अक्षर भुल्ने साक्षर समाजको दशा !

  २०७७ फागुन १६ गते १६:५३     रमेश भट्टराई ‘सहृदयी’

घरमा नयाँ मान्छे देखेपछि कत्लैकत्ला भएको अनुहार लिएर दैलोको एकातिर आड लाउँदै डराउने समाजसम्म गएर सिकाइ र व्यवहारलाई हेरिनुपर्ने रहेछ । हामीलाई त्रिपिटक र मुन्धुमको लिपि किन सिकाइएन ! पाणिनिको माहेश्वर सूत्र खोजेर अक्षरको खेती गर्ने सोचबाट भाग्दा हामीले अक्षर सिकेर जीवन चिन भन्दै भनेनौँ ।

कपडा सिउन जान्नु, जुत्ता सिउन जान्नु, सुन-चाँदी-पित्तला आदिका गरगहना बनाउने, फलामको काम गरेर कोदालो, हँसिया, फालीदेखि गाग्रो, खड्कुँडो सबै बनाउने, हलो बनाउने, डोका-थुन्से-भकारी चित्रा आदि बुन्ने कलालाई किन प्राविधिक सिप मानेनौँ ? अनि कामलाई जातका आधारमा मात्रै हेर्ने सामाजिक र आत्मिक चिन्तनभन्दा पर भौतिक लालसाको बौद्धिक आतङ्कभित्र अन्धाधुन्ध हुरिन खोज्छौँ । तब, सुख र आनन्दको आत्मनिर्भरतालाई भुल्छौँ । व्यवस्थित समाजको गरिमालाई कुल्चने रहेछौँ ।

“हाम्रा पालाँ त स्कुल थेनन् बाबै, तँ चाइँ स्कुल जा ।” दिनभरि पँधेराको एक अम्खोरा पानीका भरमा मकै गोडेर बेलुका अँगेनामा अलिकति पीठो मस्काउने आमाको योगदान कति अतुलनीय हुन्छ । आफ्नो झुपडीबाट दुई घण्टा परको स्कुल पुग्न सिस्ने खोलादेखि खसिने खोला, मसिने खोला हुँदै अरु कति खहरे पार तर्नुपर्दो हो ।

बल्लतल्ल किनिदिएको किताब र कापी च्यापेर स्कुल जान लागेको छोरालाई मुटु गाँठो पारेर बिदा गर्नुपर्ने विवसता आज पनि छ । दशैँ आएपछि बल्लतल्ल नयाँ लुगा सिलाइदिने बुवाले भन्नुहुन्थ्यो- “बढ्ने मान्छे हो अलिक ठूलो सिलाइदिनुपर्छ है ।” पाइन्टको घुँडातिर, पछाडितिर देखिने भेन्टिलेसन टाल्ने साइत पनि त त्यही नै हो अनि बल्लबल्ल सिलाएको कपडा उही विद्यालयको पोसाक न हो । रात्रिकालीन फुर्सदमा गृहकार्य गर्ने जीवनसँग टुकी युगको सार्थकता पनि आज यथावत नै छ ! नीति र लक्ष्यका पानाले सुविधाविहीनलाई आँखामा आँखा जुधाएर हेर्नै सक्दैन रहेछ ।

ए शेर्पा दाइ ! तिम्रो चौँरी गाईको छुर्पीको स्वाद मुखमा झुन्डिएको छ । घरायसी विज्ञानको जादु टिप्छौ तिमी । चर्म चक्षु र ज्ञान चक्षुको “अमन्त्रम् अक्षरम् नास्ति” को उक्तिसँग नातो जोड्न नसकेरै त म हारेको हुँ । कर्मले ज्ञान र ज्ञानले कर्मसँग सर्म माने मानव धर्म नै धराशायी बन्ने रहेछ । एक्काइसौँ शताब्दीका ठूला गफमा असुविधाले अँध्यारो उल्झनमा अल्झाएपछि घायल हुन्छ, त्यो पाखो । ऊ त रक्त चन्दनको बासना बोकेर रम्न चाहन्छ । उसमा रुद्राक्ष लगाएर शिवभक्त बन्ने चाहना हुँदो हो । पाखामा आँखा लगाउन भन्दा डाकामा भाका मिलाउन उद्यत मान्छेको नालीबेली सुनाएर फाइदा के होला र खै !

कचहरी र धर्मसभाबाट मौलिक साक्षरता सिक्ने हामी नेपाली । राणाकालीन वैधानिक कानुनले चर खन्यो अनि प्रजातान्त्रिक युगले चेतनाको एउटा खरेप हाल्यो । पृथ्वी कसरी बन्यो ? मान्छे कसरी उब्ज्यो ? कुमान्छे कसरी भयो ? सुमान्छे बन्ने चक्कर किन चल्यो ? दानव र देवता कहाँ खोज्ने ? तमाम प्रश्नमा घोत्लिएर मान्छेले यन्त्रमानव बनाएको होस् या त अन्तरिक्ष जगत्सम्मको यात्रामा पाइलो सारेको मूल कारण यही हो भने पनि– मान्छेलाई सुख चाहिएको छ । भौतिक विकासमा लम्कन खोज्दा हामीलाई असुविधाको गलपासोले झापड हान्छ अनि पेट पूजाको समस्यामा कोर्राले छप्काउँछ । बाह्र महिना पाखुरी बजार्छौं । तीन महिनापछि पेट भोकै ।

