गोदावरीमा जिपलाइन सञ्चालनमा, टिकट काटेमा बीमाको सुविधा पाइने (भिडियोसहित)

  २०७७ फागुन ८ गते २१:११     विकासन्युज

फाइल फोटो

ललितपुर । ललितपुरको गोदावरी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यापर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावरी स्थित विशंखुनारायण सामुदायिक वनभित्र साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याएका हुन् ।

ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दुरीमा रहेको विशंखुनारायण वनभित्र जिपलाइन सञ्चालनमा ल्याइएपछि खेल खेल्न आउने आन्तरिक पर्यटकको संख्या पनि बढेको छ । एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय मिटर रहेको जिपलाइन खेल्नका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट पर्यटकहरु जाने गरेका छन् ।

जिपलाइन खेल्नका लागि फोटो भिडियो सहित प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएपनि अहिले छुट दिएर प्रतिव्यक्ति १ हजार ३ सय रुपैयाँ लिइएको सञ्चालक श्रेष्ठले बताए । जिपलाइन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको निर्माण भएकाले खेल खेल्न सुरक्षित रहेको पनि श्रेष्ठले बताए । तरपनि टिकट काटेर खेल खेलेमा बीमा लगायतका सुविधा दिइएको छ ।

जिपलाइन खेल्न आउने पर्यटकहरु पनि साहसिक खेल खेल्न पाउँदा निकै खुशी देखिएका छन् । उपत्यकाबाट नजिकै साहसिक खेल खेल्न पाउने ठाउँ नभएका बेला जिपलाइन सञ्चालनमा आउँदा यस क्षेत्रको पर्यटनमा समेत टेवा पुग्ने उनीहरुको भनाई छ ।

नेपाल सरकारले प्रकाशित गरेको सामुदायिक वनमा पर्यापर्यटन कार्यविधि २०७५ को आधारमा नियम कानून अन्तर्गत रहेर सामुदायिक वनले आसयपत्र आव्हान गरेपछि बोलकबोल मार्फत ठाउँ लिइएको सञ्चालक श्रेष्ठले बताए । सामुदायिक वनलाई संरक्षण गर्ने, प्रकृतिलाई जोगाउने र वातावरणलाई नविगारिकन साहसिक पर्यटनको विकास गर्ने किसिमले नै जिपलाइन सञ्चालनमा ल्याइएको पनि बताए ।

भिडियो हेर्न यसमा क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.