यसरी अगाडि बढ्दैछ नेपाल टेलिकम: एमडी अधिकारीको विचार

  २०७७ माघ २३ गते १४:१३     डिल्ली राम अधिकारी

मुलुकमा दूरसंचार सेवाको शुरुवात, विकास र विस्तारको एक शताव्दि भन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था वि.सं. २०६० माघ २२ गते “कम्पनी”  मा रुपान्तरण भए पश्चात नेपाल टेलिकम आज आफ्नो कम्पनी स्थापनाको १७ औं वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ। यस यात्रामा शुभकामना, सहयोग र सद्भाव प्रदान गरी निरन्तर हौसला दिनु हुने नेपाल सरकारका निकायहरु, नियामक निकाय, कम्पनीका ग्राहकवर्ग, शेयरधनी, सेवा सञ्चालनमा सहयोग पुर्‍याउने आपूर्तिकर्ता लगायत विभिन्न निकायहरु तथा शुभेच्छुक महानुभावहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयात्राको अपेक्षा गर्दछु।

गत वर्षदेखि काेभिड १९ को महामारीको कारणले विश्वलाई नै आक्रान्त बनाएको अवस्थामा सोको असर निःसन्देह मुलुक र कम्पनीलाई पनि पर्न गयो। महामारी र लकडाउनको कारणले एकातर्फ, कम्पनीका आयोजनाहरुका लागि कार्यतालिका अनुसारका उपकरणहरु आपूर्ति गर्न असम्भव हुन गयो भने अर्कोतर्फ कम्पनी परिसरमा प्राप्त भई सकेका उपकरणहरु निश्चित स्थानमा ढुवानी गर्न जनशक्ति लगायतका स्रोतसाधन परिचालन गर्न समस्या पर्न गयो। आपूर्ति गरिएका उपकरणसंग सम्बन्धित वैदेशिक तालिमहरु सञ्चालन गर्न असम्भव हुन गयो भने मुलुकभित्रै उपकरण जडान गर्नु पर्ने घरका घरघनीहरुले स्वास्थ्य सुरक्षाका कारणले वाह्य व्यक्तिलाई प्रवेश गर्न दिन सक्ने अवस्था रहेन। यी व्यावहारिक समस्याहरुको अवस्थामा समेत कम्पनीको सेवाहरुलाई अबिछिन्न रुपमा गुणस्तर कायम राख्दै संचालन गर्नको लागि कम्पनी सञ्चालक समितिबाट प्राप्त निर्देशन, कम्पनीका कर्मचारी मित्रहरुबाट प्रदर्शित जिम्मेवारी बोध एवम् ग्राहकवर्गबाट प्राप्त माया र सद्भाव प्रति कम्पनीको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।

विगत र वर्तमानलाई संक्षिप्त विवेचना गर्ने हो भने

१७ वर्ष अघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिव ४ लाख २२ हजार रहेकोमा आज कम्पनीको ग्राहक आधार २ करोड ९ लाख नाघिसकेको छ । यसको अर्थ, हाल मुलुकको करिव ७० प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ ।

कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फाेरजी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइवरमा आधारित फिट्थ सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको छ ।

कम्पनीले आधारभूत टेलिफोन(पीएसटीएन/फिक्स्ड), ताररहित जीएसएम/मोबाइल, अति दुर्गम विकट स्थानहरुमा स्याटेलाइट प्रबिधिमा आधारित भीस्याट टेलिफोन सेवा, इन्टरनेट/डाटा सेवा(वायरलेस अन्तर्गत फाेरजी, थ्रीजी, इभीडीअाे, वाइम्याक्स, वाइफाइ हटस्पट र वायरलाइन अन्तर्गत फिट्थ, एडीएसएल, फाइबर लिज) तथा अन्य भ्याल्यु याडेड सर्भिसेस्(भीएएस) सेवाहरु उपलब्ध गराउंदै आएको छ।

फिट्थ सेवा अन्तर्गत एउटै फाइबरको माध्यमबाट डाटा र भ्वाइस उपलव्ध भइरहेकोमा गत जनवरी १ तारिखमा एटीटीभी ब्राण्डमा आइपीटीभी सेवाको शुभारम्भ भए पश्चात त्रिपल प्ले(अर्थात्, भ्वाइस, डेटा र भिडियाे) को अवधारणा कार्यान्वयन गर्ने सफलता कम्पनीलाई प्राप्त भएको छ ।

