२०७७ फागुन १२ गते १०:४५ विकासन्युज
काठमाडौं । बैंकहरुले कर्जा प्रवाहको लागि ६ महिनाको परिस्थिति पनि मूल्यांकन गर्न नसकेको भन्दै उद्योगी व्यवसायीले फेरि बैंकहरुको आलोचना गर्न थालेका छन् । केही समयअघिसम्म बैंकहरुका अधिक तरलता हुँदा कर्जा लिइदिन हारगुहार गर्ने बैंकहरु अहिले आफैले मगाएको कर्जा फाइल पनि फर्काउन थालेका व्यवसायीको गुनासो छ ।
बैंकहरुका लगानीयोग्य रकम (तरलता) कम हुँदै गएपछि कर्जा प्रवाहमा केही कडाई गरिएको बैंकहरुले जनाएका छन् । व्यवसायीहरुले भने बैंकहरुले आफ्नो व्यवसाय मात्रै हेरेर आफूहरुलाई अप्ठेरोमा पारेको व्यवसायीको गुनासो छ ।
‘१५ दिन अगाडि ऋण लिइदिनुस् न भन्दै बैंकहरु हारगुहार गरिरहेका हुन्थे, उनीहरुकै आग्रहमा नयाँ कर्जाको लागि फाइल पेस गरियो, लगानीको लागि परियोजना तयार गरेर अन्य सबै तयारी गरियो, अहिले आएर केही समय लाग्ने भयो भन्दै झुलाउन थालेका छन्, केही साथीहरुलाई त बैंकले ‘सरी’ भन्दै फाइल नै फिर्ता गरिदिएका पनि सुनेको छु,’ एक व्यवसायीले भने ।
पछिल्ला दिनहरुमा कोभिड महामारीको असर कम हुँदै गएपछि आयात बृद्धि भएको, लगानीका क्षेत्रहरुबाट कर्जाको माग बढेको, बैंकहरुले निक्षेपमा दिने व्याज घटाएका कारण लघुवित्त, सहकारी संस्था जस्ता क्षेत्रमा निक्षेप बढेको जस्ता कारणले बैंकहरुका तरलता कमी हुदै गएको बताइएको छ ।
नेपाल बैंकर्स संघको अनुसार फागुन पहिलो सातासम्ममा बाणिज्य बैंकहरुमा मात्र निक्षेप करिव ३७ खर्ब ९९ अर्ब रुपैयाँ भएको छ । त्यस्तै कर्जा लगानी ३३ खर्ब ३५ अर्ब रुपैयाँ भएको छ । निक्षेप रकम जीडीपी भन्दा पनि बढी हो भने कर्जा जीडीपीभन्दा केही कम छ ।
पछिल्लो समय सेयर बजार तथा घरजग्गा बजारमा मूल्य र कारोबार दुबै बढेको छ । आयात तथा निर्यात व्यापार पनि बढेको छ । रेमिट्यान्स कारोबार पनि बढेको छ । सरकारी राजश्व पनि वृद्धि भएको छ । यतिबेला बैंकहरुमा पैसाको चलायमान उच्च दरमा रहेको छ ।
गत माघ महिनामा ५ अर्बले निक्षेप वृद्धि हुँदा कर्जा ७४ अर्ब रुपैयाँले वृद्धि भएको छ । पुस महिनामा ८८ अर्बले निक्षेप वृद्धि हुँदा कर्जा १४३ अर्ब रुपैयाँले वृद्धि भएको छ ।
संघका अनुसार चालु आर्थिक वर्षमा बैंकहरुमा ३ खर्ब २० अर्ब रुपैयाँ निक्षेप बढेको छ भने ४ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।
यस अवधिमा बैंकहरुको निक्षेप वृद्धि भन्दा कर्जा लगनी १ खर्ब ३७ अर्ब रुपैयाँले बढिरहेको छ । कोभिडपछि अधिक तरलताको प्रभावले बैंकहरुले निक्षेप र कर्जा दुबैमा व्याज घटाएपछि निक्षेप वृद्धि भन्दा कर्जा लागनी वृद्धि बढी देखिएको छ । सोही कारण बैंकहरुमा लगानीयोग्य रकमको चाप परेको र कर्जामा कडाई हुन थालेको हो ।
केही महिना अघिसम्म २ खर्ब रुपैयाँ अधिक तरलता रहेकोमा अहिले ८० अर्ब रुपैयाँको हारहारीमा मात्रै रहेको नेपाल राष्ट्र बैंकको भनाइ छ । बजारमा अधिक तरलता देखिए पनि केही बैंकहरुको पुँजी निक्षेप कर्जा अनुपात (सीसीडी रेसियो) ७६ प्रतिशतभन्दा माथि पुगिसकेको छ ।
Copyright © 2021 Bikash Media Pvt. Ltd.