अबको ५ वर्षमा हाम्रो गाउँपालिका अन्य गाउँपालिकालाई लोन दिन सक्षम हुनेछ – अध्यक्ष खड्का

  २०७७ फागुन १३ गते २२:३३     विकासन्युज

बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लामा पर्ने ‘विगु गाउँपालिका’ ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिकरुपले फरक विशेषता बोक्न सफल गाउँपालिकाका रुपमा चर्चित छ ।

दोलखा जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल ‘बिगु गुम्बा’ को नामबाट नामाकरण गरिएको यस गाउँपालिकामा जम्मा ८ ओटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको सिमाना पूर्वतर्फ गौरीशंंकर गाउँपालिका, पश्चिममा भोटेकोशी गाउँपालिका अनि उत्तरमा विशाल चिन पर्दछ भने दक्षिणमा चाहिँ यसै जिल्लाको कालिञ्चोक गाउँपालिका रहेको छ ।

४ हजार ४ सय २८ जम्मा घरधुरी संख्या रहेको यस गाउँपालिका क्षेत्रमा यार्सागुम्बा, पाँचऔंले, सर्पगन्ध, चिराईतो, धुपी लगायतका जडिबुटीहरु पाइन्छन् । यस गाउँपालिकाको व्यापारिक केन्द्र सिंगटी बजार हो भने सो बजार नै गाउँपालिका प्रवेश गर्ने मुख्य द्वार पनि हो ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के के छन् ? जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन देखिएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै सो गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्कासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् :

सर्वप्रथम कृषिबाटै शुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्र तर्फ के–कस्ता कामहरु गर्दै आएको छ ?

कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाले विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ । पशुपालन कार्यक्रम ल्याइएको छ भने जमीन बाँझो नरहोस् भन्नका खातिर अनुदानको रुपमा कृषकहरुलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । प्लास्टिक टनेलहरु वितरण गरेका छौं भने फलफुल र तरकारीका विउ पनि निःशुल्क वितरण गरेका छौं । कृषिको लागि मलको व्यवस्थापन गर्ने काम हामीले गरिरहेका छौं । राम्रो कृषि उत्पादन गर्ने कृषकले यहाँ १० लाख रुपैयाँ सम्मको कवि खेति गरिरहेका छन् ।

गाउँपालिकाका कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका होलान् ?

बिगु गाउँपालिका भनेको ग्रामीण क्षेत्र नै हो । ग्रामीण क्षेत्रका नागरिकहरु जहाँपनि प्रायः कृषि पेशामा नै आवद्ध भएका पाइन्छन् । हाम्रो गाउँपालिकाका करिव ९० प्रतिशत बढि नागरिकहरु कृषि पेशामा आवद्ध भएको पाएको छु ।

गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ?

गाउँपालिकामा अहिलेसम्म भएका विकास निर्माणको कामहरु प्रभावकारी नै भएका छन् । हामीले आशा गरेअनुरुप विकास निर्माणको काम गर्न सकेका छौं । र नागरिकहरु पनि हाम्रो काम देखेर खुसी नै हुनुहुन्छ जस्तो लाग्छ ।

तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ?

अहिले गाउँपालिका भित्रका सडकहरुको स्तरोन्नती भएको छ । धेरैजसो सडकलाई पीच गर्ने काम भएको छ । खानेपानीको व्यवस्था हुन थालेको छ । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । पर्यटन विकासका लागि पनि हामीले जोड दिएका छौं । विद्यालयहरुको भवन निर्माण भएका छन् भने गुणस्तरिय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं ।

अबको ५ वर्षमा हाम्रो गाउँपालिकाले अरु गाउँपालिकालाई लोन दिन सक्नेछ । आयआर्जन खासै नभएका अथवा पिछडिएका गाउँपालिकालाई हाम्रो गाउँपालिकाले सहयोग गर्नेछ ।

गाउँपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के छन् नि ?

ठुलो योजनाको रुपमा विकास निर्माणका केही काम छन् । डीपीआर गरेर करीब ७ करोड रुपैयाँको बजेटमा गाउँपालिकाको भवन निर्माण गर्दैछौं । यहाँका ३ ओटा वडालाई पुग्ने गरी खानेपानी व्यवस्थापनको काम गरिरहेका छौं । खानेपानीको निर्माणाधीन ट्याङ्की व्यवस्थापन गर्ने तथा पाइप लाइनका कामहरु भइरहेको छ ।

पुल निर्माणको काम पनि गरिरहेका छौं । ५ नं वडामा २ करोड रुपैयाँको बजेटमा सडक निर्माणको काम भइरहेको छ भने ८ नं. वडामा पनि सडक निर्माणको लागि २ करोड रुपैयाँ बराबरको बजेट नै छुट्याएका छौं । ४ नं. वडाबाट गाउँपालिकाको केन्द्रसम्म जाने सडक निर्माणको कामका लागि भनेर ५ करोड रुपैयाँ बजेट छुट्याएका छौं । यस योजनामा प्रदेश सरकारको पनि सहयोग रहेको छ ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ?

हाम्रो गाउँपालिकामा खासै ठुला उद्योग त छैनन् पनि । तरपनि, देशको सबैभन्दा ठुलो अर्थात् ४ सय ५६ मेगावाटको हाइड्रोपावर माथिल्लो तामाकोशी हाम्रै गाउँपालिकामा पर्दछ । यसका साथै २५ मेगावट विद्युत उत्पादन गर्नसक्ने सिंगटी हाइड्रोपावर पनि सञ्चालन भएको छ ।यसका अलावा यहाँ ढुङ्गा तथा गिट्टी उद्योगहरु सञ्चालनमा छन् । त्यसैगरी नेपाली कागजको उत्पादन पनि हुने गरेको छ ।

सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन हो नि ?