कम्पनीको प्रगतिको तुलनात्मक तथ्याङ्क हेर्ने हो भने

कम्पनीको ग्राहक आधार आधारभूत सेवा(पीएसटीएन), जीएसएम, सीडीएमए तर्फ २०७६ असार मसान्तमा करिव २ करोड २७ लाख (७६.९५ प्रतिशत टेलीघनत्व) रहेको थियो। करिव २० लाख निष्क्रिय ग्राहक सिष्टमबाट हटाउने क्रममा २०७७ असार मसान्तमा ग्राहक आधार करिब २ करोड (६७.७६ प्रतिशत टेलीघनत्व) पुगेतापनि ग्राहक आधारमा क्रमिक रुपमा वृद्धि हुँदै २०७७ मंसिर मसान्तसम्म ग्राहक आधार २ करोड ९ लाख (६९.८ प्रतिशत टेलीघनत्व) पुगेको छ |

यसैगरी काेभिड १९ बाट सिर्जना भएको असहज परिस्थितिका बाबजुद आ.व. २०७६/७७ मा कम्पनीको आय ४२ अर्ब ९८ करोड रूपैयाँ पुगेको छ भने कम्पनीको खुद मुनाफा ९ अर्ब ७४ करोड रूपैयाँ भएको छ। मुलुकको अर्थतन्त्रमा कम्पनीले पुर्‍याएको योगदान हेर्ने हो भने आ.व. २०७५/७६ मा इन्कम ट्याक्स, भ्याल्यु एडेड ट्याक्स, टीएससी, ओनरसीप ट्रयाक्स, कस्टमस् डियुटी, राेयालिटी, आरटीडीएपफ, डिभिडेन्ड, प्रपर्टी एण्ड भेकल ट्याक्स लगायतका कर तथा गैह्रकर गरी कम्पनीले ३३ अर्ब ३० करोड (कूल आयको ७५%) रकम योगदान गरेको थियो भने यस आ. व. २०७६/७७ मा ३५ अर्ब ५ करोड (कूल आयको ८१%) योगदान गरेको छ।

 कम्पनीको सेवा विस्तार सम्बन्धमा

भ्वाइस सेवातर्फ: कम्पनीको ग्राहक आधार २०७७ मंसिर महिनाको अन्त्य सम्ममा २ करोड ९ लाख २७ हजारभन्दा बढी रहेको छ । सो मध्ये जीएसएम मोबाइलका ग्राहक १ करोड ८४ लाख ३१ हजार, सीडीएमए सेवाका १८ लाख ८ हजार र पीएसटीएन सेवाका ग्राहक ६ लाख १७ हजार रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक ७१ हजार ३ सय रहेका छन् । २०७७ कात्तिक महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस रिर्पाेट अनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५३.६५ प्रतिशत रहेको छ ।

इन्टरनेट डाटा सेवातर्फ: कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७७ मंसिर महिनाको अन्त्यसम्ममा कुल १ करोड ६४ लाख ९ हजार ५ सय भन्दा बढी पुगेको छ। सो मध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता १ करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ८१ हजार ५ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाइम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेका छन् । जीएसएम फाेरजी तर्फ हालसम्म करिव २५ लाख ग्राहक पुगिसकेको छ।

मुलुकका सम्पूर्ण भूभागमा अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने योजना अन्तर्गत मुलुकमै पहिलो पटक अत्यन्त तीव्र गतिको वायरलेस प्रविधिको एलटीइ एडभान्स्ड फोरजी मोबाइल सेवा देशव्यापी रुपमा विस्तार भइरहेको छ । यो सेवा ७७ वटै जिल्लाको ६२० स्थानीय तह सम्म पुगिसकेको छ ।

कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने फाइबर टु दी हाेम(फिट्थ) सेवाको योजनालाई चालू आर्थिक वर्षमा निरन्तरता दिँदै सेवा विस्तार तीव्र रुपमा गरिरहेको छ । यो सेवा ४२ जिल्लामा पुगिसकेको छ । फिट्थ नेटवर्कमा एनटीटीभी टेलिभिजन सेवा जनवरी १, २०२१ देखि शुरु भएको हो । यसबाट फिट्थ भएका स्थानमा भिडियाे अन डिमाण्ड(भीओडी) जस्ता सेवा ग्राहकलाई उपलव्ध गर्न सकिने छ । एउटै फाइवरबाट भ्वाइस, इन्टरनेट तथा टीभी उपलब्ध हुने भएकाले कम्पनीका लागि यो एक महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास लिइएको छ । कम्पनीको फिट्थ सेवामा ग्राहकहरुको ठूलो आकर्षण देखिएको र हालसम्म १ लाख १५ हजार फिट्थ कनेक्सन पुगिसकेको छ।

मुलुकमा फिट्थ सेवाको विस्तारको क्रम हेर्ने हो भने धवलागिरी अञ्चलका वाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला सदरमुकामहरुबाट तामाको तारको नेटवर्कलाई अप्टिकल फाइवर नेटवर्कले पूर्ण रुपमा विस्थापित गर्ने कार्य सम्पन्न भई सकेको छ। यसको अलावा वाग्लुङको कुँडुले एक्सचेञ्ज, वलेवा एक्सचेञ्ज, म्याग्दीको गलेश्वर एक्सचेञ्ज, मुस्ताङको मार्फा र कागवेनी एक्सचेञ्ज क्षेत्रमा तामाको तारको नेटवर्क पूर्ण रुपमा विस्थापित भई सकेको छ। यसैगरी पश्चिम नवलपरासीको वर्दघाट एक्सचेञ्ज र काभ्रे जिल्लाको बनेपा एक्सचेञ्ज क्षेत्रमा समेत तामाको तारको नेटवर्कलाई  अप्टिकल फाइवर नेटवर्कले पूर्ण रुपमा विस्थापित गर्ने कार्य सम्पन्न भइसकेको छ। यी कार्यालयहरुका कार्यालय प्रमुख लगायत संलग्न सबै लगनशील कर्मचारी मित्रहरुलाई हार्दिक बधाई दिन चाहन्छ र देशभरका अन्य कार्यालयहरुमा समेत फिट्थले कपर बेस नेटवर्कलाई विस्थापित गर्ने कार्य तिब्ररुपमा अगाडी बढाउने ब्यहोरा समेत अनुरोध गर्न चाहन्छु।

पूर्वाधार विकास तर्फ

मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, २ र बाग्मति का जिल्ला, नगरपालिका र गाउँपालिकाहरु लाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढाइएको छ । अन्तर निकायबीच समन्वयको कमी कमजोरी, काेभिड-१९को प्रभावले सुस्त बनेको आयोजना कार्यान्वयन हाल काेभिड-१९ कम प्रभाव, अन्तरनिकायबिच को सुमधुर समन्वयको कारणले तीव्र रुपमा अगाडि बढिरहेको  र चालु आ.व. मा अधिकांश कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ।यस पूर्बाधारले सूचना महामार्ग निर्माणको परिकल्पनालाई पूरा गरि डिजीटल नेपाल निर्माणका लागि आवश्यक डिजिटल फाउण्डेशन तयार गर्न महत्वपूर्ण योगदान दिने विश्वास लिएको छु।

मोबाइल बैङ्किङ तर्फ

मोबाइलबाटै अधिकांश आर्थिक कारोबार गर्न सकिने योजना कार्यान्वयनका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको स्थापना गरिएको छ। नेपाल टेलिकमको सहायक कम्पनीको रुपमा कार्य गर्ने गरी मोबाइल फाइनान्सियल सर्भिस सञ्चालनको अन्तिम चरणको कार्य भइरहेको छ । कम्पनीले डिजिटल पेमेन्ट्स अर्थात मोबाइल मनीका लागि चाहिने आवश्यक पूर्वाधारका लागि तयारी गरिरहेको छ । आगामी दिनमा मोबाइलबाटै सबै कारोबार गर्न सकिने भएकाले नेपाली जनताका लागि यो नयाँ अनुभव हुनेछ । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन, क्यासलेस साेसाइटीको परिकल्पनालाई साकार पार्ने र वित्तीय पहुँच विस्तार गरी सुशासन र वित्तीय कारोबारमा पारदर्शिता कायम गर्नमा यसले महत्वपूर्ण योगदान दिनेछ ।

