गाउँपालिकालाई जिल्लाकै सबैभन्दा विकसित बनाएका छौं – अध्यक्ष सुनुवार

  २०७७ फागुन ३ गते १६:४३     विकासन्युज

‘गोकुलगंगा गाउँपालिका’ प्रदेश नं. ३ अन्तर्गत रामेछाप जिल्लाको उत्तर पूर्वी पहाडी भेगमा अवस्थित प्राकृतिक रुपमा सुन्दर एवं हराभरायूक्त गाउँपालिका हो । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ ।

गाउँपालिकाको कार्यालय सदरमुकाम मन्थलीबाट लगभग ४० कि. मि. को दूरीमा पर्ने वडा नं. ३ रस्नालुमा रहेको छ । यो गाउँपालिकाको अधिकाम्स भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । पर्यटकीय क्षेत्रका रुपमा तांबे डाँडा र पाँचपोखरीलाई लिन सकिने यो गाउँपालिका जडिबुटी तथा जलबिधुतको प्रचुर सम्भावना बोकेको क्षेत्र पनि हो । २५ हजार जनसंख्या रहेको यस गाउँपालिकामा ६ ओटा वडा छन् ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के कस्ता छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै सो गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश ।

गाउँपालिकामा कोरोनाले पुर्याएको असर वारे छोटकरीमा बताइदिनुस् न

अन्यत्र झैं कोरोनाले हाम्रो गाउँपालिकामा पनि असर पुर्याएको थियो । सो वेला हामीले ३० बेडको क्वारेन्टिन र ५ बेडको आइसोलेसन कक्ष पनि बनाएका थियौं । मुलुक बाहिर बाट आएका नागरिकलाई हामीले १४ दिनसम्म क्वारेन्टिनमा राखेका थियौं । क्वारेन्टिनमा बसेका नागरिकलाई पीसीआर चेक गरेर घर पठाएका थियौं । कोरोनाले यहाँको शिक्षा क्षेत्र साथै विकास निर्माणका काममा पनि ठूलो असर पुर्यायो । लामो समयसम्म सबै विद्यालयहरु बन्द गरिएका थिए । तर आजको दिनमा भने कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरु पनि सामान्य रुपमा जीवनयापन गरिरहेका छन् ।

गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के होलान् नि ?

हाम्रो गाउँपालिकामा ठुला योजनाहरु खासै धेरै छैन । साना साना योजनाको काम हामी गर्छौं । पुर्वाधारको विकास गर्छौं । कृषि विकासको काम गर्छौं । पर्यटन विकासको काम गर्छौं । टेन्डर प्रकियाबाट हामीले सडकको निर्माण गर्ने काम गरेका छौं । १ करोड रुपैयाँ बराबरको विकास निर्माणको काम उपभोक्ता समितिद्वारा गर्छौं । ४ सय कि. मि. बराबरको सडक निर्माण गरिसकेका छौं । गाउँपालिकाबाट हामीले वार्षिक ८ करोड रुपैयाँ बराबरको बजेट सडक विकासको लागि छुट्याएका छौं । ‘एक घर एक धारा’ अभियान पनि चलाएका छौं । यो आर्थिक वर्षभित्र १७ सय ५० धाराको निर्माण हुँदैछ । करिब २ करोड रुपैयाँको बजेटमा गाउँपालिकाको भवन निर्माण भएको छ । वडा कार्यालय भवन कतै निर्माण हुने क्रममा छ भने कतै निर्माण भइसकेको छ ।

गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

हाम्रो गाउँपालिका कृषिमय बनिसकेको छ । हामी निर्वाचित भएर आइसकेपछि गाउँपालिकामा १८ कृषि पकेट क्षेत्र छुट्याएका छौं । सबै पकेट क्षेत्रका कृषकले तरकारी खेती गरिरहेका छन् । पकेट क्षेत्रमा फरकफरक तरकारी उत्पादन हुने गरेको छ । कृषिमा हामीले अनुदानको पनि व्यवस्था मिलाएका छौं । बाख्रा पालन, भैँसी पालन, किबि तथा तरकारी खेती, चौरीका बाछा खरिदलगायत गर्नका लागि गाउँपालिकाले अनुदानको व्यावस्था मिलाएको छ । कृषि विकासको लागि हामीले ७ करोड रुपैयाँ बजेट छुट्याएका छौं ।

विकास निर्माणको कामहरु गाउँपालिकामा कत्तिको प्रभावकारी भएका छन् ?

प्रभावकारी नै छन् भन्नुपर्छ । रामेछाप जिल्लाको सबैभन्दा विकासमा अगाडि बढेको गाउँपालिका नै हाम्रो गाउँपालिका हो । यही कुराले नै पुष्टि गर्छ कि अहिले सम्म गरिएका विकास निर्माणका कामहरु कत्तिको प्रभावी छन् भनेर ।

तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भईसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ?

