मोबाइल र ल्यापटप रिपेयरिङमा फ्रि होम डेलिभरी सेवा दिदै बिपिनको थ्रिकम केयर

  २०७७ फागुन १४ गते १४:३३     नरेन्द्र रौले

काठमाडौं । स्वदेशमा भन्दा विदेशमा आफ्नो उज्जवल भविष्य देख्ने थुप्रै नेपाली युवाहरु छन् । रोजगारीका खोजिमा विदेश पाइला टेक्न कैयौं युवा भिसाको पर्खाईमा छन् । कतिलाई म्यानपावर धाउँदै ठिक्क छ । स्वदेशमै उद्यम, व्यवसाय गर्न चाहने नेपाली युवाहरुको संख्या निकै कम छ । त्यसमाथि अरुलाई रोजगारी दिलाउनेको संख्या अझ कम छ । सर्लाही बरहथवाका विपिन जयसवाल तिनै थोरै युवाहरुमध्ये पर्छन् । जसले २५ वर्षकै उमेरमा २२ जनालाई रोजगारी दिलाएका छन् । र, उनी अझै त्यो संख्यालाई विस्तार गर्ने क्रममा छन् ।

न्युरोडस्थित पिपुल्स प्लाजाको तेस्रो तलामा छ, थ्रिकम केयर । त्यहीं भेटिन्छन्, हँसिलो चेहरा भएका जयसवाल । उनलै हाँकेका छन् यो कम्पनी । उनी हाइस्पिड ट्रेन जस्तै लाग्छन् । जे कुरामा पनि छिटो दौडिन चाहने । छिटो पुग्न चाहने ।

थ्रिकम केयरले बिग्रिएका ल्यापटप, मोबाइल, हार्ड डिस्क बनाउने काम गर्छ । शहरमा मोबाइल र ल्यापटप रिपेरिङ सेन्टर बग्रेल्ती छन् । चोकै पिच्छे रिपेरिङ सेन्टर खुलेपनि भरपर्दो र विश्वासिलो ठाउ भेट्न गार्‍हो छ । समस्या पर्दा मानिसहरु भौतारिएको देखिन्छ । तिनै समस्यामा परेका उपभोक्ताहरुको मन जित्दैछ, थ्रिकमले ।
अन्य रिपेरिङ सेन्टर भन्दा थ्रिकम के फरक छ भने यसले उपत्यकामा फ्रि पिकअप, फ्रि डेलिभरीको सुविधा प्रदान गर्छ । व्यस्त दिनचर्या हुनेहरुले एक कलको भरमा आफ्नो बिग्रिएको सामान मर्मत गर्न सक्छन् । उपत्यका बाहिरका उपभोक्ताहरुले भने कुरियरमार्फत आफ्ना सामानहरु मर्मत गर्न सक्छन् ।

२२ जनालाई रोजगारी दिलाएका थ्रिकम केयरका सञ्चालक जयसवालको पृष्ठभूमि संघर्षपूर्ण छ । सर्लाहीबाट १० वर्ष अघि काम खोज्नका लागि उनी राजधानी शहर पसेका थिए । केही इन्सिट्च्युटमा उनले मोबाइल, ल्यापटप बनाउने तालिम सिके पनि । तर, उनलाई त यसैमा भविष्य बनाउनु थियो । दक्ष बन्नु थियो । त्यसका लागि उनी भारतको नयाँ दिल्ली पुगे । उनमा नयाँ कुरा सिक्ने भोक यति थियो कि एक ठाउमा चित्त बुझाएनन् । उनी मोबाइल, ल्यापटपको स्पेशल कोर्ष गर्न नेहरु प्यालेस र डिसी सेन्टरमा एकै पटक भर्ना भए । २ लाख ३६ हजार भारु खर्चिएपछि उनको स्पेशल कोर्ष पूरा भयो ।

अवसर त यी युवा जयसवाललाई भारतमै पनि प्रशस्त थियो । तर, ५० हजार भारु बराबर सरसामानहरु किनेरनेपाल फर्किए । आफ्नै देशमा उद्यम गर्नुपर्छ भन्ने सोचले राजधानी फर्किए । तर, राजधानीमा व्यवसाय गर्न त्यति सजिलो थिएन । सुरुमा काम खोज्दै उनले महिना बिताए । पर्चा, पम्पलेट बनाएर पोल, पोल र भित्ताहरुमा टाँसे । जसमा लेखिएको थियो, हामी होम डेलिभरी सेवा दिन्छौं । घरमा आएर ल्यापटप बनाउने काम गर्छौं । चार महिनासम्म दौडिदा पनि भने जस्तो काम पाएनन् । जति नै समस्या भोगे पनि उनले हार खाएनन ।