गाउँपालिकामा धेरै कर तिर्ने कम्पनी छैन । निर्माण व्यवसाय लगायतबाट कर संकलन हुने गरेको छ । जडिबुटी उत्पादन हुने बेलामा पनि कर संकलन हुने गरेको छ । सामान्य गिट्टी, बालुवा आदिबाट पनि कर संकलन हुने गरेको छ ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

काम गर्न चाहने युवाहरुका लागि धेरै ठाउँमा अवसर छ । काम गर्न नचाहने युवाहरुका लागि हामीले केही गर्न सक्ने कुरै भएन । प्रधानमन्त्री स्वारोजगार कार्यक्रम पनि रहेको छ । केही युवालाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरु कृषि पेशामा संलग्न छन् ।

आफ्नो गाउँपालिका भित्रका पर्यटन क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ?

हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर संभावना बोकेको ठाउँ हो । बिगु गुम्बा, देउढुंगा, बौलाहा पोखरी, देउलाङ्गेश्वरी महादेव, तातोपानी कुण्ड, गोंल्मा राजा दरबार, ठाडोखोला महादेव आदि हाम्रो गाउँपालिका भित्रका पर्यटकीय स्थलहरु हुन् । हरेक पर्यटनस्थल सम्म पुग्नको लागि भनेर सडक निर्माण गरिरहेका छौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आईरहेको छ ?

शैक्षिक विकासका लागि हामीले धेरै काम गर्दै आएका छौं । स्कुलमा अंग्रेजी माध्यमबाट पढाउनु पर्छ भन्ने मनन गरेर विद्यार्थीलाई अंग्रेजी किताब वितरण गरेका छौं । एडीबीको लोनबाट यहाँका विद्यालय भवनहरुलाई पक्की बनाइएको छ ।

गाउँपालिकामा हाल कस्तो योजनालाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ?

हामीले भौतिक पूर्वाधारको कामलाई नै बढि प्राथमिकता दिएका छौं । जनताको आधारभुत आवश्यकतालाई पनि ध्यान दिएका छौं । सडक विकासतर्फ पनि हामीले जोड दिएका छौं । यसका साथै कृषि, सिँचाई लगायतका क्षेत्रलाई पनि सँगसँगै अघि बढाएका छौं ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आइपर्छन् नि ?

स्थानीय तहमा काम गर्दा सामान्य समस्याहरु आइपर्छन् । केही समय अघि कर्मचारीको अभाव थियो । बजेटको आकार पनि सानो थियो । अहिले भने यस्ता कुराहरुमा समस्या समाधान हुँदै आएका छन् । विकास निर्माणको काममा पनि यदाकदा समस्या देखापर्ने गर्छ । तरपनि यस्ता समस्यालाई समाधान गर्दै हामी अघि बढिरहेका छौं ।

तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

विकास निर्माणको काम त प्रभावकारी नै छन् । र, यसमा म सन्तुष्ट पनि छु । यति हुँदाहुँदै पनि सोचेजति सवै काम गर्न सकिएको भने छैन । बजेटको अभावको कारण चाहेजति विकास निर्माणको काम हुन नसकेको हो । राज्यबाट पनि थोरै बजेट आउने । आन्तरिक स्रोत पनि धेरै छैन । प्रदेश र संघबाट पनि नातावाद, कृपावाद विशेषले बजेट आउने हुँदा केही समस्याहरु देखा पर्ने गर्छन् ।

तपाईंको बाँकि रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?

अबको कार्यकालमा सम्बृद्ध अनि सुखी गाउँपालिका बनाउने मेरो योजना रहेको छ । धेरै विकास निर्माण गर्न चाहन्छु भने स्वास्थ्य शिक्षामा पनि व्यापक सुधार गर्ने, सबै वडामा सडक पुर्याउने लगायतका योजाना बनाएको छु । यसका साथै शिक्षाको क्षेत्रमा पनि उल्लोखनीय काम गर्ने लक्ष्य लिएको छु ।

स्वास्थ्य क्षेत्रको विकासका लागि कसरी काम गर्दै आइरहनु भएको छ ?

हामीले आधारभुत स्वास्थ्य सेवा यहाँका सबै वडामा पुर्याएका छौं । एम्बुलेन्स खरीद गरेर नागरिकलाई सेवा दिइरहेका छौं । गरिव परिवारले निःशुल्क एम्बुलेन्स सेवा पाउँछन् । प्राथमिक स्वास्थ्य सेवासम्म यहाँका सम्पूर्ण नागरीकको पहुँच छ । हाम्रो गाउँपालिकामा आँखा अस्पताल पनि सञ्चालनमा रहेको छ ।

नगरपालिकाले खेलकुद विकासका लागि कस्ता योजना बनाएको छ ?

यहाँ धेरैजसो विद्ययालयस्तरको खेलकुद प्रतियोगिता हुने गरेको छ । खेलकुद विकासका लागि भनेर हामीले बजेट छुट्याएका छौं । धेरै युवाहरु खेलकुलमा उत्सुक छन् । वडा स्तरीय खेलकुद प्रतियोगिता पनि हुने गरेको छ । बक्सीङ्ग, भलिवल, कराते, फुटवल लगायतका खेलहरु वेलावेलामा आयोजना गर्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.