दुध उत्पादक किसानलाई प्रतिलिटर ४ रूपैयाँ अनुदान दिएका छाैं–अध्यक्ष एकराज उप्रेती

  २०७७ फागुन ४ गते २०:१४     विकासन्युज

‘मनहरी गाउँपालिका’ बागमती प्रदेश अन्तर्गतको मकवानपुर जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा निक्कै चर्चित छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिकरुपले फरक विशेषता बोक्न समेत सफल यस गाउँपालिकाको क्षेत्रफल १ सय ९९ दसमलव ५ वर्ग कि. मि. रहेको छ । वि. सं. २०६८ को जनगणना अनुसार यो पालिकामा ३८ हजार ३ सय ९९ जनसंख्या रहेको छ भने गाउँपालिकामा ९ ओटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको सिमाना पूर्वमा हेटौंडा उपमहानगरपालिका, पश्चिममा राप्ती नगरपालिका, उत्तरमा राक्सिराङ्ग गाउँपालिका र दक्षिणमा भने पर्सा जिल्लामा पर्ने पर्सा राष्ट्रिय निकुञ्ज रहेको छ ।

गाउँपालिकाका ठूला योजना तथा परियोजनाहरु केके हुन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्ने लगायतका विषयमा केन्द्रित हुँदा सो गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भईसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ?

म निर्वाचित भएर आईसकेपछि गाउँपालिकामा धेरै परिर्वतन आएको छ । सडकको विकास भएको छ । गाउँपालिकाको सबै ठाउँमा यातायात बाट सजिलै पुग्न सक्ने अवस्था भएको छ । ग्राबेल पनि नभएका सडहरु धमाधम पिच हुन थालेको छ । पक्की पुलको निर्माण भएको छ । गाउँपालिका भित्रको सबै ठाउँमा बिजुली पुगेको छ । खानेपनीको राम्रो व्यवस्था भएको छ । विद्यालय भवनको निर्माण भएको छ । गुणस्तरीय शिक्षा सिकाई प्रक्रिया अगाडि बढेको छ ।

तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?

५ वर्षको कार्यकालमा एकदमै धेरै परिर्वतन त नहुन सक्छ । तरपनि विगतको तुलनामा गाउँपालिकामा भएको परिर्वतनलाई उल्लेख्य नै मान्नुपर्छ । हामीले गाउँपालिका भित्र टोल सुधार समितिको गठन गरेका छौं । डम्पीङ साइटको व्यवस्थापन मिलाएका छौं । विद्यालय भवनको निर्माण भइरहेको छ । यति हुँदाहुँदै पनि मेरो कार्यकालमा गाउँपालिका अझ संबृध बनोस् भन्ने चाहेको छु । धेरै विकास निर्माण गर्ने, स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा सुधार गर्ने, सबै वडामा सडक पुर्याउने लगायतका योजान मैले बनाएको छु ।

गाउँपालिकामा रहेका ठूला योजना तथा परियोजनाहरु के–के हुन् ?

गाउँपालिका भित्र ५ ओटा पुलको निर्माण भइरहेको छ । ५३ करोड रुपैयाँ बराबरको टेन्डर प्रक्रियाबाट ठेक्का लगाएका छौं । यो ५ ओटा पुल निर्माण हुँदा गाउँपालिकाको ४ ओटा वडाका नागरिकले ठुलो लाभ प्रप्त गर्नेछन् । पुल निर्माण नहुँदा पानी परेको समयमा विद्यार्थीहरु विद्यालयमा बस्नु पर्ने अवस्था थियो । यातायात सञ्चालन हुन पनि कठिन अवस्था थियोे । नेपालको ४ सय ६० गाउँपालिका मध्ये आफ्नै स्रोतबाट ५ वटा पुल एकैपटक ठेक्का लगाउने एक मात्र गाउँपालिकाका मनहरी नै हो भनेर चिनिन्छ ।

खानेपानीको योजना पनि हाम्रो गाउँपालिकामा रहेको छ । पालिका भित्र ८ करोड रुपैयाँ सम्मका खानेपानी योजनाहरु चलिरहेको छ । ४ हजार घरधुरीका नागरिकले शुद्ध खानेपनी पाउने छन् । यो सेवा लिनको लागि नगरिकले सामान्य विद्युत र मिटरको पैसा तिर्नुपर्ने हुन्छ । गाउँपालिकामा धेरै सडकहरु कालोपत्रे हुन थालेका छन् । सडक विकासको सवालमा हाम्रो गाउँपालिका निकै अगाडि बढेको छ । प्राथमिक स्वास्थ्य केन्द्र सबै वडामा सञ्चालन भएको छ भने गाउँपालिकामा ५३ जना स्वास्थ्यकर्मी रहेका छन् । १५ सय बेडको अस्पातल निर्माणको लागि टेन्डर प्रक्रिया अगाडि बढिरहेको छ । अस्पताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट रहेको छ । विद्यायलको भवन निर्माण गर्ने काम पनि भइरहेका छ । ५४ करोड रुपैयाँ बराबरको मदन भण्डारी स्मृती खेल मैदान निर्माण गर्ने भनेर २० बिघा जमीनलाई संरक्षण गरिरहेका छौं । यसमा प्रदेश र केन्द्रको सहयोग रहेको छ ।

तपाईंको पालिकामा सबैभन्दा ठूलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ?

