यस्तो छ दुर्गा प्रसाईँले ल्याउने मार्सी वियर, मूल्य कति ?

  २०७७ फागुन १८ गते १५:३८     डोमी शेर्पा

झापा । एक समय निकै चर्चा पाएको शब्द हो ‘मार्सी’ । तत्कालिन नेकपा एमाले र माओवादीबीच पार्टी एकताका क्रममा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)लाई आफ्नै घरमा मार्सी चामलको भात खुवाएपछि धेरैले त्यो शब्दकाे चर्चा मात्र गरेनन् खाना खुबाउने दुर्गा प्रसाईँको उपनाम मार्सी नै राख्न समेत भ्याए ।

त्यतिबेला निकै विवादमा आएको मार्सी शब्द अहिले भने एक ब्राण्डका रुपमा स्थापित हुने अनुमान गरिएकाे ।  त्यो शब्दलाई ब्राण्डका रुपमा स्थापित गर्न खोजिरहेका छन् तिनै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ । उनले आज मात्रै मार्सी वियर ल्याउने उद्घोष गरेका छन् ।

आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन समारोहमा प्रसाईँले आफुले मार्सी वियर नेपाली बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको बताएका छन् । केही समय अगाडि भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री चार अर्बमा किनेका उनले अब मार्सी वियर नेपाली बजारमा उपलब्ध हने बताएका हुन् ।

‘मेरो कम्पनीले दुई वटा बियर मार्सी प्रिमियम र मार्सी स्ट्रोङ ल्याउँदैछ, हामी यसको अन्तिम तयारीमा छौं,’ उनले कार्यक्रममा भने ।

‘हरियो बोत्तलमा मार्सी प्रिमियम र पहेंलो बोत्तलमा मार्सी स्ट्रोङ बियर हुनेछन्, धेरैले मार्सी शब्दलाई विवादमा ल्याए, मैले त्यही विवादित शब्दलाई ब्राण्ड बनाएँ,’ उनले भने ।

उनले मार्सी वियर नेपाली बजारमा एक ब्राण्डका रुपमा स्थापित भई बढी गुणस्तरीय र लोकप्रिय हुने पनि दावी गरे । उनका अनुसार फ्याक्ट्री प्रतिघन्टा २२ हजार बोत्तल बियर उत्पादन क्षमताको हुनेछ ।

उनका अनुसार मार्सी चामलमा सुगर कम हुने भएकाले मार्सी चामलबाट बियर बनाउँदा  यसले बजार लिनेछ । वियरमा जौको प्रयोग गरिँदै आएकोमा अब कच्चा पदार्थको रुपमा मार्सी चामल पनि प्रयोग गर्न लागिएको हो । झापामा बीएण्डसी मेडिकल कलेज, क्यान्सर अस्पताल, होटल र जग्गा कारोबार गर्दै आएका प्रसाइँले नयाँ क्षेत्रमा हात हालेका हुन् ।

मूल्य कति ?

उनका अनुसार मार्सी वियर नेपाली बजारले मन पराउने छ । अन्य वियरभन्दा मार्सी वियर सस्तो हुने उनकाे भनाई छ । मार्सी वियरको मूल्य न्युनतम २ सय ८० रुपैयाँदेखि सुरु हुनेछ । ३५० एमएल र ७०० एमएलको गरी दुईवटा बोतल र क्यानमा मार्सी वियर उत्पादन हुने उनले बताए ।

One comment on "यस्तो छ दुर्गा प्रसाईँले ल्याउने मार्सी वियर, मूल्य कति ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.