सिन्धुपाल्चोकको दुई स्थानमा मनोपरामर्श कक्ष बनाउँदै सम्भाव्य फाउण्डेसन

  २०७७ फागुन १७ गते १७:१९     विकासन्युज

काठमाडौं । मनोपरामर्श प्रदान गर्दौ आएको सम्भाव्य फाउण्डेसनले सिन्धुपाल्चोकको दुई स्थानमा मनोपरामर्श कक्ष बनाउन सुरु गरेको छ ।

फाउण्डेसनले फादर जो थालर एण्ड फ्रेण्डस्को सहयोगमा सिन्धुपाल्चोकको तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय र बाहुनपाटीस्थित जालपादेवी माध्यमिक विद्यालयमा मनोपरामर्श कक्ष बनाउन सुरु गरेको हो ।

सामुदायिक विद्यालयहरुमा यस्तो खालको मनोपरामर्श कक्ष सहितको मनोपरामर्श सेवा नेपालमै पहिलो पटक हुनेछ ।

मैत्रीनगर किर्तिपुरस्थित सम्भाव्य फाउण्डेशनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता हुनैपर्छ’ भन्ने नारासहित सामुदायिक विद्यालयहरुमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाइरहेको संस्थाका परामर्शदाता पुरुषोतम थापाले बताए ।

यसै अभियान अन्तर्गत नै उक्त फाउन्डेशनले हालसम्म सिन्धुपाल्चोक, काठमाडौं र बाग्लुङका विभिन्न १३ वटा विद्यालयहरुमा आफ्ना दक्ष मनोपरामर्शदाताहरुबाट वर्षैभरि नै नियमित रुपमा व्यक्तिगत तथा सामूहिक मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

उचित मनोपरामर्शको अभावमा वर्षेनी हजारौं किशोरकिशोरीहरु एन्जाइटी, डिप्रेसन, ओसिडी लगायतका मानसिक तथा मनोसामाजिक समस्याका सिकार भइरहेको फाउण्डेसनकै अर्को परामर्शदाता रन्जीता महर्जन बताउँछिन् । उनले किशोरकिशोरी एवं युवावर्गमा लागुऔषध दुर्व्यसनी  एवं आत्महत्याको दर समेत उत्तिकै बढ्दै गएको देखिएको बताइन्  ।

उनी भन्छिन्, ‘मनोपरामर्श कक्षको अभावमा विद्यालयमा विद्यार्थीहरुले मनोपरामर्शदातालाई आफ्ना समस्याहरु, व्यक्तिगत कुराहरु, मनका भावनाहरु पोख्न सहज थिएन । विद्यालयको कुनै कुना काप्चामा बसेर यताउति हेर्दै कोही आउँछ कि, कसैले सुन्छ कि भन्ने त्रास मनमा लिएर उनीहरु मनोपरामर्श सेवा लिने गर्दथे । तर अब विद्यालयमा एउटा छुट्ट्र्रै शान्त, सजिलो र आरामदायक मनोपरामर्श कक्षको उपलब्धताले विद्यार्थीहरुले सहज र शान्त वातावरणमा अप्ठ्यारो नमानी मनका पीडा, उकुसमुकुस, जिज्ञासा, दुविधा आदि निर्धक्क फुकाउन सक्नेछन् ।’

ती दुवै मनोपरामर्श कक्षहरुको आउँदो हप्ता नै उद्घाटन गरिने र तत्कालैदेखि उक्त कक्षहरुमा मनोपरामर्श सेवा सुचारु गरिने कुरा फाउण्डेसनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.