जगदुल्ला जलविद्युतको लागि ३८ करोड लागतमा सडक निर्माण प्रक्रिया सुरु

  २०७७ फागुन १३ गते १०:४८     विकासन्युज

जाजरकोट । जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम सुरु गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरी पहल थालिएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए ।

झण्डै ३८ करोड १० लाखको लागत अनुमानअनुसार काम सुरु गर्न लागिएको प्रदेशसभा सदस्य शाहीले बताए । त्रिवेणी, नर्कु सर्मी हुँदै जुम्ला जोड्ने मुख्य सडकका रूपमा रहेको यो सडकको निर्माण कार्यको सुरुवातसँगै नयाँ ढोका खुलेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

तल्लो डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिकासँगै छिमेकी जिल्ला जुम्लासँग सडक जोड्ने मद्दत पुग्ने शाहीको भनाइ छ । अघिल्लो वर्ष बोलपत्र आह्वान गरेर रद्द भएपछि दुःखी भएका यहाँका स्थानीयवासी फेरि कामको प्रक्रिया सुरु भएसँगै खुशी भएका छन् । यो सडक खण्डमा अब बाँकी ११ किलोमिटर काम तत्काल शुरु गर्न लागिएको हो ।

त्यस्तै यही सडकखण्डको जाजरकोट, रुकुम पश्चिम आठबीसकोट नगरपालिका र डोल्पाको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा पुल निर्माणका लागि बोलपत्र भएर काम शुरु गर्न लागिएको छ । जगदुल्ला जलविद्युत् कम्पनीले सो ठेक्का खोलेको थियो । त्यस्तै काइगाउँ, जगदुल्ला गाउँपालिका–४ को बालुवाकुना र जगदुल्ला गाउँपालिका–२ जोड्ने पक्की पुलको निर्माणका लागि डिपिआर ९विस्तृत आयोजना प्रतिवेदन०को काम सुरु भई निकट भविष्यमा पुल निर्माणको काम सुरु गरिने छ ।

डोल्पाको दुनैसम्म सडक निर्माण भएर यातायातका साधन सञ्चालनमा आए पनि तल्लो डोल्पाकै दुई स्थानीय तहभित्र सडक निर्माण नहुँदा यातायातका साधन सञ्चालन हुन सकेको थिएन । जगदुल्लाको काइगाउँमा बाँध र मुड्केचुलाको इलमा विद्युत् उत्पादन गृह निर्माण हुन लागेको र अर्को नयाँ जलविद्युत् आयोजनाका लागि प्रक्रिया शुरु भएसँगै सडक निर्माण तत्काल गर्न दबाब परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.