जावलाखेलका रवी महर्जनसँगको चिनजानले भने जयसवाललाई राम्रै गर्‍यो । महर्जनको आफ्नै बिग्रिएका ल्यापटप बनाउने पसल थियो । पसलमा आएका सामानहरु महर्जनले बनाउनका लागि जयसवाललाई दिन्थे । र, ति सामानहरु बनाएर उनले पसलमा बुझाइदिन्थे । केही महिना यसरी काम गरेपछि पछि उनले आफ्नै कम्पनी खोले । पछि जयसवालले पिपुल्स प्लाजामा थ्रिकम कम्पनीको सूरुवात गरे । तीन जना स्टाफबाट उनले कम्पनीको सुरुवात गरेका थिए । चार महिनाको छोटो अवधिमै १० जना पुर्‍याए । पहिले पोल र भित्तामा टाँसिएका ठाउबाट फोन आउन थाल्यो । विभिन्न पसलहरुले उनलाई नै सम्पर्क गर्न थाले । कम्पनीलाई कामको कुनै कमी भएन । एक वर्षपछि त कम्पनीमा २२ जना स्टाफ नै पुगे । हाल कम्पनीको सीईओ जयसवालको मासिक तलब ६० हजार रुपैयाँ छ । कम्पनीको नाफा बेग्लै छ ।

बैंकर्स, नेता, व्यापारी, कुटनीतिज्ञ पिपुल्स प्लाजास्थित थ्रिकम कम्पनीका नियमित ग्राहक हुन् । फ्रि पिकअप, फ्रि डेलिभरी सेवाले अझ धेरै ग्राहकहरु बढिरहेका छन् । थ्रिकममा मोबाइल, ल्यापटप, हार्ड डिस्क बनाउने बेग्लाबेग्लै प्राविधिकहरु छन् । मोबाइल सर्भिस इन्जिनियर, ल्यापटप इन्जिनियर बाहेक सेल्स, पिक अप, ड्रपमा छुट्टै स्टाफहरु खटिदै आएका छन् ।

लेमिनेसन हाउस र थ्रिकम मार्ट
आउने मंगलबारदेखि थ्रिकम केयरले पिपुल्स प्लाजामा थप दुई वटा शो रुम सुरु गर्दैछ, लेमिनेसन हाउस र थ्रिकम मार्ट । ‘बाइकलाई मोडिफाइ गरे जस्तै मोबाइल र ल्यापटपलाई मोडिफाइ गरिने सुविधा दिदैछौं ।’ जयसवालले भने ‘मार्टबाट मोबाइल र ल्यापटपका सामानहरुको सेल्स हुनेछ ।’ यस्तै पिपुल्स प्लाजाकै पाँचौ तलामा म्याकबुक रिपेयर हब सुरु हुँदैछ ।

लकडाउन खुलेपछि नयाँ दिल्ली पुगेर त्यसका लागि विशेष तालिम लिएर उनले म्याकबुक रिपेयर हब सुरु गर्न लागेका हुन् । यो हबबाट म्याकबुकका पाटपुर्जा रिप्लेस, रिपेयर गर्ने र यसका पाटपुर्जाहरु पनि बेचिने उनले बताए । उपत्यकाका सिमित ठाउमा मात्र म्याकबुक रिपेयर गर्ने ठाउ छन् । ति धेरै महंगो छन् । उपभोक्ताहरुले महंगो मूल्य तिरेर म्याकबुक बनाउँन सकिरहेका छैनन् । त्यसैलाई आत्मसात गर्दै सुलभ मूल्यमा सेवा दिन उनले म्याकबुक रिपेयर हब सुरु गर्न लागेका हुन् ।
अबको केही समयभित्र नेपालका प्रमुख शहरमा थ्रिकमका ब्राञ्च खोल्ने तयारी रहेको जयसवाल बताउँछन् । त्यसो त उनी नेपालका सबै जिल्लामा ब्राञ्च खोल्न चाहन्छन् । त्यसका लागि दक्ष जनशक्ति उत्पादन गर्न स्पेशल कोर्ष पनि दिन थालिसकेका छन् ।

