युवाले राम्रो प्रोजेक्ट ल्याउँछन् भने सुलभ दरमा ऋण दिन्छौं- अध्यक्ष धितालसँगको कुराकानी

  २०७७ माघ २९ गते २०:२५     विकासन्युज

नेपालको गण्डकी प्रदेश अन्तर्गतको गोरखा जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाउँपालिका हो ‘अजिरकोट गाउँपालिका’ । यस गाउँपालिकाको क्षेत्रफल १ सय ९८ दसमलव ५ वर्ग कि.मि रहेको छ भने यहाँको जनसंख्या भने २४ हजार ८ सय २ रहेको छ । ५ ओटा वडा रहेको यस गाउँपालिकाको सिमाना पूर्वमा सुलीकोट गाउँपालिका, पश्चिममा मलम्जुङ्ग जिल्ला, उत्तरमा चुमनुब्री गाउँपालिका र दक्षिणमा सिरानचोक गाउँपालिकासम्म रहेको छ । थोरै समथर टारहरु र अधिकांश पहाड हरियाली वातवरण र स्वास्थ्य हावापानी रहेको यो गाउँपालिकाको मुख्य नदीको रुपमा दरौंदी र चेपे रहेका छन् ।

सांस्कृतिक दृष्टिले समेत सबै जात, जाती, वर्ग र समुदायको संयुक्त बसोवास यो गाउँपालिकामा रहेको छ । यार्सागुम्बा, रथविरथ, पाँचऔले, नटामासी, कडुकी, सदुवा, निरमासी जस्ता औषधीजन्य जडीबुटी यो गाउँपालिका भित्र पाइन्छ । प्रकृतिक सम्पदा र मानवीय साधन स्रोतको समुचित परिचालन गरेको यो गाउँपालिका सफा, सुन्दर र समृद्ध पनि रहेको छ ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु केके रहेका छन्, जनप्रतिनिधि निर्वाचित हुनु भन्दा अघि र भईसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन्, युवालाई रोजगारीको अवसर गाँउपालिकाले कसरी सृजना गरिरहेको छ भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष फणिन्द्र प्रसाद धितालसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश ।

गाउँपालिकामा कोरोनाले पुर्याएको असर तथा हालको अवस्ता कस्तो छ नि ?

हाम्रो गाउँपालिकामा कोरोनाले सामान्य असर पुर्याएको छ । गाउँपालिकाका केहि स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको थियो । हामीले गाउँपालिकामा सामुदायिक भवनलाई क्वारेन्टिन बनाएका थियौं । कोरोनाले यहाँको शिक्षा क्षेत्रका साथै विकास निर्माणको काममा पनि नराम्रो असर पुर्यायो । लकडाउनको समयमा गाउँपालिका भित्रका सबै विद्यालयहरु बन्द भएका थिए । तर हाल गाउँपालिकाको सबै विद्यालय सञ्चालनमा आइसकेको छ । सर्वसाधारणहरु पनि सामान्यरुपले जीवनयापन गरिरहेका छन् ।

गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के-के छन् नि ?

गाउँपालिकाको भवन निर्माण गरेका छौं । २ करोड रुपैयाँको बजेटमा वडा भवन निर्माण भएको छ । सबै वडा कार्यालय भवनको निर्माण गरेका छौं । टोलटोल सामुदायिक बस्तीमा ३५ ओटा भवनको निर्माण गरेका छौं । गाउँपालिका भित्र रहेका सबै टोलमा सडक पुगेको छ । यतिमध्ये पनि यहाँका ठूला योजनाको रुपमा सडक विकासलाई नै लिन सकिन्छ ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ?

हाम्रो गाउँपालिका आफैंमा एउटा पर्यटकीय क्षेत्र पनि हो । पर्यटनको लागि बजेट पनि छुट्याएका छौं । गत साल ६० लाख रुपैयाँ बजेट छुट्याएका थियौं । हामीले गाउँपालिका भित्र मठ मन्दिरको पनि निर्माण गरेका छौं । गाउँपालिका भित्र होमस्टेको स्थापना पनि भइरहेको छ । भुमेथान मन्दिर पनि धार्मिक दृष्टिकोणले महत्वपुर्ण छ । नागपोखरी गाउँपालिका आफैंमा भ्युटावर छ । मुख्य पर्यटक गन्तव्यको रुपमा नागपोखरीलाई नै राखेका छौं । काठमाडौं बाट मात्र ४ घण्टामै हाम्रो गाउँपालिका आउन सकिन्छ । गाउँपालिकाबाट गणेश हिमाल पनि देख्न सकिन्छ ।

गाउँपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ ?

कृषि विकास गर्नकै लागि भनेर हामीले पशुपालन र तरकारी खेतिमा जोड दिएका छौं । यहाँका धेरै मानिसहरु कृषि पेशामा आवद्ध रहेका छन् । १ करोड २० लाख रुपैयाँ बजेट कृषि विकासका लागि छुट्याएका छौं । कृषिलाई आधुनिकिकरण गर्न लागिपरेका छौं । कम्पोष्ट मल बनाउने, भकारो सुधार गर्ने, पशुपालन गर्ने किसानलाई अनुदान दिने पनि भनेका छौं । सकभर किसानलाई जमीन बाँझो नराख्न आग्रह गरेका छौं । किसानको लागि भनेर हामीले अनुदानको पनि व्यवस्था मिलाएका छौं । धान, मकै कोदो, गहुँ, आलु, आदी हाम्रो गाउँपालिकामा उत्पादन हुने गरेको छ । खेती गर्ने किसानको लागि सिँचाईको राम्रो व्यवस्था छ । कृषि पकेट क्षेत्र पनि छुट्याएका छौं । हामीले गाउँपालिकामा हुने उत्पादन अनुसार पकेट क्षेत्र छुट्याएका छौं ।

गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ?

