नगर विकास कोषले हाम्रो नगरपालिकालाई नेपालकै उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ – नगरप्रमुख खड्कासँगको कुराकानी

  २०७७ फागुन १२ गते २०:५०     विकासन्युज

‘लालबन्दी नगरपालिका’ नेपालको प्रदेश नं. २ अन्तर्गत सर्लाही जिल्लामा पर्दछ भने लालबन्दी बजार सो नगरपालिकाकै मुख्य व्यापारीक क्षेत्रमा पर्दछ ।

१७ ओटा वडा रहेको यस नगरपालिकाको सिमाना पूर्वमा ईश्वरपुर नगरपालिका, पश्चिममा हरिवन अनि हरिपुर नगरपालिका, उत्तरमा सिन्धुली जिल्ला र दक्षिणमा भने हरिपुर र ईश्वरपुर नगरपालिकासँग जोडिएको छ ।

२ सय ३८ दसमलव ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको लालबन्दी नगरपालिका सर्लाही जिल्लाकै सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको नगरपालिका पनि हो । बि.सं. २०६८ को जनगणनाअनुसार यस नगरपालिकाको कुल जनसंख्या ५९ हजार ३ सय ९५ रहेको छ ।

नगरपालिकाका ठुला योजना तथा परियोजनाहरु के के छन्, उत्कृष्ट काम गरेको आधारमा नगर विकास कोषले नगरपालिकालाई सम्मान गर्दा कस्तो महशुस भएको छ, युवालाई रोजगारी अवसर नगरपालिकाले कसरी सृजना गरिरहेको छ भन्नेलगायतका विषयमा सो नगरपालिकाका मेयर मानबहादुर खड्कासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् :

नगरपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ ?

नगरपालिकाले कृषि विकासकै लागि भनेर धेरै काम गर्दै आएको छ । सिँचाई सम्बन्धी काम भइरहेको छ । सडक निर्माणको काम पनि हामीले गरेका छौं । नगरपालिका भित्र मकै पकेट क्षेत्र छुट्याएका छौं । पशुपालन तर्फ पनि हामीले जोड दिएका छौं । पशु पकेट क्षेत्र पनि छुट्याएका छौं । सहकारी मार्फत पशु सुधार कार्यक्रम पनि सञ्चालन गरेका छौं । विभिन्न संघ सस्थासँग समन्वय गरेर माउपाठी विउवितरणको कार्यक्रम पनि राखेका छौं ।

नगरपालिका भित्रको एउटा वडालाई गाई पकेट क्षेत्र भनी छुट्याएका छौं । कृषकलाई कम्पोस्ट मल बनाउने तालिम दिइरहेका छौं भने उत्पादन गरेका तरकारीहरुलाई बजारीकरणको व्यवस्था पनि मिलाएका छौं । उत्पादित खाद्यवस्तु प्रशोधनको काम गरेका छौं भने भण्डारणको कामलाई अघि बढाएका छौं । हाम्रो नगरपालिकालाई समृद्ध बनाउने मूल तत्व भनेको नै तरकारी उत्पादन हो । विशेषगरी यहाँ टमाटर धेरै मात्रामा उत्पादन हुने गरेको छ ।

नगरपालिकाका कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् होला ?

त्यसो त यहाँका ५० प्रतिशतभन्दा बढि नागरिकहरु नै कृषि पेशामा आवद्ध छन् । हामीले हरेक वर्ष पशुपालन तर्फ उत्कृष्ट काम गर्ने कृषकलाई १० हजार रुपैयाँ नगद दिएर सम्मान गर्ने गरेका छौं । तर यति हुँदाहुँदै पनि फलफुल राम्रो उत्पादन गर्ने कृषकलाई चाहिँ पुरस्कारको व्यवस्था मिलाउन सकेका छैनौं ।

उत्कृष्ट काम गरेको आधारमा नगर विकास कोषले हालै तपाईंको नगरपालिकालाई सम्मान पनि गरेको छ । तपाईंले कस्तो महशुस गर्नुभएको छ ?

