चौंरीदेउराली गाउँपालिका जसको अधिकांश बजेट कृषि र स्वास्थ्यमा

  २०७७ फागुन २ गते १४:१४     विकासन्युज

काभ्रेपलाञ्चोक जिल्लामा पर्ने चौंरीदेउराली गाउँपालिका नेपालको संघीय संरचनाअनुरुप वि.सं. २०७३ सालमा स्थापना भएको एउटा रमणीय स्थानीय तह हो ।

कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवंं प्राकृतिकरुपले पनि फरक विशेषता बोक्न सफल छ ।

९९ दसमलव ५४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको पूर्वमा रामेछापको सुनपाति र दोरम्बा गाउँपालिका, पश्चिममा काभ्रेको भुम्लु गाउँपालिका, उत्तरमा लिसंखुपाखर गाउँपालिका र दक्षिणमा भने सुनकोशी पारीको तेमाल गाउँपालिका रहेको छ । वि.सं. २०६८ को जनगणना अनुसार यस पालिकामा ४ हजार ६ सय ६४ घरपरिवारको वसोवास रहेको छ भने यहाँको जनसंख्या चाहिँ २० हजार ८ सय २९ रहेको छ । चारओटा मुख्य देउराली रहेको यस पालिकाका सबै गाउँवस्तीहरुलाई चौंरी थुमका आधारमा पुकारिँदै आएको ऐतिहासिक तथ्य पाइन्छ । यस पालिकाको नामकरण पनि त्यही चौंरी र देउराली शब्दलाई जोडेर गरिएको छ ।

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भइरसले यो गाउँपालिकामा पनि सामान्य असर पुर्यायो । यहाँका केहि नागरिकलाई पनि कोरोनाको संक्रमण भएको थियो । महामारीको समयमा गाउँपालिकाले ३० बेडको क्वारेन्टिन बनाएको थियो भने नजिकैको धुलिखेल अस्पतालमा आइसोलेसन कक्षको व्यावस्था मिलाएको थियो । कोरोनाले यहाँको शिक्षा क्षेत्र साथै विकास निर्माणका काममा भन नराम्रै असर पुर्यायो । सारा नेपाल लकडाउन भएको समयमा गाउँपालिका भित्रका सबै विद्यालय बन्द गर्नुपरेको थियो । हाल भने गाउँपालिकामा कोरोनाको प्रभाव घट्दै गएको छ र यहाँको जनजीवन पनि सामान्य बन्दै गएको छ ।

स्वास्थ्यको पहुँच सबै नगरिकसम्म पुगोस् भन्ने हेतुले गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा ६ करोड रुपैयाँ बराबरको अस्पतालको निर्माण गरेको छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा ‘एक घर एक धारा’ को अभियानै चलाएको छ । चौंरी खेलाको पानी लिफ्टीङ गरेर खानेपानीको व्यावस्था मिलाएको गाउँपालिकाले सडक निर्माणको कामलाई पनि तिव्रता दिएको छ । विकास निर्माणको सम्भावना धेरै रहेको यस गाउँपालिकाका सबै वडामा सडक तथा विद्युत पुगिसकेको छ ।

व्यापक मात्रामा पर्यटकिय क्षेत्रहरु रहेको यस गाउँपालिकामा युवा रोजगारको लागि भनेर प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको छ । उद्यम विकासको लागि कोटाको दर्ता भइरहेको छ भने युवालाई करारमा भर्ना पनि गरिँदै आएको छ ।

कोरोनाकाल पछि गाउँपालिकाले कृषि र स्वास्थ्यमा धेरै बजेट छुट्याएको छ । धान, गहुँ तथा मकै राम्रैसँग उत्पादन गरिरहेको यस पालिकाका कतिपय युवाहरु भने तरकारी खेती, माछापालन, बाख्रापालन, मौरीपालन लगायतका पेशा अँगालिरहेका छन् । यसका साथै गाउँपालिकाले फलफुलका विउ उत्पादन र पशुपालनमा पनि जोड दिँदै आएको छ । गाउँपालिकाले कृषकलाई तरकारीको विउमा ५० प्रतिशत अनुदान दिदै आएको छ । यहाँ खासै ठुला उद्योगहरु भने रहेका छैनन् ।

यस गाउँपालिकामा निर्माण भई सकेको अस्पताल, सडक तथा खेल मैदानमा प्रदेशले भुमिका खेलेको भएपनि अन्य क्षेत्रमा भने प्रदेश सरकारको खासै प्रभावकारी भुमिका देखिएको छैन ।

गाउँपालिकाले विकास निर्माणको काम गर्दा सामान्य समस्या आई पर्ने गर्दछन् । सरकारी जमीनको अभाव र निजी जमिनको क्षेत्र बढि भएकाले सडको निर्माण गर्नु पर्दा समस्याहरु देखा पर्ने गरेको छ ।

यस गाउँपालिकालाई केन्द्र सरकारले भने राम्रै सहयोग पुर्याएको पाइन्छ । विकास निर्माणको काममा यो वर्ष २३ करोड ६४ लाख रुपैयाँ बजेट गाउँपालिकामा पठाएको छ ।

जनप्रतिनिधीहरु तर्फ कुरा गर्नु पर्दा यस गाउँपालिकाका अध्यक्ष दिननाथ गौतम हुनुहुन्छ भने उपाध्यक्ष चाहिँ तारा कुमारी चौलागाईं हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.