हाम्रो गाउँपालिकामा पानी र जुस उत्पादन गर्ने उद्योग रहेको छ । फलाम उद्योग रहेको छ । औद्योगिक क्षेत्र बनाउने भनेर जमीन पनि छुट्याएका छौं । कागज कारखाना विकास गर्ने हाम्रो योजना रहेको छ । सानासाना उद्योग विकास गर्नतर्फ पनि हामी लागिपरेका छौं ।

सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन हो नि ?

सबैभन्दा बढि कर तिर्ने भनेको क्रसर उद्योगले हो । गत साल ५२ लाख रुपैयाँ बराबरको कर तिरेको थियो । यस कम्पनीले बढि कर तिरेको भएर गाउँपालिकाको तर्फबाट सम्मान पनि पाएको छ ।

तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ?

‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषिलाई नै बढि जोड दिन्छु ।

गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

गाउँपालिका भित्र कृषि विकासको लागि धेरै काम हुँदै आएको छ । हाम्रो गाउँपालिका कृषिमै आत्मनिर्भर बन्दै गएको छ । गाउँपालिका भित्रका ९ ओटा वडालाई पकेट क्षेत्रका रुपमा छुट्याएका छौं । वडा अनुसार बाख्रा, माछा, फलफुल, तरकारी, धान लगायतका पकेट क्षेत्रको घोषणा गरेका छौं । विशेष गरेर विषादी रहित तरकारी खेतीको उत्पादन पालिका भित्र सुरु भएको छ । यसको लागि आवश्यक पर्ने पूर्वधार तयारी गर्दै आएका छौं । समय अनुसारको तरकारी तथा धानको विउ खरीद गरेर हामीले ७५ प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराउने काम पनि गरेका छौं ।

हामीले ‘मुल विउ’ भन्नाले विउ उत्पादन गर्ने र ‘उन्नत विउ’ भन्नाले चाहिँ बढि उत्पादन गर्नेको निम्ति गत साल २० टन धानको विउ किसानलाई वितरण गरेका थियौं । त्यतिखेर नेपालमा लकडाउन भएको अवस्था थियो । जसको कारणले किसानले उत्पादन गरेको तरकारी बेच्ने ठाउँ समेत थिएन । यस्ता समस्या आई परेको बेला हामीले किसानलाई पनि सहयोग गर्यौं । बाख्रा पालन कार्यक्रम पनि सञ्चालनमा रहेको छ । गाई प्रवद्र्धन कार्यक्रमको बिज्ञापन निकालेका छौं । दूधलाई डेरीमा लगेर जस्ले बिक्रि गर्छन् त्यस्ता किसानलाई प्रति लिटर २ रुपैयाँ अनुदान उपलब्ध गराउने कार्यक्रम पनि रहेको छ । प्रदेश सरकारले पनि २ रुपैयाँ दिएको छ । सहकारीमा दूध बेच्ने किसानले ४ रुपैयाँसम्म सरकारी कमिसन पाउँछन् । गाईवस्तु पाल्ने किसानलाई घाँस काट्ने मेशिन पनि बितरण गरेका छौं । गाई वस्तुलाई गरिने कृतिम गर्वाधान पालिकाले निःशुल्क रुपमै गर्दै आएको छ ।

गाउँपालिकामा कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् ?

हाम्रो पालिकामा करिव ९० प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् ।

राम्रो कृषि उत्पादन गर्ने कृषकलाई गाउँपालिकाले पुरस्कारको व्यावस्था मिलाएको छ कि छैन ?

राम्रो कृषि उत्पादन गर्र्ने कृषकलाई सामान्य पुरस्कारको व्यवस्था मिलाएका छौं । गाउँपालिकामा धेरैजसो कृषि उत्पादन राम्रो हुने गरेको छ । कसको राम्रो भनेर छुट्याउन समस्या हुने गरेको छ । हाते ट्रयाक्टर तथा कृषि औजार हामीले ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरेका छौं ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ?