म त खुशी छु । नगर विकास कोषद्धारा हाम्रो नगरपालिकालाई नेपालकै उत्कृष्ट नगरपालिका घोषित गरी सम्मानित गरिएको छ । राम्रो काम गर्यो भने त्यसको परिणाम पनि राम्रो आउने रहेछ भन्ने कुरामा विश्वस्त भएको छु । नगर विकास कोषले हामीलाई उत्कृष्ट नगरपालिका घोषणा गरी कदर पत्र र १ लाख रुपैयाँ नगद पुरस्काले सम्मान गरेको छ । नगरपालिकाले कोषको लगानीमा डुमडुमे मन्दिर तथा ६ तले व्यवसायीक भवन निर्माण गरिरहेको छ ।

तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि नगरपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ?

संघीय सरकार बनिसकेपछि तत्कालीन पुनःनिर्माण भएर बनेको नगरपालिका हो यो । ७ ओटा गाउँ विकास समिति निर्माण भएर हाम्रो नगरपलिका बनेको हो । नगरपालिका भित्र पहिलाको तुलानामा त अहिले धेरै परिर्वतन आएको छ । अहिले सडकको विकास भएको छ । खानेपानीको उचित व्यवस्थापन भएको छ । कच्ची सडकमा पीच हुन थालेको छ । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । सिँचाईको काम भएको छ । पर्यटन विकासको लागि जोड दिएका छौं । नगरपालिका भवनको निर्माण भएको छ । स्वास्थ्य भवनहरु निर्माण भएका छन् । विकास निर्माणका कामहरु अघि बढेका छन् । विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि विशेष ध्यान दिन थालिएको छ ।

नगरपालिकामा ठुला योजना तथा परियोजनाहरु के-के छन् होला ?

ठुलो योजनाको रुपमा पुल निर्माणको काम रहेको छ । नगरपालिकाले १३ करोड रुपैयाँ बराबरको लगानीमा पुल निर्माणको काम गरेको छ भने यसमा ५ करोड रुपैयाँ बजेट संघीय सरकारको सहयोगका रुपमा रहेको छ । नारायण डाँडामा १ करोड रुपैयाँभन्दा माथिको लगानीमा भ्यूटावरको निर्माण गरिरहेका छौं । हामीले केही उद्योग पनि सञ्चालन गरेका छौं । नगरपालिकाको आयश्रोत वृद्धि गर्नको लागि ठुलाठुला भवन निर्माण गरेर भाडा लगाउने काम पनि गरेका छौं । ६० लाखसम्म भाडा आउने गरेर भवनको निर्माण गरेका छौं । प्रत्येक वर्ष आएको रकमबाट २० प्रतिशत रकम आर्थिक वृद्धका लागि लगानी गर्ने गरेका छौं । ५० प्रतिशत रकम वडाहरुका ससाना कामका लागि वितरण गर्दै आइरहेका छौं । बचेको ३० प्रतिशत बजेटबाट नगरपालिकाको ठुलाठुला आयोजना अथवा भनौं गौरवको आयोजनाका काम गर्ने गरेका छौं । यहाँका २ ओटा वडामा बिजुली बत्ति पुगेको छैन । यद्यपी ७० प्रतिशत घरमा बिजुली पुगिसकेको छ र यसै कार्यकालको अवधिमा उक्त २ ओटै वडामा बिजुली पुगिसक्नेछ ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो नि ?

ठुलो उद्योगको रुपमा भुजेल खाद्य उद्योग रहेको छ । यस उद्योगले दाल, चामल लगायत उत्पादन गर्ने काम गर्छ । यस बाहेक नगरपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरु प्रशस्त छन् ।

सबैभन्दा धेरै कर चाहिँ कुन कम्पनीले तिरेको छ ?

सबैभन्दा बढी कर त भुजेल खाद्य उद्योगले नै तिर्ने गरेकोे छ । यस बाहेक पसल कर संकलन हुने गरेको छ ।

आफ्नो नगरपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ?

पर्यटन क्षेत्रको लागि हामीले धेरै काम गर्दै आइरहेका छौं । हामीले पर्यटनको विकासको लागि भनेर नै भ्यूटावरको निर्माण गर्ने काम गरिरहेका छौं । पर्यटन क्षेत्रहरुमा सडक पुर्याउन पनि हामी लागि परेका छौं । हामीले मठ, मन्दिरको निर्माण पनि गरी रहेका छौं । डुमडुमे मन्दिर पनि हाम्रो नगरपालिकामा रहेको छ । हामीले पर्यटन पूर्वाधारको विकासमा पनि जोड दिएका छौं ।

नगरपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

नगरपालिका भित्र युवा स्वरोजगार कार्यक्रम रहेको छ । हामी युवा स्वारोजगार अन्तर्गत पनि रोजगार दिदै आइरहेका छौं । एनजीओ आईएनजीओ लगायतसँग सहकार्य गर्दै केही युवालाई कृषि पेशामा संलग्न गराएका छौं । केही युवालाई भने विकास निर्माणका काममा पनि लगाइरहेका छौं ।

नगरपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ?