संस्थागत सामाजिक उत्तरदायित्व तर्फ

१. बागमती सरसफाइ महाअभियानमा सहभागिता तथा सहयोग ।
२. नेपालमा फुटबल खेलको विकास तथा खेलाडीहरुको व्यावसायिकतालाई सहयोग पुगोस् भन्ने उद्देश्यले नेपालको ए डिभिजन फुटबलको विभागीय टिम नेपाल पुलिस क्लबलाई वि.सं. २०६८ देखि नियमित रुपमा प्रयोजन गर्दै आइरहेको ।
३. भूकम्प प्रभावित तथा अन्य दुर्गम १७ जिल्लाहरुमा आईसीटी सेन्टर स्थापना गर्ने कार्य सम्पन्न ।
४. कागजरहित वातावरणको सिर्जना गर्न एमपीओएस तथा अन्य पिनलेस रिचार्जको प्रवर्द्धन ।
५. बोल्न तथा सुन्न नसक्ने व्यक्तिहरुका लागि मोबाइलमा सहुलियत दर (प्रतिमिनेट ५० पैसा, करबाहेक) मा कल सेवा उपलब्ध ।
६. पर्यटकीय स्थल राराताल वरपर फोहोर व्यवस्थापन गर्न ८० थान डष्टबिन राखी फोहोर व्यवस्थापन गर्ने कार्य भएको ।
७. विभिन्न दिवसलगायत पर्व, अभियान, सम्मेलन र प्राकृतिक विपद्का समयमा सूचना तथा अन्य जानकारीमूलक सन्देशहरु निःशुल्क बल्क एसएमएस मार्फत प्रवाह गर्दै आएको ।
८. कोभिड-१९ को अवस्थामा गरिएको लकडाउन समयमा सेवाग्राहीहरुलाई डाटा सेवामा विभिन्न छुट, रिचार्जमा शतप्रतिशत बोनस र अन्य विभिन्न प्याकेजको व्यवस्था ।
९. लकडाउनको समयमा विदेशबाट आएका नेपाली नागरिकहरुलाई होल्डिङ सेन्टर तथा क्वारेन्टाइन सेन्टरमार्फत निःशुल्क सिम वितरण । होल्डिङ सेन्टरहरुमा निःशुल्क वाइफाई सुविधा उपलब्ध गराएको ।
१०. नेपाल सरकारको शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना अनुरुप देशभरका विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकको लागि निःशुल्क पाठशाला सीयूजी सिम तथा ह्याप्पी लर्निङ्ग प्याकको व्यवस्था गरिएको ।

कम्पनीको १७ औं वार्षिकोत्सवको अवसरमा

नेपाल टेलिकमले कम्पनीको १७औं वार्षिकोत्सवका अवसरमा आज (२०७७ माघ २२) देखि मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक सुविधा सहित फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवाको शुरुवात गरेको छ ।

एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका वा वाईफाई सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले सीपीई प्रयोग गरी सुलभ दरमा फोरजी वायरलेस होम ब्रोडव्याण्ड सेवाबाट इन्टरनेट प्रयोग गर्न सक्नेछन् । हाल यो सेवा प्रतिमहिना रु. ९ सयमा ६० जिबी, रु. १५ सयमा  १२० जिबी र वार्षिक रु. ९,६०० सयमा ७२० जिबी र रु. १६,००० मा १,४४० जिबी उपलब्ध हुनेछ ।

व्यावसायिक उपकरणहरु वीच डाटा आदान प्रदान गरी सवारीसाधन लगायत अन्य उपकरणहरुको लाेकेसन अपडेट गर्ने, लाेजिस्टिकस् म्यानेजमेन्ट गर्ने प्रयासहरु विश्वव्यापी रुप मै वृद्धि भइरहेको परिप्रेक्ष्यमा कम्पनीले आजैबाट शुरु गरेको “मेसिन टु मेसिन डाटा र एसएमएस प्याक” कार्यालय प्रयोजनका लागि आकर्षक हुने देखिन्छ ।

यसका अतिरिक्त कम्पनीको वार्षिकोत्सवको उपलक्ष्यमा सम्मान र कदरपत्र प्रदान गर्ने कार्यक्रम पनि तय गरेको छ :-

