गाउँपालिका जमानी बसेर किसानलाई १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउँछ – अध्यक्ष घले

  २०७७ फागुन ९ गते २०:२१     विकासन्युज

‘नौकुण्ड गाउँपालिका’ बागमती प्रदेश अन्तर्गतको रसुवा जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो ।

पूर्वमा गोसाईंकुण्ड गाउँपालिका अनि नुवाकोट जिल्ला, पश्चिममा कालिका गाउँपालिका, उत्तरमा गोसाईंकुण्ड गाउँपालिका र दक्षिणमा भने नुवाकोट जिल्लाको सिमानासँग जोडिएको यो गाउँपालिका १ सय २६ दसमलव ९९ वर्ग किलोमिटरमा फैलिएको छ । यसका साथै कालिकार गोसाईंकुण्ड गाउँपालिकासँग यस गाउँपालिकाको सिमाना जोडिनुले पनि यस गाउँपालिकाको विकासमा अथाह सम्भावना थपिदिएको छ ।

६ ओटा वडा रहेको यो गाउँपालिकाको कुल जनसंख्या ११ हजार ८ सय २४ रहेको छ भने उक्त जनसंख्याले नौकुण्ड गाउँपालिकालाई रसुवा जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको गाउँपालिकाको रुपमा परिचित गराएको छ ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, युवालाई रोजगारीको अवसर सृजना गर्नमा गाँउपालिकाले कस्तो भुमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङ्वो घलेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः प्रस्तुुत छ उक्त कुराकानीको अंश ।

गाउँपालिकामा कोरोनाले पुर्याएको असर बारे छोटकरीमा बताइदिनुस् न

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि नराम्रो असर पुर्याएको छ । कोरोनाको समयमा नागरिकहरु त्रसित भएका थिए । गाउँपालिका भित्र प्रवेश गर्नेहरुलाई हामीले अनिवार्य १४ दिनसम्म क्वारेन्टिनमा राखेका थियौं । हामीले ५० बेडको क्वारेन्टिन स्थापना गरेका थियौं भने व्यवस्थित आइसोलेसन कक्षको पनि स्थापना गरेका थियौं । यत्तिको तयारी गरेको भएपनि कसैलाई पनि आइसोलेसनमा राख्नुपर्र्ने अवस्था चाहिँ आएन । कोरोनाकालमा गाउँपालिका भित्रका सबै विद्यालयहरु बन्द गरिए । त्यसैगरी विकासनिर्माणका कामहरु पनि ठप्प नै भएका थिए । तर अहिले भने गाउँपालिकाको अवस्था सामान्य भइसकेको छ ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ?

हामीले गाउँपालिका भित्रका पर्यटन क्षेत्रको प्रचारप्रसार गरिरहेकै छौं । चुरे ढुङगाले धेरैलाई आकर्षित गर्ने गरेको छ । लकडाउन शुरु भएदेखि गाउँपालिकामा पर्यटकहरुको भिड खासै भएको छैन । हाम्रो पालिकाले पर्यटन तर्फ प्रचूर सम्भावना बोकेको हुनाले गर्दा भोलिका दिनमा फेरि पनि पर्यटकहरु आउनेछन् भन्ने विश्वास छ । हामीले मठमन्दिरको डीपीआर गरेर निर्माण गर्ने काम सुरु गरिसकेका छौं । यसका साथै हामीले पर्यटन पुर्वाधारको विकास पनि गरिरहेका छौं ।

गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

हामीले कृषि विकासको लागि धेरै काम गर्दै आइरहेका छौं । गाउँपालिका बैंकमा जमानी बसेर भेडा गोठ बनाउने तथा बाख्रा पालन गर्ने कृषकहरुका लागि ३ देखि १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाएका छौं । हावापानी अनुसारको कृषि उत्पादनमा जोड दिएका छौं । यहाँको मुख्य पेशा नै खेतीकिसानी नै हो ।

कतिपयले पशुपालन गरिरहनुभएको छ । पशुपालन सम्बन्धी विभिन्न कार्यक्रम पनि हामीले राखेका छौं । हाम्रो गाउँपालिकामा आलु, धान, मकै, कोदो, कफि लगायतका कुराहरु धेरै उत्पादन हुने गरेको छ । हामी बजार व्यावस्थापनमा पनि लागि परेका छौं । गाउँपालिकाको तर्फबाट किसानहरुलाई तरकारी र फलफुलको विउ पनि वितरण गर्दै आइरहेका छौं ।

तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित भइसकेपछि गाँउपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ?

पहिलेको तुलनामा अहिले धेरै परिवर्तन आएको छ । म निर्वाचित हुनु भन्दा अगाडि गाउँपालिकाको सबै ठाउँमा सडक पुगेको थिएन । अहिले त सडक पुग्नेमात्र होइन यातायातकै सञ्चालन पनि हुन थालिसकेको छ ।

खानेपानीको राम्रो व्यवस्था गर्न सकिएको छ । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । गाउँपालिकाको भवन निर्माण भएको छ । विकास निर्माणको कामहरु पनि धेरै गरेका छौं । विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षातर्फ पनि ध्यान दिन सकेका छौं । पुलको निर्माण गरेका छौं । मठ मन्दिरको पनि निर्माण गरेका छौं ।

गाउँपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के होलान् नि ?