हामीले गाउँपालिका भित्रको पर्यटन क्षेत्रको प्रचार प्रसार गरिरहेका छौं । पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको हाम्रो गाउँपालिकामा सम्झन लायक धेरै कुरा छन् । पर्यटन क्षेत्रको लागि हामीले समितिको गठन गरेका छौं । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज हाम्रो गाउँपालिका भित्र रहेको छ । मनहरी पिस पार्कको पनि निर्माण गरेका छौं । आमा घरको निर्माण भएको छ ।

बुद्ध गुम्बा पर्यटक क्षेत्र भित्र पारेर ६५ फिट अग्लो बुद्ध मुर्ती निर्माण गर्ने काम गरिरहेका छौं । धार्मिक पर्यटकिय क्षेत्रलाई पनि ध्यान दिएर सार्वजानिक सम्पतिहरुलाई घेरबार गरेका छौं । पर्यटकहरुका लागि होमस्टोको पनि व्यवस्था मिलाएका छौं । हाम्रो गाउँपालिका भित्र मठ, मन्दिरहरु पनि रहेका हुनाले आन्तरीक पर्यटकहरुको पनि बाक्लो उपस्थिति हुने गरेको छ ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

युवा रोजगारको लागि भन्दै लघुउद्यम कार्यक्रम सञ्चालन गरेका छौंं । धेरै युवाहरु कृषि पेशामा आवध रहेका छन् । कृषि गरेका युवाहरुलाई अनुदानमा प्लास्टीक टनेल वितरण गरेका छौं । युवा लक्षित गर्दै कृषि र पशुपालनका विभिन्न कार्यक्रम ल्याएका छौं । तालिम अनुसारको युवालाई उत्पादनसँग पनि जोड दिएर तरकारीहरुलाई बजारीकरण गर्ने गरी यो बर्ष ५० जना दक्ष कृषक उत्पादन गर्ने भनेका छौं । गाउँपालिकाले सहकारीलाई अनुदानमा दिने छ भने सहकारी मार्फत युवाले विउ ५ प्रतिशत व्याजदरमा ऋण प्रप्त गर्नसक्ने छन् । प्रदेश सरकारको तर्फबाट साना किसान विकास बैंक मार्फत ३ प्रतिशत व्याजदरमा गाउँकै कृषि सहकारी मार्फत १० लाख रुपैयाँसम्म ऋण पनि पाउँछन् । कृषि विकास बैंक मार्फत् २० लाख रुपैयाँ सम्म उद्योग गर्नको लागि युवाले ऋण लिन सक्छन् ।

गाउँपालिकामा गरिएका विकास निर्माणका कामहरु कत्तिको प्रभावकारी भएका छन् ?

म जनप्रतिनिधिको रुपमा गाउँपालिकामा आईसकेपछि गरेका विकास निमार्णको कामहरु सबै नै प्रभावकारी छन् । जनताको जीवनमा ठुलो परिर्वतन हुने काम भई रहेको छ । विकास राम्रो भएकाले जनताहरु मसँग खुसी नै छन् जस्तो लाग्छ ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ?

स्थानीय सरकार र प्रदेश सरकारबीच हाम्रो समन्वय भएको छ । हाम्रो गाउँपालिका प्रदेश सरकारको नजिकै रहेको छ । प्रदेशबाट गाउँपालिकामा योजनाहरु पनि आउने गरेको छ । प्रदेश सरकारसँग समन्वय गरेर नै विकास निर्माणको कामहरु पनि गरिरहेका छौं । गाउँपालिकाले सोचे अनुसारको नै बजेट तथा योजनाहरु आइरहेको छ ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ?

स्थानीय तहमा काम गर्दा सबै भन्दा बढि कानुनी समस्या छ । साना साना कानुनी अड्चनले विकास निर्माणमा समस्या आउने गर्छ । माननीय भन्नाले विधान, कानुन बनाउने हो । कानुनले कहाँ–कहाँ समस्या प¥यो भनेर माननीयहरुले हामीलाई कहिल्यै पनि सोधेनन् । विकास गर्ने मात्र भनेको छ तर विकास गर्नको लागि कानुनी अवरोध कहाँ छ भन्ने कुराको पहिचान नै भएको छैन । यस्ता कुरालाई चाँडै समाधान गर्नुपर्छ जस्तो मलाई लाग्छ ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ नि ?

केन्द्र सरकारले हामीलाई सहयोग मिलेको छ । मूल बजेटनै केन्द्र सरकारले बाट आउने गरेको छ । हामीलाई विभिन्न क्षेत्रको विकास गर्नको लागि भनेर केन्द्र सरकारले ३० करोड रुपैयाँको वार्षिक बजेट पठाउने गरेको छ । गाउँपालिका भित्रको स्थानीय स्रोत ३० करोड रुपैयाँ बराबरको हुने गरेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.