साढे दुई दशकपछि अघि बढ्यो दैजी–छेला औद्योगिक क्षेत्र, ९ अर्ब लगानीमा १० हजारलाई रोजगारी

  २०७७ फागुन १० गते १०:३३     विकासन्युज

काठमाडौं । चर्चा चलेको साढे दुई दशकपछि कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अगाडि बढेको छ । २५ वर्षअघिदेखि बन्ने भनिएपनि अलपत्र रुपमा परेको सो उद्योगको शिलान्यास आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने भएसँगै निर्माणको प्रक्रिया अगाडि बढेको हो ।

प्रक्रियागत अल्झनका कारण लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र निर्माणको काम अब तीव्र गतिमा अगाडि बढ्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताए ।

वि.स २०५३ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक बजेट विनियोजन गरेको थियो । यसपछि झण्डै साढे दुई दशक भन्दा बढी समय पछि बल्ल औद्योगिक क्षेत्रको काम अघि बढेको हो ।

बस्नेतका अनुसार सो औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन, विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । ‘लामो समयदेखि प्रक्रिायामै उल्झन् रहेको औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मुल्याङन र डीपीआर तयार भइसकेको छ,’ उनले भने ।

डीपीआरका अनुसार सो औद्योगिक क्षेत्र निर्माण भइसकेपछि १० हजार जनाले रोजगारी पाउने छन् । ९ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको सो औद्योगिक क्षेत्रको काम ५ वर्षभित्र सम्पन्न गरिने बताइएको छ । नौ सय बिगाहमा विकास हुने यस औद्योगिक क्षेत्रमा एक सय प्लट रहनेछन् ।

सरकारको २०७२ चैत १ को मन्त्रिपरिषदको निर्णय अनुसार कंचनपुर जिल्लामा सविकको जिल्लामा दैजी छेला औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.