गाउँपालिकामा ‘एक घर एक धारा’ भन्ने अभियानै चलाएका छौंं – अध्यक्ष गुरुङ्ग

  २०७७ माघ २८ गते २१:१५     विकासन्युज

गण्डकी प्रदेश अन्तर्गतको लमजुङ जिल्लामा पर्ने ‘दुधपोखरी गाउँपालिका’ एउटा सुन्दर गाँउपालिकाको रुपमा परिचित छ । सामुद्रीक सतहदेखि ४ हजार ३ सय मिटरको उचाईमा अवस्थित यो गाउँपालिकाको नाम भने यसै क्षेत्रमा रहेको दुधपोखरी कुण्डबाट साभार गरिएको हो । हिमालको काखमा रहेको दुधपोखरी धाम लमजुङको मात्र नभई देशकै पवित्र तीर्थस्थलको रुपमा पनि प्रसिद्ध छ । १ सय ५५ दशमलव ३३ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकामा ६ ओटा वडा रहेका छन् भने यहाँको कूल जनसंख्या १० हजार ९ सय ७५ रहेको छ ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कसरी भूमिका खेलेको छ भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष छुपीमाया गुरुङसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश ।

गाउँपालिकामा कोरोनाले पुर्याएको असर वारे केही बताइदिनुहोस् न

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि निक्कै असर पुर्यायो । सो वेला नियमित औषधि खानुपर्न विरामीहरुलाई निःशुल्क औषधी वितरण गरेका थियौं । गाउँपालिका भित्रका सबै वडामा क्वारेन्टिन स्थापना गरेका थियौं । गाउँपालिकाभित्र ५ बेडको आइसोलेसन कक्ष व्यवस्थित तरीका बाट निर्माण गरेका थियौं । विदेश र बाहिरी जिल्लाबाट आएकालाई हामीले १४ दिनसम्म क्वारेन्टिनमा राखेका थियौं । कोरोनाले शिक्षाका साथै विकास निर्माणका काममा पनि असर पुर्यायो । तर अहिलेको अवस्था भने सामान्य भइसकेको छ ।

गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के छन् नि ?

गाउँपालिका भित्र ठुलो योजनाको रुपमा खानेपानी योजना रहेको छ । ३ करोड रुपैयाँ बराबरको बजेटमा यो योजनातर्फ काम भइरहेको छ । विद्युतको योजना पनि छ । करिब २ करोड रुपैयाँको बजेटमा विद्युतको काम पनि भई रहेको छ । करिब ७ करोड रुपैयाँ बजेट सडक निर्माणका लागि छुट्याएका छौं । शैक्षिक विकासको लागि १ करोड रुपैयाँ बजेट छ भने स्वास्थ्य क्षेत्रमा १ करोड २० लाख रुपैयाँ बजेट छ ।

गाउँपालिकामा गरिएका विकास निर्माणका कामहरु कत्तिको प्रभावकारी भएका छन् जस्तो लाग्छ ?

गाउँपालिकामा अहिलेसम्म भएका विकास निर्माणका कामहरु प्रभावकारी नै छन् ।

तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भईसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ?

म निर्वाचित भएर आईसकेपछि गाउँपालिकामा धेरै परिर्वतन आएको छ । निर्वाचित हुनुभन्दा अगाडि गाउँपालिकाको सबै ठाउँमा सडक पुगेको थिएन । खानेपानीको राम्रो व्यवस्था थिएन । बजेटको आकार सानो थियो । स्वास्थ्य सेवातर्फ सर्वसाधारणको पहुँच खासै थिएन । कर्मचारीहरु थेरै थिए । नीति नियम कानुन राम्रो थिएन । विद्यालयका भवनहरु व्यवस्थित थिएनन् ।
म निर्वाचित भएर आइसकेपछि गाउँपालिकाको स्वास्थ्य, शिक्षा, खानेपानी, सडक लगायतका क्षेत्रमा व्यापक परिवर्तन आएको छ । विकास निर्माणका निक्कै काम गरिसकेका छौं । सडक निर्माणको काम भईनै रहेको छ । प्रथामिक स्वास्थ्य सेवा सञ्चालन भएको छ । गाउँपालिका भित्र ३० वटा विद्यालयहरु छन् । विद्यालय भवनको निर्माण भएको छ । ‘एक घर एक धारा’ अभियानै चलाएका छौंं । यिनै तथ्यहरुले पनि मेरा कुरालाई पुष्टि गर्छ ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

रोजगारी दिनको लागि गाउँपालिकामा ठुला ठुला कलकारखाना रहेको छैन । तर सिप अनि क्षमताअनुसार युवालाई कृषि विकास र पशुपालनमा लगाएका छौं । विकास निर्माणको काममा पनि धेरै युवाहरुलाई लगाएका छौं । युवाको लागि कार्यक्रम पनि छुट्यााएका छौं । युवालाई तालिम, सिप लगायत दिनको लागि १ करोड रुपैयाँ बजेट छुट्याएका छौं ।

गाउँपालिकाले कृषि विकासका क्षेत्रमा के–कसरी काम गर्दै आएको छ ?