नगरपालिकामा अहिलेसम्म भएका विकास निर्माणको कामहरु प्रभावकारी छन् भन्नुपर्छ । हामीले आशा गरे अनुसार विकास निर्माणको काम भइरहेको हुनाले हामी पनि खुसी नै छौं ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ?

समन्वय गरिरहेकै छौं । प्रदेश सरकारसँग हामीले योजना तथा कार्यक्रमहरु मागेका हुन्छौं । योजना अनुसारको बजेट आउने गरेकै छ । गत वर्ष प्रदेश सरकारले हामीलाई १ करोड ५० लाख रुपैयाँ बजेट पठाएको थियो ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के-के आई पर्छन् होला ?

स्थानीय तहमा काम गर्दा सामान्य समस्या देखा पर्ने गर्छ । प्रतिशोध भएका मानिसहरु समाजमा धेरै नै हुन्छन् । राजनैतिक प्रतिशोध पनि भइरहेकै हुन्छ । यसले गर्दा कतिपय ठाउँमा समस्या पनि हुने गरेको छ । सामान्य विकास निर्माणको काममा पनि समस्या आउने गरेको छ । तरपनि यस्ता समस्यालाई समाधान गरेर हामी अघि बढिरहेका छौं ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकारबाट पनि हामीले राम्रो सहयोग पाएका छौं । केन्द्र सरकारलाई योजनाहरु पेश गर्दा केही बजेट पठाउने गरेको छ । केन्द्र सरकारसँग पनि हाम्रो राम्रो सहकार्य रहेको छ ।

तपाईंको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?

नगरपालिकालाई आत्मनिर्भर बनाउने योजना छ । कृषिको माध्यमबाट कसरी स्वरोजगार बनाउन सकिन्छ भनेर विशेष ध्यान दिइरहेका छौं । सबै वडासम्म पुग्ने तथा हाइड्रोसँग जोड्ने सडक कालोपत्रे गर्ने योजना रहेको छ । हरेक नागरिकको घरमा बिजुली बत्ती अनि सडक पुर्याउने लक्ष्य लिएको छु ।

नगरपालिकामा तपाईंले चाहेर पनि गर्न नसकेका विकास निर्माणका कार्यहरु के के छन् ?

नदीलाई नियन्त्रण गर्ने काम त्यत्तिकै छ । शैक्षिक क्षेत्रको सुधारतर्फ सोचेजस्तो काम गर्न सकिएको छैन । शहरी क्षेत्रमा शिक्षाको अवस्था राम्रै रहेको भएपनि ग्रामीण भागमा भने टन्नै सुधार गर्नुपर्ने छ ।

नगरपालिकाले खेलकुद विकासको लागि भनेर कस्ता योजनाहरु ल्याएको छ ?

विद्यालयस्तरको खेलकुद प्रतियोगिता नगरपालिकामा धेरै हुने गरेको छ । नगरपालिकामा राधाकृष्ण खेल मैदान पनि रहेको छ जहाँ वडा स्तरीय खेलकुद प्रतियोगिता पनि हुने गरेको छ । बक्सीङ्ग, भलिवल, कराते, फुटवल लगायतका खेलहरु पनि नगरपालिकामा आयोजना गर्ने गरेका र्छौं ।

अन्त्यमा, स्वास्थ्य क्षेत्रको विकासका लागि कसरी काम गर्दै आइरहनु भएको छ ?

हामीले नगरपालिका भित्रका सम्पूर्ण वडामा आधारभुत स्वास्थ्य सेवा पुर्याएका छौं । यो वर्ष हामीले अस्पताल निर्माणको काम पनि अघि बढाएका छौं । सम्पूर्ण नागरिकको प्राथमिक स्वास्थ्य सेवासम्म पहुँच पुगेको छ भने आँखा उपचार केन्द्र एवं विभिन्न संघ सस्थाद्वारा सञ्चालित स्वास्थ्य सेवाहरु नगरपालिकामा उपलब्ध भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.