विद्यार्थीलाई दिवा खाजा, नुन र तेल अनि लत्ता कपडा पाउँछु भनेर कति दिन पढ्न विद्यालयमा जाँदो हो ! मान्छे र कुमान्छेभित्र वनमान्छे र घरमान्छेको अन्तर किन हुन्छ ? पाखाले गाँसेको नातालाई पुस्तकका पानाले कसरी तोड्न सक्छ ! जीवन सिक्न जीवन बिर्सेर उही जीवनको शिक्षा भन्दै रुसोलाई हेप्न मिल्छ ! मलाई माक्र्स, लेनिन, फुकोभन्दा मेरा हजुरबा, जिजुबा, मामाघरकी हजुरआमाभित्रको ज्ञानको बन्दगोभी खोल्ने बुद्धि दिए हुँदैन ? विद्यार्थीले देशलाई गर्व गर्न पढोस् अनि परदेशलाई बुझ्न पढोस् तब मात्र मुलुकका कथाका पात्रभित्र सिँगाने, गोठाले, पाखेहरू पनि समावेश हुन्छन् । कमसेकम अक्षर चिन्नेले नचिन्नेका दशालाई बोध गर्नुपर्ने हो । साक्षर भएर तिनकै पसिनामा ¥याल काढ्ने बुद्धिलाई कसरी उत्तम मान्ने !

चेतनाको दियोमा अवसरको वर्तन नहुँदा त्यहाँ अँध्यारो त हुन्छ नै । तर, सुतेपछि देख्ने सपना होइन सुत्नै नदिने सपनाले सताउने संसारलाई म कसरी उन्नति भनौँ ! जीवन सिकाउन र चिनाउने कथाका पात्रहरूसँग मलाई सोध्न मन छ: जीवन पैसा हो ? उन्नति सम्पत्ति हो ? मान–सम्मान हो ? प्रौढ शिक्षा, साक्षरता शिक्षा, निरक्षरता उन्मूलनका अभिष्ट बोकेर अनकन्टार अक्करमा टुप्लुक्क बनेको एउटा घरले कति लाभ पाउँछ ! सुविधा र असुविधाभित्र विज्ञानको चेतना अनि रैथाने ज्ञानको सागरमा मन्टेस्वरीको चेतनाले शहर चकाचक हुन्छ अनि रुसोको “प्रकृति तर्फ” को सिद्धान्तका कुरा चाहँदा गाउँतिर फर्के हुँदैन ? समयले समस्याका चाङमाथि सम्भावनाको दैलो पनि त खोल्दै छ ।

आ.व. २०७५/०७६ को तथ्याङ्कले मुलुकमा ८६ प्रतिशतले रेडियोको सुविधा पाउँछन् भन्छ अनि ७२ प्रतिशत टेलिभिजनको पहुँचमा छन् । ९० प्रतिशत मोबाइलको पहुँचमा रहेछन् अनि ६५.९ प्रतिशतले इन्टरनेटको पहुँच बनाएका छन् । एउटा मोबाइलसँग कतै शिक्षा र साक्षरताको अभिष्टमा लम्कने खुबी त छैन !

भाग्य सुधार्न कर्म सुध्रिनुपर्छ । बाह्रखरी चिने पनि बाह्रथरि सोच्ने जीवनले सिकाइको पहुँचमा हीनताबोध मात्र देख्छ । विसङ्गति मात्र नियाल्छ तर कोइला र हिराको विशाल अन्तरलाई देख्दैन । स-साना हातलाई हल्लाएर सार स्वरमा वेदका ऋचा वाचेको देख्दा संस्कृतिको प्रभाव र अवसरको आकाङ्क्षाले परेट खेल्ने रहेछ क्यार । खेतका आलीहरूमा कोदोको कपनी हेरेर ‘अक्षरको खेतीमा फल यसरी लाग्छ’ भन्ने संस्कार कहाँ छ र ! चेतना र अवसर, इच्छा र सुविधा अनि समाज र संस्कारको द्वन्द्व तबसम्म रहिरहन्छ । चाउरिएको हातले कलिलो हातमा छेस्को थमाएर धुलौटो कोर्ने संस्कार ‘साक्षर सिकाइका ढाँचा’ भन्दा दमदार भए भने ! कलम र हलो एकसाथ मिल्न जान्ने संस्कृति मरेर त परदेसिने संस्कार मौलायो ।

मान्छे सभ्यताको सिँढी चढ्न चाहन्छ । पुर्खाको सानमा अभिमान गर्न लजाउँदा वेद, पुराण, मुन्धुम, त्रिपिटकका गहन मर्मको आदर्श ढल्छ । ताडको पात घोटीघोटी छेस्का वा प्वाँखले आफैँ मसी बनाएर लेखिएका अक्षरको रचनाशिल्पमा गर्व कसरी गर्ने ! साँच्चै, पुर्खाले बनाइदिएका भाषा र लिपिमा कति पसिना र बुद्धि खर्च भएको हुँदो हो ! आजको पुस्ताले हिजोको ज्ञानसँग मितेरी गाँस्न नचाहँदा भोलिको जीवनमा समेत आततायी अन्योल आउने पो हो कि त ! कालो अक्षर भैंसी बराबर भएपछि अलिक बढी अज्ञानतामा मेरो गोरुको बाह्रै टक्का भइरहन्छ !

