्दै कोभिड-१९ महामारी नियन्त्रण गर्ने सरकारको प्रयासलाई सहयोग पुर्याउनेछ ।

नेपाल, चीन र यूएनएफपिए बीचको विद्यमान दक्षिण-दक्षिण साझेदारी अन्तर्गत चीन सरकारको सहयोगमा यूएनएफपिएले करिब तीन करोड रुपैयाँ बराबरको पीपीई, आइएआरएच किट्स तथा अन्य सामग्री खरिद गरेको हो । प्रजनन स्वास्थ्य किट्समा अत्यावश्यक औषधि, औजार तथा अन्य सामग्री छन् जसले सुरक्षित सुत्केरी गराउन, जटिल प्रकृतिका प्रसूति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्नेछ ।

मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा यूएनएफपिएद्धारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मन्त्रालयका वरिष्ठ अधिकारीहरु र यूएनएफपिए प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

उक्त सामग्री प्राप्त गरिसकेपछि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलले भने, “कोभिड-१९ महामारीमा संकटासन्न महिला र किशोरीका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं । हाम्रो प्रयास कोभिड-१९ रोकथामका लागि निरन्तर छ र धेरैजसो वित्तीय र मानवीय स्रोत यही लक्ष्यमा केन्द्रित छ । यो महत्वपूर्ण समयमा विकास साझेदार निकायको सहयोग प्रशंसनीय रहेको छ । हामी चीन सरकार र यूएनएफपिए प्रति आभारी छौं ।”

मन्त्रालयले प्राथमिकताका आधारमा पिपिई र अन्य सामग्रीहरु वितरण गर्नेछ । “स्वास्थ्यकर्मीलाई आवश्यक सहयोग र सामग्री उपलब्ध हुदाँ महिला र किशोरीको लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा सुरक्षित रुपमा प्रदान गर्न सहज हुने वास्तविकता सर्वविदितै छ । नेपालमा प्रगतिशील नीतिगत वातावरणको बाबजुद रोकथाम गर्न सकिने मातृ मृत्यु र लैङ्गिक हिंसाको अवस्था अन्य देशको तुलनामा निकै उच्च रहेको छ । चीन सरकारबाट प्राप्त यस किसिमको सहयोग अत्यन्तै सराहनीय छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ माहामारी सामना गर्न जारी राखेको प्रयास प्रशंसनिय रहेको छ” नेपालका लागि यूएनएफपीए प्रतिनिधि लुब्ना बाकिले भने ।

यसअघि पनि नेपाल, चीन र यूएनएफपिए बीचको दक्षिण-दक्षिण साझेदारी अन्तर्गत १ हजार २०० सेट पीपीई र ३ हजार ६०० थान स्यानिटाइजर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो । यूएनएफपीए संयुक्त राष्ट्रसंघको एउटा त्यस्तो निकाय हो जसले त्यस्तो विश्वको परिकल्पना गर्दछ जहाँ प्रत्येक गर्भधारण इच्छित होस्, प्रत्येक शिशुको जन्म सुरक्षित होस् र प्रत्येक युवाको संभाव्यताहरू पूरा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.