विकास निर्माणको कामहरु प्रभावकारी नै भइरहेको छ । जनप्रतिनिधिको रुपमा गाउँपालिकामा आइसकेपछि गरेका विकास निर्माणको काम प्रभावकारी नै भएका छन् । विकास राम्रो भएकाले जनताहरु मसँग खुसी छन् ।

तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भईसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ?

म निर्वाचित भएर आईसकेपछि गाउँपालिकामा धेरै परिर्वतन आएको छ । निर्वाचित हुनु भन्दा अगाडि गाउँपालिकाका सबै ठाउँमा सडक पुगेको थिएन । कच्ची सडक धेरै थिए । यातायात सञ्चालन गर्न पनि कठीन थियो । मानिसहरु यातायात सञ्चालन नभएको कारण धेरै हिँडेर आफ्नो गन्तव्यसम्म पुग्नुपर्ने अवस्था थियो । वडा भवनको निर्माण भएको थिएन । बजेटको आकार सानो थियो । स्वास्थ्य सेवा तर्फ पनि नागरिकको राम्रो पहुँच थिएन । कर्मचारीहरु थेरै थिए । खानेपानीको राम्रो व्यवस्था थिएन ।

म निर्वाचित भएर आईसके पछि गाउँपालिकाको स्वास्थ्य, शिक्षा, खानेपानी, सडक आदिमा परिवर्तन आएको छ । विकास निर्माणको काम गरेका छौं । सडक निर्माणको काम भईनै रहेको छ । स्वास्थ्य सेवा सञ्चालन भएको छ । मेगा प्रोजेक्टको रुपमा ‘एक घर एक धारा’ रहेको छ । विद्युत थोरै ठाउँ वाहेक सबै वडामा पुगेको छ । विद्यालय भवनको निर्माण भएका छन् । गुणस्तरीय शिक्षा सिकाई प्रकिया अगाडि बढाई रहेका छौं । त्यसैले पहिलेको तुलनामा अहिले धेरै फरक र परिर्वतन आइसकेको छ ।

तपाईं निर्वाचित भएको ३ बर्ष पुरा हुँदा गाउँपालिका भित्र सम्झिन लायक काम के–के रहेका छन् नि ?

सम्झिन लायक काम धेरै रहेका छन् । मठ मन्दिरको निर्माण गरेका छौं । खेलकुदको विकासको लागि खेल मैदान निर्माण गरेका छौं । खानेपानीको राम्रो व्यवस्था मिलाएका छौं । सडक नुगेको ठाउँमा सडक पुर्याएका छौं । स्वास्थ्य चौकी सबै वडामा सञ्चालन गरेका छौं । गाउँपालिकाको भवनको निर्माण भएको छ । सडको कालोपत्रे भइरहेको छ । कतैकतै भने कालोपत्रे हुने क्रममा रहेको छ ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ?

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय भई रहेको छ । योजनाको माग र अनुगमनको बारेमा नीति गत प्रस्टता हुनु पर्छे भनेर प्रदेश सरकारलाई भनेका छौं । विकास निर्माणको काममा पनि प्रदेश सरकारसँग हामी समन्वय गरिनैरहेका छौं ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के-के आई पर्छन् नि ?

नीतिगत काममा सामान्य समस्या छ । विकास निर्माणका काममा पनि यदाकदा समस्या आउँछन् । जनताको अपेक्षा, इच्छा धेरै छ त्यसैले अलिअलि समस्या आउनु त सामान्य कुरा नै हो ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकारबाट राम्रै सहयोग मिलिरहेको छ ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

युवाहरुलाई लक्षित गर्दै १० लाख रुपैयाँ बजेट छुट्याएका छौं । युवाले राम्रो प्रोजेक्ट ल्याएका वेला सुलभ दरमा ऋण पनि उपलब्ध गराएका छौं । हाम्रो गाउँपालिकाका धेरैजसो युवाहरु कृषि पेशामा आवद्ध रहेका छन् । युवाहरुले पशुपालन, खेति, कुुखुरा पालन पनि गरेका छन् । युवालाई अनुदानको पनि व्यवस्था हामीले मिलाएका छौं । केहि युवाहरुलाई भने विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ?

ठुलो उद्योग त हाम्रो पलिकामा छैन । यहाँ गरिने प्रमुख पेसा भनेको खेती किसानी नै हो । केही कृषकहरुले भने कुखुरा पालन, बाख्रा पालनजस्ता कामहरु पनि गरिरहेका छन् ।

सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन हो नि ?

सामान्य ठुङगा, गिटी, बालुवा जस्ता कुराहरु बाट कर संकलन हुने गरेको छ । पसल कर संकलन हुने गरेका छ ।

तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ?

‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषिलाई नै जोड दिन्छु ।

तपाईंले गरेको कार्य प्रति तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ?

म सन्तुष्ट नै छु । विकास निर्माणको काम पनि प्रभावकारी भएकोले होला नगारिकहरु पनि म सँग सन्तुष्ट नै रहेको पाउँछु ।

तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?

मैले काम गरेको अवधिमै गाउँपालिकालाई विकसित बनाउने योजना छ । सकेसम्म गाउँपालिकामा सबै सडकलाई ग्राबेल गर्ने हो । स्वास्थ्य, शिक्षा राम्रो बनाउने हो । कृषिलाई आधुनिकारण गर्ने योजना पनि मेरो रहेको छ । यसका साथै पूर्वाधार विकामा पनि हामीले जोड दिएका छौं । जन्ताको इच्छा र चाहाना पुरा गर्ने मेरो योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.