हामी पिरुकामा माटोको धुलो चालेर, स-साना ढुङ्गाका गिर्खा फालेर सिमालीको छेस्काले कखरा सिक्दै गर्दा जीवनको लक्ष्य जान्दैन थियौँ । गोठालो जाँदा खरी ढुङ्गाले डल्सिन ढङ्गामा बाह्रखरी कोर्दै गर्दा गाईवस्तुले बाली खाएर हामीले गाली खानुपर्थ्याे । गोठालो गएको मान्छेले समेत अक्षरको खेती गर्ने चाहना बोकेपछि नजानी नजानी खेतका गरामा, ठूलो ढुङ्गामा ढुङ्गैको चक बनाएर कखरा सिक्दै गर्दा गाईवस्तुले खेती स्वाहा पारिदिँदा परिवारको अपमान हुन्थ्यो । आखिर युगले आज स्मार्ट बोर्डसम्म ल्याइपु¥यायो । ल्यापटपमा पावर प्वाइन्ट हुँदै भर्चुअल जमानामा विज्ञानले थाहै नपाएका कति जन्माइसक्यो तर पहाडका कन्दरादेखि तराईका झुपडीका लागि यी प्रविधि आज पनि त कागलाई बेल पाक्यो हर्ष न विस्मात् हुन् ।

नेपालको संविधान २०७२ ले मौलिक हकभित्र शिक्षाको हकलाई गाँसेको छ । तर फेरि, विपन्नको वेदनाले निरक्षरताको जड जन्माउँछ अनि उसैले हुर्काउँछ । सामाजिक कुसंस्कार, रीतिका नाममा बनेका कुनीति र अन्धसंस्कारमा दियो बाल्न मनोसामाजिक परामर्श, अभिभावक अभिमुखीकरण, जनहभागितामा मतैक्यताको अपेक्षा भन्दा व्यावहारिकता हुनुपथ्र्यो । कानुनको गलपासो लाएर मस्तिष्कको खिललाई निकाल्न सकिँदैन । बस्तीबस्तीमा घुम्ती शिक्षालय होओस् । समन्वयात्मक सहसम्बन्धको विकास, जिम्मेवारी र जवाफदेहिता फुलोस् ।

सकारात्मक अनुकरण र अभ्यासले अक्षर चिनाउने र चेतना बढाएर जीवन सिकाउने अभियान चलोस् न !

प्रौढ शिक्षा र साक्षरताको इतिहास वि.सं. २०१३ हुँदै सेती परियोजना, चेलीबेटी साक्षरता कार्यक्रमले दूरदराजलाई कति छोयो कुन्नि तर वि.सं. २०६८ को राष्ट्रिय जनगणनाले ६५.९ प्रतिशत साक्षरमध्ये काठमाडौँमा ८६.३ प्रतिशत र हुम्लामा ४७.८ प्रतिशत साक्षरताको अन्तरलाई देखाउँछ । २०७१ सालको असारमा- “१५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशत साक्षर भएका जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने” भनिए बमोजिम वि.सं. २०७२ मा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम गरेर “साक्षर नेपाल” घोषणा गर्ने भनियो । यद्यपि आज बीसओटा भन्दा पनि बढी जिल्लामा निरक्षरताको बोर्ड झुन्डिइरहेकै छन् । साक्षर नेपाल २०७६ को पनि अपेक्षित लक्ष्यलाई टेकेन । आखिर सुन्दर नीतिमा उही कार्यान्वयनको मार्ग अक्षम भयो ।

गिजुभाइको “दिवास्वप्ना” उपन्यासमा जसरी शिक्षकले विद्यार्थी मनोविज्ञानमा खेलोस् । कला र विज्ञानको नातो गाँसोस् । कक्षामा कक्षा पुस्तक कुनो होस् । इच्छाएको पुस्तकलाई घरमा हजुरबा हजुरामाले पनि पढ्नुहोस् । मोबाइलमा कखरा सिक्ने अनि टेलिभिजनमा पढ्नेदेखि रेडियोमा सुनेर कपीमा उतार्नेलाई पुरस्कार र पुनर्बल दिइयोस् । त्यसदिन नेपाल आमाले शिक्षा र साक्षरतामा रोजगारका सम्भाव्यता नियाल्ने विज्ञसँग भन्दिहुन्, “मलाई माया गर्ने भेष र भाषाका पारखी खोज्न गाउँमै जाऊ ।” तब सामुदायिक जागरणको पहलुमा ओल्लो डाँडा र पल्लो डाँडाको एउटा जमघट होला । वैकल्पिक विधि र प्रविधिले विकासमा साइनो गाँस्न सक्ला नि त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.