पूर्वाधार निर्माणका क्षेत्रमा केन्द्र सरकारले खासै सहयोग गरेको छैन – गाउँपालिका अध्यक्ष सुब्बासँगको कुराकानी

  २०७७ फागुन ५ गते २१:५३     विकासन्युज

प्रदेश नं १ अन्तर्गत संखुवासभा जिल्लामा पर्ने ‘सभापोखरी गाउँपालिका’ कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा पनि निक्कै चर्चित एवं रमणीय गाउँपालिका हो । यो गाउँपालिकाले ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक विविधता बोकेको त छ नै साथै प्राकृतिक रुपले पनि निक्कै सुन्दर छ ।

वि.सं. २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा १० हजार ४ सय ९२ जनाको वसोवास रहेको छ भने यहाँ ६ ओटा वडाहरु रहेका छन् । सभापोखरी, बन्दुके तिर्थस्थल, गोजरुजुरे हिमाल, रानीढुङ्गा लामालमिन गुफा, महादेवथान लगायतका स्थानहरुले यस गाउँपालिकालाई विशेष बनाएको छ । यस गाउँपालिकाबाट नेपालको छोटो नाका किमाथांकासँग जोड्ने वैकल्पिक मार्गको समेत संभावाना देखिएको छ । सभापोखरीजस्तो प्रमुख तिर्थस्थलमा केवलकार सञ्चालन गरी पर्यटकलाई गाउँपालिकामा तान्न सके मात्र पनि सिङ्गो नेपालको आर्थिक विकासमा पक्कै पनि टेवा पुग्ने थियो ।

यस गाउँपालिका भित्र कार्ज, तामा, कुरिङ, तुर्मालिङ लगायतका खानी रहेका छन् । यस गाउँपालिका भित्रबाट बग्ने नदीनालाहरुमा सभाखोला, लंखुवाखोला, धुपूखोला, भोटीखोला, याक्सुवाखोला, ठगुवाखोला आदि रहेका छन् भने उक्त खोलाहरुबाट यस क्षेत्रलाई धान्न सक्ने विध्युत उत्पादन हुने कुरा पनि अध्ययन बाट देखिएको छ ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के कस्ता छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्नेलगायतका विषयमा केन्द्रित हुँदै सो गाउँपालिकाका अध्यक्ष रतन वहादुर सुब्बासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश ।

गाउँपालिकामा कोरोनाले पुर्याएको असर वारे छोटकरीमा बताइदिनुस् न

विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि नराम्रो असर गर्यो । कोरोनाकालमा हामीले ४० जनासम्म राख्न मिल्ने क्वारेन्टिन स्थापना गरेका थियौं भने १४ बेडको आइसोलेसन कक्षको निर्माण गरेका थियौं । अप्ठ्यारो वेलामा सहज होस् भन्ने हेतुले हामीले कोरोना कोषको पनि स्थापना गरेका थियौं । कोरोना कोषको लागि ३० लाख रुपैयाँ बजेट छुट्याएका थियौं । हामीसँग दक्ष स्वास्थ्यकर्मीको अभाव थियो । स्वास्थ्यकर्मीको अभाव कारण संक्रमितहरुलाई नजिकैको सदरमुकाम खाँदवारीमा पठाएका थियौं । कोरोनाले शिक्षाका साथै विकास निमार्णको कामहरु ठप्पप्रायः नै भए । अहिले भने गाउँपालिकाको अवस्था सामान्य भइसकेको छ । सर्वसाधारणहरु पनि त्रास रहित भएर आफ्नो काम गरिरहनु भएको छ ।

गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के छन् ?

ठुलो योजनाको रुपमा त सडक नै रहेको छ । हामीले धेरै बजेट सडक निर्माणको लागि भनेरै छुट्याएका छौं । गाउँपालिकालाई सदरमुकामसँग जोड्ने सडकको स्तरोन्नतीका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएका छौं । त्यस बाहेक गाउँपालिका भित्रका सडक निर्माणको लागि भनेर वार्षिक ६ करोड रुपैयाँ बजेट छुट्याएका छौं । त्यसैगरी खानेपानी व्यवस्थापनको लागि पनि बजेट छुट्याएका छौं । यसका साथै गाउँपालिकाको भवन टेन्डर प्रक्रिया बाट ठेक्का लगाएर निर्माण भइरहेको छ । २ करोड ८६ लाख रुपैयाँ बराबरको बजेटमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । यतिवेला ४ र ५ नं वडामा मात्र विद्युत पुग्न बाँकि छ भने सडक चाहिँ सबै वडामा पुगिसकेको छ । उक्त २ ओटा वडामा विद्युत पु¥याउन विद्युत प्रविधिकरणलाई हामीले ठेक्का लगाएका छांै ।

गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् त ?

