लुम्बिनीबाट डेपुटी सीईओ तानेको भोलिपल्ट जीआईसीमा स्पष्टीकरण पत्र दर्ता, आरोप नक्कली बीमा पोलिसीको

  २०७७ माघ ३० गते ९:०४     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धा मौलाएकोमा बीमा कम्पनीका उच्च व्यवस्थापकहरु चिन्तित छन् । व्यवसाय विस्तारमा मात्र होइन, जनशक्ति व्यवस्थापनमा पनि अस्वस्थ्य प्रतिस्पर्धा हुँदै आएको छ ।

पछिल्लो उदाहरण हो जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) र लुम्बिनी इन्स्योरेन्स कम्पनीबीचको तनाव । जनरल इन्स्योरेन्स कम्पनीले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रामचन्द्र श्रेष्ठलाई तान्ने निर्णय गरेसँगै दुई संस्थाबीच तनाव बढेको हो ।

जनरल इन्स्योरेन्सले डेपुटी सीईओमा रामचन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय चुहिएर सार्वजनिक भएपछि श्रेष्ठले लुम्बिनी जनरल इन्स्योरेन्समा राजीनामा दिएका छन् । काम गरिहेको कम्पनीबाट राजीनामा नगर्दै अर्को कम्पनीमा नियुक्त सम्बन्धि समाचार प्रकाशित भएपछि श्रेष्ठले असहज महसुश गरेका छन् ।

उनले लुम्बिनीबाट राजीनामा त दिएका छन् तर कम्पनीले उनको राजीनामा स्वीकृत गरेको छैन । राजीनामा स्वीकृतमा लुम्बिनीबाट ढिलाई हुँदै गर्दा श्रेष्ठ र जनरल इन्स्योरेन्स दुबैलाई परिस्थिति असहज बन्दै गएकाे छ ।

यहि तनावका बीच नक्कली बीमा पोलिसी सम्बन्धि पुरानो फाइल लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले व्यूताएको छ । त्यसमा जनरल इन्स्योरेन्स कम्पनीमा कार्यरत एक कर्मचारी मुछिएका छन् । १८ महिनाअघिसम्म पुरी लुम्बिनी जनरल इन्स्याेरेन्समा कार्यरत थिए  ।

घट्ना २०७५/७६ सालको हो । लुम्बिनी जनरल इन्स्योरेन्सको ललितपुर शाखा प्रमुख तिर्थराज पुरीले जारी गरेको दुई वटा बीमा पोलिसीमा अहिले विवाद भएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यलय ललितपुरले एएम कन्स्ट्रक्सनलाई दिएको एक निर्माण ठेक्कको बीमा गर्दा ४ लाख २० हजार रुपैयाँ बीमा शुल्क पर्ने बीमा पोलिसी जारी गरेको तर लुम्बिनी जनरल इन्स्योरेन्सको खातामा ३ लाख १२ हजार रुपैयाँ मात्र दाखिल भएको छ । त्यसमा एक लाख ८ हजार रुपैयाँ हराएको छ ।

त्यस्तै, पुर्ननिर्माण प्राधिकरणले एएम जेभी कन्स्ट्रक्सनलाई दिएको एक निर्माण ठेक्काको बीमा लेख पनि विवादमा परेको छ । करिब १२ लाख ७ हजार रुपैयाँ बीमा शुल्कको बील जारी भएको तर कम्पनीको खातामा १० लाख १७ हजार रुपैयाँ मात्र जम्मा भएको विषय विवादमा आएको हो । करिव १ लाख ८९ हजार रुपैयाँ कसरी हरायो ? भनेर लुम्बिनी जनरल इन्स्योरेन्सले छानविन शुरु थालेको छ ।

त्यहि विषयमा छानविनको क्रममा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले जीआईसीमा कार्यरत एक कर्मचारी तिर्थराज पुरीसँग स्पष्टीकरण सोधेको छ ।

‘मैले स्पष्टीकरण दिईसकेको छु । त्यसमा मेरो कुनै गल्ती छैन’ पुरीले विकासन्युजसँग भने ‘मैले लुम्बिनीमा जागिर छोड्दा पनि समास्या सिर्जना गरिएको थियो । अहिले रामचन्द्र श्रेष्ठ जीआईसीमा आउने भनेपछि फेरी विवाद झिक्ने काम गरिएकाे जस्तो लाग्छ ।’

‘दुई बीमा लेखको बीमा शुल्क बील रकम र सिस्टममा जम्मा भएको रकम फरक देखिएपछि स्पष्टीकरण सोधिएको हो । गलत नियतले होइन’ लुम्बिनी इन्स्योरेन्स सम्बद्ध स्रोतले भन्यो -‘बीमा पाेलिस र बीममा एउटा रकम उल्लेख भएकाे छ, सिस्टममा त्याे भन्दा कम रकम जम्मा भएकाे छ । बद्मासी भएकाे प्रष्ट देखिएपछि अनुसन्धान थालिएकाे हाे ।’

पुरीले २०७६ भदौमा लुम्बिनी जनरल इन्स्योरेन्सबाट राजीनामा दिएका थिए । हाल उनी जीआईसीमा प्रबन्धक पदमा कार्यरत छन् । त्यतिबेला सबै हिसावकिताव लुम्बिनीका  डेपुटी सीईओ विके श्रेष्ठलाई बुझाएर कम्पनी छोडेको उनको भनाई छ ।

उक्त बीमा पोलिसी खरिद बिक्रीमा आर्थिक अनियमिता नभएको एएम जेभी कन्स्ट्रक्सनका राजन बस्नेतको दावी छ । ‘लुम्बिनीले हामीलाई सस्तो र महँगो दुई पोलिसी प्रस्ताव गरेको थियो । हामीले सस्तो बीमा पोलिसी लियौं । त्यसमा जोखिम पनि कम कभर हुने सर्तहरु थिए’ बस्नेतले भने–हामीले सस्ताे पोलिसी लियौं, थोरै प्रिमियम तिरेका हौं । यसमा विवाद केही छैन ।’

दुबै बीमा पोलिसीको करार अवधि सकिसकेको र त्यसमा कुनै पनि प्रकारका बीमा दावी आफूहरुले नगरेको उनले बताए । कम्पनी र कर्मचारीको विवादमा आफू पर्न नचाहेको उनले बताए ।

लुम्बिनीले पुरीलाई मुलुकी आचार संहिता २०७४ अनुसार किन कारवाही नगर्ने भनी ७ दिनको भ्याद राखेर प्रष्टिकरण सोधेको छ । पुरीले त्यसकाे जवाफ दिइसकेकाे बताएका छन् ।

बीमा क्षेत्रमा बीमा पोलिसी जारी गर्ने तर बील र रकम दुबै लेखा प्रणालीमा नराख्ने, नक्कली बीमा लेख जारी गर्ने, कुनै पनि विवरण कम्पनीको प्रणालीमा नराख्ने, बीमा शुल्क कर्मचारी कम्पनीको खातामा नराखी आफ्नो खल्तीमा राख्ने जस्ता समस्या बेलाबेलामा उजागर हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.