स्ट्रबेरी बेचेरै घर, जग्गा र गाडी जोड्दै ककनीका किसान

  २०७७ फागुन १९ गते ८:४०     नरेन्द्र रौले

नुवाकोट । मकै र मुला उत्पादनका लागि नुवाकोट प्रख्यात छ । त्यसमा पनि खानीखोलीदेखि काउलेथाना, चित्रे, ककनीमा अत्यधिक उत्पादन हुन्थ्यो । ९ महिनासम्म मकै फल्थ्यो । सिजनमा ठूलो अनुपातमा मुलाको उत्पादन पनि हुन्थ्यो ।

अहिले नुवाकोटका किसानहरू स्ट्रबेरीतिर आकर्षित हुन थालेका छन् । खानीखोलीदेखि काउलेथाना क्षेत्र विशेषगरी ‘स्ट्रबेरी जोन’ का रुपमा प्रख्यात छ । यस क्षेत्रको स्ट्रबेरीको स्वाद अन्यत्र भन्दा स्वाद मीठो र रसिलो छ । स्ट्रबेरी खेतीकै कारण नुवाकोटका गाउलेहरूको जनजीवनमा परिवर्तन आएको छ । अहिले मुला रोप्न छाडेर किसानहरु स्ट्रबेरी खेतीमा जोड दिन थालेका छन् ।

स्ट्रबेरी बेचेरै यहाँका किसान तथा उद्यमीहरूले गाडी चढ्ने, घर बनाउने, जग्गा जोड्ने हैसियत बनाएका छन् । गाउलेहरूको आम्दानीको मुख्य स्रोत नै स्ट्रबेरी खेती बनेको छ । स्ट्रबेरी फल मात्रै होइन यसबाट बन्ने जुस र यसको वाइन पनि निकै चर्चित छ । प्रतिलिटर तीन सय रुपैयाँमा वाइन र जुस बिक्री हुँदै आएको छ ।

नुवाकोट, ककनीका सन्तबहादुर तामाङ ०५५ सालदेखि स्ट्रबेरी व्यवसायमै छन् । ०५७ सालदेखी उनले स्ट्रबेरी निर्यात गर्दै आएका छन् । यसै व्यवसायमा लागेर उनले ककनीमा जग्गा जोड्न र घर बनाउन सफल भए । यसै व्यवसायको भरमा उनले ५ जनाको परिवार चलाईरहेका छन् । तामाङ जस्तै सफल किसान तथा व्यवसायीहरूको संख्या ठूलो छ ।

नेपालगञ्जका भीम बहादुर श्रेष्ठको जीवन २० वर्षदेखि स्ट्रबेरी व्यवसायमै बितिरहेको छ । स्ट्रबेरीले नै तानेर उनलाई नुवाकोटको ककनी पुर्‍यायो । यसै व्यवसायको आम्दानीबाट उनले ककनीमा १६ रोपनि जग्गा जोडेका छन् । नेपालगञ्ज स्थायी ठेगाना भएका उनी अब नुवाकोटका बासिन्दा भईके । हाल श्रेष्ठ जापानी संस्था आवर फार्मको प्रोडक्सन म्यानेजरका रुपमा काम गरिरहेका छन् ।

नुवाकोट, काउलेथानका रुम्बा राजा मकाउबाट फर्किएर स्ट्रबेरी व्यवसायमै रमाइरहेका छन् । उनले ३५ सय स्ट्रबेरीका विरुवा रोपेका छन् । एक दिन बिराएर उनको फार्ममाम ६० केजी स्ट्रबेरी उत्पादन हुँदै आएको छ । यहि अनुपातमा यसरी ६ महिनासम्म निरन्तर स्ट्रबेरी फल्छ । प्रति केजी ४ सय ५० रुपैयाँमा उनले बिक्रि गर्दै आएका छन् । दिनमै उनले २७ हजार रुपैयाँ बराबरको स्ट्रबेरी बिक्रि गर्दै आएका छन् ।

खानीखोलीदेखि चित्रे क्षेत्रमा मात्रै ५ ठाउमा स्ट्रबेरी संकलन केन्द्र छन् । सबैभन्दा ठूलो परिमाणमा ककनी गाउपालिका ४ रानीपौवाको इन्द्रदेवी स्ट्रबेरी सप्लायर्स फार्मले गरिरहेको छ । चार जनाको संयुक्त लगानीमा खुलेको यस फार्मले १३ जनालाई रोजगारी दिलाएको छ । दैनिक ६० हजार र मासिक ९ लाख रुपैयाँ बराबरको स्ट्रबेरी यसले उठाउँछ । ‘६ महिनामा झण्डै ८ लाख १० हजार रुपैयाँको कारोबार हुन्छ ।’ फार्मका सदस्य सन्तबहादुरले भने । किसानहरूबाट संकलन गरिएको स्ट्रबेरीलाई ग्रेडिङ गर्ने, प्याकिङ गर्ने काममा १ बजेदेखी साँझ ७ बजेसम्म उनीहरु खटिन्छन् ।