म निर्वाचित भएर आईसकेपछि गाउँपालिकामा आमुल परिर्वतन भएको छ । म निर्वाचित भएर आइसकेपछि यहाँको स्वास्थ्य, शिक्षा, खानेपानी, सडक लगायतका क्षेत्रमा निक्कै सुधार आएको छ । हामीले १५ बेडको अस्पतालको उद्घाटन गरेका छौं । गाउँपालिकाको भवन निर्माण भएको छ । ४ सय कि.मि सडको निर्माण भएको छ । खानेपानीको पनि राम्रो व्यवस्था भएको छ । मठ, मन्दिर, गुम्बाको निर्माण गरेका छौं । विद्यालय भवनको निर्माण भएका छन् । गुणस्तरीय शिक्षाको प्रकिया अगाडि बढाइरहेका छौं ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

हाम्रो गाउँपालिकाका धेरै युवाहरु कृषि पेशामा आवद्ध छन् । हामीले केही युवाहरुलाई सडक लगायतका विकास निर्माणको काममा रोजगारी दिएका छौं । ठाउँ तथा अवस्था हेरी बाख्रा पालन अथवा खेती गर्न हौसला प्रदान गरेका छौं ।

तपार्इंको पालिकामा सवैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ?

ठुलो उद्योग त हाम्रो पलिकामा छैनन् भन्दा पनि हुन्छ । कृषि सम्वन्धी उद्योगहरु चाहिँ यहाँ धेरै छन् । ८ सय भन्दा बढि कृषि उद्योगहरु हाम्रो गाउँपालिकामा दर्ता भएका छन् । ५ हजार रोपनि क्षेत्रफलमा आलुको खेती हुन गइरहेको छ ।

गाँउपालिकामा कस्तो किसिमको योजनालाई प्राथमिकता दिएर काम गरिरहनु भएको छ ?

हामीले ५ वर्षको योजना बनाएका थियौं । हाम्रो गाउँपालिकाले विशेष गरेर स्वास्थ्य, शिक्षा, कृषि अनि पर्यटनलाई बढी प्रथमिकतामा राखेको छ ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ?

स्थानीय तह र प्रदेश सरकारबीच समन्वय राम्रै छ । तर, अहिलेको संघीय संरचना, एकल, साझा अधिकारको स्पष्ट रुपमा प्रयोग चाहिँ भएको छैन । विकास बजेट भन्दै प्रदेश सरकारबाट २५ करोड रुपैयाँ आउने गरेको छ भने बाँकि सामाजिक सुरक्षा भत्ता, शिक्षक, कर्मचारी लगायतको तलब जोडेर जम्मा ६० करोड रुपैयाँको बजेट छ ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ?

बेलाबेलामा समस्या हरु देखा त परिनै हाल्छन् । यो वर्ष कोभिडको समस्या भयो । त्यो भन्दा पहिला कर्मचारीको अभाव थियो । जनतालाई सेवा दिने कार्यालय भवन थिएन । वर्खा याममा बाढि पहिरोको समस्याले विकास निर्माणको काममा पनि असर गरिरहेको हुन्छ । तरपनि यी सबै समस्याको समधान स्थानीय तहले गरेर अघि बढिरहेकै छ ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकारले हामीलाई ठुला आयोजनामा खासै सहयोग पुर्याएको छैन । १८ सय मेगावाट विद्युत उत्पादन हुने क्षेत्र रहेको छ । फलाम खानी छ । फलाम खानीले नेपालाई २० वर्षसम्म स्टीलको माग पुर्याउन सक्छ । १० लाख मेट्रिक टनभन्दा बढी फलाम खानी छ । यस क्षेत्रमा प्रदेश सरकारको ध्यान गयो भने मात्र विकास हुने हो । स्थानीय सरकारले त सानासाना काम मात्र गर्ने हो ।

तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ?

‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषि र पशुपालनलाई नै जोड दिन्छु ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ?

पर्यटन क्षेत्रको विकासका खातिर हामीले प्रचारप्रचार गरिरहेका छौं । पाँचपोखरी सम्म जानको लागि हामीले सडकको निर्माण गरेका छौं । तांबे डाँडामा मन्दिरको निर्माण गर्ने र डीपीआर गर्ने काम भइरहेको छ । पर्यटकको लागि गाउँपालिकामा होमस्टे तथा होटल सञ्चालन भएका छन् । आरसीसी भवन भएका होटललाई सञ्चालन गर्नेलाई पनि अनुदानको व्यावस्था मिलाएका छौं । गाउँपालिकामा सञ्चालन हुने साना उद्योगलाई प्रोत्साहन गर्ने काम पनि गरिरहेका छौं । गाउँपालिकामा हजारौंको संख्यामा पर्यटकहरु आउने गरेका छन् । स्वच्छ हावापानी भएकाले पनि हाम्रो गाउँपालिका धेरै पर्यटकहरुको मन लोभ्याउन सफल छ ।

तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ?

म त एकदम सन्तुष्ट छु । सायद यहाँका नागरिकहरु सन्तुष्ट भएकाले मलाई पनि सन्तुष्टि मिलेको हुनसक्छ । समग्र हिसाबले हेर्ने हो भनेपनि हामीले राम्रो काम नै गरेका छौं जस्तो लाग्छ ।

तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?

मेरो कार्यकालमा यो गाउँपालिका कृषिमय बन्छ । स्वास्थ्य अनि शिक्षा क्षेत्रलाई राम्रो बनाउने हो । कृषिलाई आधुनिकारण गर्ने योजना पनि मैले बनाएको छु । यसका साथै पूर्वाधार विकासमा पनि हामीले जोड दिएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.