थ्रिकम केयरमा तालिम पनि
थ्रिकम केयरले मोबाइल, ल्यापटप बनाउने स्पेशल कोर्ष पनि प्रदान गरिरहेको छ । हाल १५ जनाले नि:शुल्क तालिम लिईरहेका छन् । एक वर्षको यो कोर्षपछि सञ्चालक जयसवालले आफ्नै कम्पनीमा उनीहरुलाई रोजगारी दिलाउँने बताएका छन् । ‘कतिले आफ्नै क्षेत्रमा गएर पनि कम्पनी खोल्न सक्छन् ।’ उनी भन्छन्, ‘नेपालमै बस्न चाहन्छु, स्वदेशमै कमाउँछु भन्नेलाई राम्रो अवसर छ ।’ १५ जना बाहेक अन्यले सिक्न चाहेमा भने कोर्षको लागि शुल्क तिर्नुपर्नेछ । यसरी विशेष कोर्ष गर्नेहरुले १० हजार देखि २ लाख रुपैयासम्म कमाइ गर्न सकिने जयसवाल बताउँछन् । आफ्नो क्षमता अनुसार कमाइ गर्न सकिने उनले बताए ।

नेपालमै अवसरै अवसर
युवा व्यवसायी जयसवाल नेपालमै अवसरै अवसर देख्छ न् । काम गर्न चाहनेले वेरोजगार बस्न नपर्ने उनले बताए । प्राविधिक क्षेत्रमा झन् अवसर र सम्भाबनाको खानी भएको उनी बताउछन् । ‘यो क्षेत्रमा समय धेरै दिनुपर्छ । त्यो अनुसार उर्जा र समय खेर जाँदैन । प्रतिफल अबश्य पाईन्छ ।’ विदेश जान खोज्ने युवाहरुलाई उनी यतै सीप सिकेर उद्यम, व्यवायमा लाग्न सल्लाह दिन्छन् ।

खाडीबाट आउने नेपालीहरु पनि स्वदेशमा कामको खोजीमा भौतारिरहेका हुन्छन् । उनीहरुलाई नआत्तिएर यतै काम गर्न उनी सुझाउँछन् । सर्लाहीको मध्यमवर्गिय परिवारमा जन्मिएका जयसवालका पीता राम नारायण घर बनाउने काम गर्छन् । आमा इन्दु देवी हाउसवाइफ । आफू यो स्थानमा पुग्न दाइ सञ्जयको ठूलो भूमिका भएको उनी बताउँछन् ।

जयसवालले अहिलेसम्म ५ लाख रुपैयाँ सेयरमा हालेका छन् । त्यसबाहेक मोबाइल र ल्यापटपमा लगानी रहेको उनी बताउछन् । यसै क्षेत्रलाई बृहत बनाउने उनको सोच छ । उनको मुख्य व्यापार नै यही हो । मंगलबार खुल्न लागेका दुई वटा शोरुम गरेर थ्रिकममा अहिलेसम्म १ करोड २३ लाख रुपैयाँ लगानी भईसकेको उनी बताउँछन् । उनले नेपाल बैंकबाट ऋण लिएका छन् । नेपाल बैंक र राष्ट्रिय वाणिज्य वैंकले उनलाई ऋण दिएर सहयोग गरिरहेका छन् ।

‘थ्रिकमलाई राष्ट्रिय स्तरको कम्पनी बनाउँन कस्सिएको छु ।’ जयसवाल भन्छन्, ‘नेपालमै भविष्य खोज्ने युवालाई सक्दो सहयोग गर्नेछु । नेपालमा अपार सम्भाबना छ । त्यसलाई हामीले प्रमाणित गर्नु पर्छ ।’ जति गफिए पनि युवा जयसवाल एकदमै आशावादी देखिए । युवापुस्तालाई सकारात्मक सोच लिएर अगाडी बढ्न उनी सल्लाह दिन्छन् ।

‘हामी युवाले नगरे कसले गर्ने ?’ छुट्टिने बेला युवा उद्यमी जयसवालले उल्टै प्रश्न गरे ‘अहिले नगरे कहिले गर्ने ?’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.