हामीले कृषि क्षेत्रको विकासका लागि भनेर धेरै काम गर्दै आइरहेका छौं । यहाँका धेरैजसो नागरिकहरु खेती गर्छन् । हामीले कृषि विकासको लागि अनुदानको व्यवस्था मिलाएका छौं । यहाँ कृषि प्राविधिकहरु पनि रहेका छन् । मकै, धान, कोदो जस्ता उत्पादन गाउँपालिकामा हुने गरेको छ । केहि विउहरु निःशुल्क रुपमै वितरण गर्दै आएका छौं । बेमौसमी तरकारीको विउ गाँउपालिकाले निःशुल्क उपलब्ध गराउँदै छ । हाम्रो गाउँपालिकामा आलुको उत्पादन मनग्गे हुने गरेको छ । आलुको विउ हामीले ५० प्रतिशत अनुदानमा दिएका छौं । कृषकको लागि कृषि सम्बन्धि तालिमको योजना बनाएका छौं । गाँउपालिकाले सकेसम्म कृषिलाई आधुनिकिकरण गर्ने सोच बनाएको छ । कृषकहरुले पशुपालन पनि गर्ने गरेका छन् ।

तपार्इंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ?

हाम्रो गाउँपालिका ठुला व्यापारीक कम्पनीे त छैनन् नै तर उद्योगको रुपमा भने कृषि उद्योग रहेको छ । कृषकले कुखुरा, भेडा, भैँसी पालन गरेका छन् ।

तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ?

‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषिलाई नै जोड दिन्छु । पशुपालनमा पनि जोड दिन्छु ।

तपाईंको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?

मेरो कार्यकालमा गाँउपालिकालाई फरक र अरु गाउँपालिकाका भन्दा विकसित बनाउने योजना रहेको छ । तर सिमित बजेट छ । गाँउपालिकामा रहेका हरेक स्वास्थ्य चौकी सञ्चालन भएका छन् । शिक्षासम्मको पहुँच सबैलाई सहज होस् भन्ने मेरो योजना रहेको छ । गाँउपालिकाका नागरिकको अवश्यकता पनि पुरा गर्ने सोच बनाएका छौं । स्वास्थ्य अनि शिक्षा क्षेत्रलाई राम्रो बनाउने योजना छ ।

तपाईंले गरेको कार्य प्रति तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ?

म सन्तुष्ट नै छु । मैले गरेको कममा जनताको गुनासो आउने गरेको छैन । नगारिकहरु सन्तुष्ट भएकोले पनि होला म पनि सन्तुष्ट भएको ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ?

खासै ठुलो समन्वय त भएको छैन भन्दा पनि हुन्छ । प्रदेश सरकारबाट समपुरक बजेट आउने गरेको छ । विकास निर्माणको काममा सामान्य सहयोग मिलेको भएपनि ठुलो योजना तथा कार्यक्रमहरु प्रदेश सरकारले ल्याउन सकेको छैन ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ?

स्थानीय तहमा काम गर्दा सामान्य समस्या आई पर्छ । विकास निर्माणका काममा पनि समस्या आउँछ । जनताको अपेक्षाको तुलनामा बजेटको आकार भने सानो छ । विकासनिर्माणका धेरै कामहरु गर्न बाँकी नै छ । धेरै ग्रामीण भुभाग रहेकोले गाउँपालिकामा जनसंख्या थोरै छ । नेपाल सरकारले जनसंख्याको आधारमा बजेट पठाउने गरेको छ । स्थानिय स्रोत साधनको कमी छ ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

जनसंख्याको आधारमा बजेट आउने गरेको छ । समपुरक बजेट पठाउने गरेको छ । केन्द्रबाट हामीले सोचे अनुसारको बजेट आउने गरेका छैन । विकास निर्माणको काममा केन्द्रले धेरै सहयोग पुर्याएको छैन । ठुला कार्यक्रम र योजना केन्द्र सरकारले ल्याउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.