निफ्राको सेयर बेच्नेको ओइरो लाग्दा किन्ने कोहि भएनन्

  २०७७ फागुन ११ गते १४:०५     विकासन्युज

काठमाडौं । मंगलबारको बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर बेच्ने लगानीकर्ताको ओइरो लागेको छ । गत सोमबार अर्थात फागुन १० गतेसम्म बैंकको सेयर किन्नेको ओइरो लागेको बजारमा मंगलबार भने एकाएक बेच्नेको ओइरो लागेको छ ।

यो समाचार तयार पार्दासम्म बैंकको १० लाख ५ हजार २२० कित्ता सेयर बिक्री अडरमा रहेको छ भने उता खरिद अडर भने शून्य रहेको छ । यसको मतलब बैंकको सेयर किन्न इच्छुक कोहि पनि रहेका छैनन् ।

यो अवधिमा बैंकको सेयर न्युनतम प्रतिकित्ता ५९५ रुपैयाँदेखि अधिकतम प्रतिकित्ता ५९९ रुपैयाँसम्ममा बेच्न लगानीकर्ता इच्छुक रहेका छन् ।

बैंककाे मार्केट देप्थ

त्यस्तै, मंगलबारकाे बजारमा सबैभन्दा बढी सम्पत्ति गुमाउनेकाे अग्रस्थानमा निफ्राकै लगानीकर्ता रहेका छन् । त्यस्तै, बढी काराेबार हुनेकाे अग्रस्थानमा पनि निफ्रा नै अगाडि रहेकाे छ । याे समाचार तयार पार्दासम्म बैंककाे ७० कराेड रूपैयाँ बढीकाे सेयर काराेबार भइसकेकाे छ । यसअवधिमा १० हजार ७७ पटकको कारोबारमा बैंकको १० लाख १६ हजार कित्ता सेयर खरिद बिक्री भइसकेका छन् ।

बैंकको सेयर दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर उकालो लागिरहेको थियो । तर, मंगलबारको बजारमा भने बैंकको सेयर मूल्य एकाएक १० प्रतिशतले घटेको छ । निरन्तर बढेर प्रतिकित्ता ६६० रुपैयाँसम्म पुगेको बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता ५९४ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ६६ रुपैयाँले घटी हो ।

निफ्राले हालै मात्र नेपाली पुँजीबजारकाे इतिहासमै सबैभन्दा ठूलाे आकारकाे आईपीओ सर्वसाधारणमा जारी गरेकाे थियाे । ८ अर्ब रूपैयाँ बराबरकाे सेयर जारी गरेकाे बैंकले सर्वसाधारणमा बाँडफाँड गरि गत फागुन २ गतेदेखि दाेश्राे बजारमा सेयर काराेबार शुरू गरेकाे  थियाे । काराेबार शुरू भएकाे पहिलाे दिनमै बैंककाे सेयर मूल्य बढेर प्रतिकित्ता ३७६ रूपैयाँ पुगेकाे थियाे । त्यसयता कम्पनीकाे सेयर दैनिक सकारात्मक सर्किट लेभलमै काराेबार भइरहेकाे  थियाे । तर, आज एकाएक बैंककाे सेयर मूल्य १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.