खासै ठुलो योजनाहरु त छैनन् । एउटा ठुलो योजनाको रुपमा नौकुण्ड खानेपानी योजना रहेको छ । यो योजनाको डीपीआरको काम अगाडि बढाएका छौं । स्याउवारी–गोसाईकुण्ड सडकखण्डको डीपीआर भइसकेको छ । प्रदेश बाट घोरल्लो चोकसम्म जाने सडक पिच हुन लागेको छ । ५० लाख रुपैयाँ बराबरको बजेटमा यो सडक पिच हुन लागेको हो । पुल निर्माणको काम पनि सुरु भएको छ । यसका साथै अस्पताल भवनहरु चाहिँ कतै निर्माण हुने क्रममा छन् भने कतै चाहिँ निर्माण भइसकेको पनि छ ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आइपर्छन् ?

स्थानीय तहमा काम गर्दा सामान्य किसिमका समस्याहरु आइपर्ने गर्छ । मुख्य समस्या भनेको विकास निर्माणका काममा आउँछ । जनताको अपेक्षा धेरै छ भने बजेटको आकार चाहिँ सानो छ । सिंह दरबार गाउँगाउँमा आयो भन्ने सरकारको नारा अहिलेसम्म पनि नाराकै रुपमा रहेको छ । हामीले पिउनलाई नियुक्त गर्ने अधिकार पनि पाएका छैनौं । कमै मात्र अधिकार स्थानीय तहमा छ भने बढि अधिकार केन्द्र सकारसँग नै रहेको छ ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकार बाट पनि सामान्य सहयोग मिल्ने गरेको छ । केन्द्र सरकार बाट ४० लाख रुपैयाँ बराबरको बजेट आउने गरेको छ । केन्द्र सरकारले विकास निर्माणको काममा पनि सहयोग पुर्याएको छ ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

विदेशबाट फर्केका युवाहरुलाई सामुहिक खेती गर्न लगाएका छौं । हामीले युवा लक्षित कार्यक्रम राखेका छौं भने २० लाख रुपैयाँ बजेट त्यतापट्टि छुट्याएका छौं । बैंकसँग साझेदारी गरेर दक्ष युवाहरुलाई ऋणको व्यवस्था मिलाएका छौं । त्यसैगरी, केही रोजगारी चाहिँ विकास निर्माणको क्षेत्रतर्फ सृजना गरेका छौं ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ?

त्यस्तो ठुलो उद्योग अथवा व्यापारीक कम्पनी त हाम्रो पालिकामा छैनन् । बरु स्थानीय नागरिकहरुले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरु चाहिँ धेरै छन् ।

तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ?

शिक्षा क्षेत्रमा गुणस्तर आइसकेको छैन जसले मलाई सन्तुष्टी मिलेको छैन । यो बाहेक विकास निर्माणको काममा भने म सन्तुष्ट छु ।

गाउँपालिकामा मानिसहरु प्रायः कस्ता समस्या लिएर आउँछन् ?

मानिसहरु गाँउपालिकामा सामान्य किसिमका समस्याहरु लिएर आउने गरेका छन् । कोही खानेपानी अनि सडकको समस्या लिएर आउँछन् । धेरै टाडा भएको एउटा मात्र घरमा सडक पुर्याउनु पर्यो भन्दै आउने पनि छन् ।

गाउँपालिकामा हाल कस्ता योजनालाई प्राथमिकता दिएर काम गरिरहनुभएको छ ?

हामीले भौतिक पूर्वाधारको कामलाई प्राथमिकता दिएका छौं । विद्युत विस्तार कार्य सबै वडामा पुर्याउन कम्मर कसेका छौं । सडक निर्माणतर्फ पनि जोड दिएका छौं । यसका साथै कृषि, सिँचाई तथा विद्यालयहरु तर्फ पनि ध्यान दिइरहेका छौं ।

तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?

गाउँपालिकाका नागरीकहरुलाई समृद्ध बनाउने योजना छ । जे होस्, आफुले जिताएको जनप्रतिनिधि गाउँपालिकाको अध्यक्ष भएको छ भन्ने अनुभुति जनतालाई भएको छ भन्ने कुरामा विश्वस्त छु । आफुले गरेका विकास निर्माणको काम प्रभावकारी होस् र जनता पनि सन्तुष्ट रहुन् भन्ने इच्छा मुताविक विभिन्न किसिमका योजनाहरु बनाएको छु । मेरोे कार्यकाल सकिए पछि पनि जनताले राम्रो काम गर्ने मान्छेका रुपमा मलाई सम्झिउन् भन्ने उद्देश्यका साथ काम गरिरहेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.