धेरै नै प्रभावकारी भएको छ जस्तो लाग्छ मलाई । हामीले मिहिनेत पनि कम्मर कसेरै गरिरहेका छौं ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ?

हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि पनि प्रचूर संभावना बेकेको ठाउँ हो । धार्मिक क्षेत्रका रुपमा हामीले सभापोखरीलाई विशेष जोड दिएका छौं । त्रिवेणी धाम जसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि हामीले १२ करोड रुपैयाँ माग गरेका थियौं । जसमा ३ करोड रुपैयाँ पर्यटन मन्त्रालय बाट बजेट विनियोजन भएको छ । पर्यटन क्षेत्रको विकासको लागि हामीले वार्षिक ३० लाख रुपैयाँ बजेट छुट्याउँदै आएका छौं । यहाँका सभाखोला तथा लंखुवाखोलाका असला माछा नेपालभित्रको मात्र नभएर विभिन्न वैदेशिक मुलुकहरुसम्म पनि चर्चित रहेको छ । त्यसैगरी पर्यटकहरुका लागि भनेर हामीले होमस्टेको पनि अवधारणा बनाइरहेका छौं ।

गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

कृषि विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । यहाँका धेरै मानिसहरु खेतीकिसानी गर्छन् । कृषिलाई अधुनिकिकरण गर्नका लागि हामीले विशेष जोड दिएका छौं । केहि बजेट हामीले कृषि क्षेत्रलाई पनि छुट्याएका छौं । प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमतर्फबाट २४ लाख रुपैयाँ बजेट अनुदानको रुपमा आएको छ । हावापानी सुहाउँदो विउविजन पनि लगाएका छौं । हामीले गाउँपालिकामा धान, तरकारी र मकैको विउ ७५ प्रतिशत अनुदानमा दिँदै आएका छौं । नगदे वालीको रुपमा अलंैची तथा रुद्राक्ष उत्पादन हुने गरेको छ भने खाद्यान्न तर्फ भने धान, मकै, कोदो, गहुँ, आलु आदिको उत्पादन हुने गरेको छ । किवि खेती पनि केही मात्रामा हुने गरेको छ ।

तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भईसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ?

म निर्वाचित भएर आइसकेपछि गाउँपालिकामा धेरै परिर्वतन आएको छ । यहाँको सबै वडामा आधारभुत स्वास्थ्य सेवा सञ्चालन भएको छ । स्वास्थ्य भवनको निर्माण पनि भइसकेको छ । वडा कार्यालयको भवन निर्माण भएर जनतालाई सेवा दिने काम भएको छ । सबै वडामा सडक पुर्याउने तथा निर्माण हुने काम भइरहेको छ । बाह्रविशे बजारमा ढलान भएको छ । गुणस्तरीय शिक्षालाई अगाडि बढाई रहेका छौं ।

स्थानीय तहमा कामगर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ?

स्थानीय तहमा कामगर्दा सामान्य किसिमका समस्याहरु देखा पर्ने गर्छन् । केही समय अगाडि कर्मचारीको अभाव थियो । सेवाग्राहिलाई समयमै सेवा दिन समस्या थियो । हाल यो समस्याको समाधान भइसकेको छ । कहिलेकाहीँ विकास निर्माणको काममा पनि समस्या देखापर्ने गरेका छन् ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ?

स्थानीय तह र प्रदेश सरकारबीच समन्वय भइरहेकै छ । प्रदेश सरकारबाट आउने बजेटलाई हामीले विभिन्न क्षेत्रमा विनियोजन गरेका छौं । स्थानीय तहमा हुन लागेका विकास निर्माणको काममा पनि हाम्रो समन्वय भएको छ । स्थानीय तहमा ठुलो बजेटमा विकास निर्माण गर्नुपरेको अवस्थामा डीपीआर गरेर प्रदेश सरकारलाई पठाउने गरेका छौं । प्रदेश सरकारले भने विकास निर्माणका क्षेत्रमा धेरै ठुलो परामर्श नगरेको महशुस गरेको छु । प्रदेश सरकारले ल्याउनु पर्ने कार्यक्रमहरु खासै ल्याएको पनि छैन ।

त्यसोभए केन्द्र सरकारबाट चाहिँ कत्तिको सहयोग मिलेको छ नि ?