यस क्षेत्रमा उत्पादन हुने स्ट्रबेरी भाटभटेनीका सबैजसो ब्राञ्च, मार्टमा जाने गर्छ । त्यस्तै काठमाडौं, पोखरा, भैरहवा शहरमा पनि खपत हुन्छ । पहिले–पहिले भारतमा यहाँको ८० प्रतिशत स्ट्रबेरी जान्थ्यो । अहिले ५० प्रतिशत मात्र जान्छ । नेपालबाट बढी मात्रामा भारत निर्यात हुन थालेपछि भारत सरकारले नयाँ नीति अपनायो । किसानहरुलाई अनुदान दिएर भारतमै उत्पादन गर्न जोड दिएको सन्तबहादुर तामाङले बताए ।

सिजन र ग्रेड अनुसार मूल्य
स्ट्रबेरी सिजन अनुसार फल्छ । कात्तिकदेखि फल्न सुरु हुने स्ट्रबेरी बैशाखको दोस्रो सातासम्म फल्छ । सुरुसुरुमा ५ सय रुपैयाँमा बिक्रि हुन्छ । फागुनपछि भने २ सय ५० देखि ३ सय रुपैयाँमा विक्रि हुन्छ । ठूलो, चेप्टो आकार ए ग्रेडमा गनिन्छ भने सानो आकारको बि ग्रेडमा । मंसिरमा सबैभन्दा बढी उत्पादन हुन्छ । पुष, माघमा चिसोले गर्दा उत्पादनमा कमी आउँछ ।

लकडाउनमा घट्यो कारोबार
लकडाउनमा बजार नपाएपछि किसानहरूले समस्या परेको दुखेसो पोखे । एक केजी स्ट्रबेरीको एक सयदेखि एक सय ५० रुपैयाँमै बिक्रि गर्न बाध्य भएको उनीहरूले सुनाए । ‘२० केजी स्ट्रबेरी रुपैयाँमै ५ सय रूपैयाँमै दिनुपर्ने अवस्था आयो ।’ ककनीका रुम्बा राजाले भने । कतिपय परिवारले यसै खेर फाल्नु पर्ने अवस्था पनि आयो ।

यसरी सुरु भयो नुवाकोटमा स्ट्रबेरी खेती

नुवाकोटमा स्ट्रबेरी खेतीको इतिहास लामै छ । सुरुमा जापानीहरुले नुवाकोटमा स्ट्रबेरी खेती गर्न किसानहरु उत्साहित गरेका थिए । उनीहरुले नै बिउ, बिजन दिएर २०४६ सालतिर यहाँ स्ट्रबेरी खेती गर्न थालियो । हावापानी, माटो सुहाउँदो भएपछि जापानीहरुले यो ठाउमा नजर लगाएका थिए ।

जाइटी नामक जापानी संस्थाले नुवाकोटमा एकछत्र राज गर्‍यो । किसानको जग्गा भाडामा लिएर, स्ट्रबेरी उत्पादन, संकलन गरेर बजारसम्म पुर्‍यायो । जाइटीले गाउलेहरुबाट सस्तोमा उठाएर राजधानीका होटेल, सुपरमार्केटहरुमा महंगो बेच्यो । नाफा जति उसै कमायो । अन्य किसानलाई बेर्ना पनि दिएन । नेपालीहरूका लागि त स्ट्रबेरी एकदमै नौलो फल थियो । सुरुसुरुमा नेपालीहरु कसैले खाँदैनथे ।

२०५३ सालपछि भने नुवाकोटमा किसानहरुले पनि स्ट्रबेरी उत्पादन गर्न थाले । बजार पनि आफै खोज्न थाले । बिस्तारै जाइटीको एकाधिकार तोडिन थाल्यो । किसानहरुले दिनकै ३ सयदेखि ४ सय केजी स्ट्रबेरी उत्पादन गर्न थाले । बिगत चार वर्ष यता जापानी ब्राण्ड हिमबेरीको आवर फार्मले स्ट्रबेरी संकलन केन्द्र स्थापना गरेको छ । ११ जनालाई रोजगारी दिएको हिमबेरीले ग्रेडिङ गरेर राजधानी लगायत बिभिन्न शहरमा निर्यात गर्दै आएको छ । १ सय ३५ परिवारबाट यसले हरेक दिन झण्डै १ सय केजी स्ट्रबेरी संकलन गरेर बजारमा पठाउँछ । घर, अफिस, मार्ट, भाटभटेनीमा हिमबेरीले स्ट्रबेरी डेलिभरी गर्छ ।

गाउपालिकाले घोषणा गर्‍यो स्ट्रबेरी जोन
ककनी गाउपालिकाले ०७५ मा यस क्षेत्रलाई स्ट्रबेरी जोन घोषणा गरेको छ । किसानहरुलाई अनुदान पनि बितरण गरेको छ । तर, अनुदान वास्तविक किसानहरुले भन्दा पार्टीका कार्यकर्ताले मात्रै पाएको स्थानीयवासीको गुनासो छ । ‘फर्म दर्ता गरेका, अनुदानकै लागि प्रकृया मिलाएकाले मात्र अनुदान पाएका छन्’ सन्तबहादुर भन्छन् ‘वास्तविक किसानलाई त अनुदानका बारेमा बेखबर छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.