गाउँपालिकाको सडक, झोलुङ्गे पुल लगायतको निर्माणका लागि हामीले केन्द्र सरकारको सहयोग मागेका थियौं तर यस काममा सहयोग पाउन सकेनौं । केन्द्र सरकारबाट सामान्य बजेट मात्र आउने गरेको छ । त्यो भनेको समपुरक अनुदानको रुपमा वार्षिक १४ करोड रुपैयाँ बजेट आउने गरेको छ ।

गाउँपालिकाले युवाहरुका लागि रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम रहेको छ । हामीले युवा लक्षित विभिन्न कायक्रमहरु पनि ल्याएका छौं । कृषि विकास र क्षमता विकास अन्तर्गत युवालाई हामीले बजेट छुट्याएका छौं । युवाको क्षमता विकास गर्ने काम गरिरहेका छौं । हामीले युवालाई विकास निर्माणको काममा लगाएर रोजगारी दिने गरेका छौं । गाउँपालिकामा धेरै युवाहरु कृषि पेशामा लागेका छन् । यहाँ उद्योगधन्दाको विकास गर्न खासै सकिएको चाहिँ छैन ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ?

ठुलो उद्योग हाम्रो पालिकामा रहेको छैन भन्दा पनि हुन्छ । तरपनि यहाँ विभिन्न उद्योगहरु सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना भने रहेको छ । हाल गाउँपालिका भित्र ५ मेगावट बराबरको लंखुवा हाइड्रो सञ्चालनमा छ । हाम्रो गाउँपालिकाका नागरिकहरुको मुख्य पेसा भनेको खेती किसानी नै हो । कृषकहरुले खेती, कुखुरा पालन, पशुपालन लगायतका कामहरु गर्दै आइरहेका छन् ।

तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ?

‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषि र पशुपालनलाई नै जोड दिनेछु ।

तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ?

म सन्तुष्ट नै छु । गाउँपालिकाको स्रोत र साधनले भ्याए अनुसार सक्दो कार्य गरेका छौं । विगतको भन्दा धेरै विकास पनि भएको छ । मुख्य कुरा त यहाँका नगारीकहरु सन्तुष्ट भएको पाएको छु । र सायद उहाँहरुको सन्तुष्टीले नै मलाई पनि सन्तुष्टि मिलेको हुनुपर्छ ।

गाउँपालिकामा मानिसहरु प्रयाः के कस्ता समस्याहरु लिएर आउने गर्छन् ?

गाउँपालिकामा मानिसहरु विभिन्न किसिमका समस्या लिएर आउने गरेका छन् । कोही आवासको समस्या लिएर आउने गरेका छन् । प्रदेश सरकारले दिएको सहरी विकास अन्तर्गतको जनता आवास कार्यक्रम अहिलेसम्म कार्यान्वयनमा आउन सकेन । त्यसका अलावा विकास निर्माणको काममा अलि बढि बजेट छुट्याउनुप¥यो भन्ने जस्तो गुनासो लिएर आउनेहरु पनि छन् ।

गाउँपालिकाले हाल कस्तो योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ?

हामीले भौतिक पूर्वाधारका कामलाई नै अगाडी सारेका छौं । विद्युत विस्तार कार्य सबै वडामा पुर्याउनु पर्छ भनेर जोड गरेका छौं । त्यसका साथै कृषि, सिँचाई तथा विद्यालयको पुर्वधार लगायतका कामलाई पनि प्राथमिकतामा राखेका छौं ।

तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?

मेरो कार्यकालमा यहाँका सम्पूर्ण वडाका कुनाकाप्चासम्मै सडक तथा विद्युत पुर्याउने योजना बनाएको छु । खानेपानीको व्यावस्था गर्ने, सबै वडामा स्वास्थ्य भवनको निर्माण गर्ने, आधारभुत अस्पतालको निर्माण गर्ने, गुणस्तरीय शिक्षामा जोड दिने, युवालाई सिप सिकाएर आत्मनिर्भर बन्न सघाउने समेत योजना बनाएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.