(क) मिति २०७७ श्राबण ०१ गतेदेखि २०७७ पौष मसान्त सम्ममा रिचार्ज सेवा तर्फ तोकिएको लक्ष्य पूरा गरी सबैभन्दा बढी रकमको कारोबार गर्ने सात वटै क्षेत्रबाट एक/एक जना गरी ७ जना र एमपीओएस, एसओएपी एक्सएमएलतर्फ एक जना गरी जम्मा ८ जना डिलरहरुलाई कदरपत्र सहित सम्मान गर्ने र निजहरुले प्रयोग गर्ने नेपाल टेलिकमको पोष्टपेड मोवाइलमा १ बर्ष सम्मको लागि मासिक रु.१,४९९।- को पाेष्ट पेड डाटा प्याक निःशुल्क उपलब्ध गराउने ।

(ख) मिति २०७७ श्राबण ०१ गतेदेखि २०७७ पौष मसान्त सम्मको कम्पनीका सेवाहरु माेबाइल पाेष्टपेड एण्ड माेबाइल प्रीपेड, पीएसटीएन, लिज्ड लाइन, फिट्थ प्रयोगका आधारमा सर्वाधिक बिल भुक्तानी गर्ने ग्राहकहरु एक/एक जना गरी जम्मा ५ जनालाई कदरपत्र सहित एक वर्षसम्म २० एमबीपीएस फिट्थ वा ५ एमबीपीएस एडीएसइल सेवा निःशुल्क उपलब्ध गराउने ।

(ग) नेपाल टेलिकमको बिभिन्न सेवाहरुको रिङ्ग ब्याक टाेन(आरबीटी) मा आवाज दिने कलाकारहरु अनिता बिन्दु, अनुपमा कर्माचार्य र भुमिका थापालाई कदरपत्र सहित एक वर्षसम्म २० एमबीपीएस फिट्थ वा ५ एमबीपीएस एडीएसइल सेवाको बेसिक प्याकेज निःशुल्क उपलब्ध गराउने ।

(घ) काेभिड-१९ संङ्क्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा कम्पनीमा कार्यरत कर्मचारीहरुको पीसीआर परीक्षण तथा उपचार गरी संङ्क्रमण रोकथाम गर्न पुर्याएको योगदानको लागी बिध म्यानेजमेण्ट प्रा.लि.  वि एण्ड बि हस्पिटल प्रा.लि. र किष्ट हस्पिटल प्रा.लि.लाई कदरपत्र प्रदान गर्ने ।

(ङ) यसैगरी, आ.व.०७७।७८ को वार्षिक कार्यक्रमको वार्षिकोत्सवका लागि बिनियोजित बजेटको परिधि भित्र रही निम्न कार्यक्रम गर्नेः

सातै प्रदेशका सरकारी वा सामुदायिक विद्यालय छनौट गरी स्टेशनरी लगायतका सामग्रीहरु वितरण गर्ने छ । क्यान्सर काउन्सिल नेपाल काठमाडाैं मार्फत स्वास्थ्य जनचेतना कार्यक्रमहरुमा सहकार्य गर्नको लागि प्राप्त प्रस्ताब बमोजिमको खर्च रु.३,८५,०००।- र ब्रोसर, ब्यानर लगायतका बितरण सामग्रीहरुको लागि रु.१,१५,०००।- उपलब्ध गराउने कार्यक्रम रहेकाे छ ।

गंगालाल अस्पताल, बाँसबारी, काठमाडाैंमा उपचारत गरीब तथा असहाय बाल बालिकाहरुको लागि मुटुको भल्भ फेर्न अस्पतालसँग समन्वय गरी सहयोग गर्ने ।

विगतका वार्षिकोत्सव कार्यक्रमहरु भन्दा यस वर्षको कार्यक्रम काेभिड-१९ महामारीको कारणले फरक गर्नु परेको व्यहोरा अनुरोध गर्न चाहन्छु। वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरुमा गरिने रक्तदान कार्यक्रम, प्रभातफेरी र खेलकुद यस वर्ष स्थगित गरिएको छ।

काेभिड-१९ महामारी

यस वर्ष काेभिड-१९ महामारीले प्रत्येक व्यक्तिलाई कुनै न कुनै रुपले असुरक्षित गरायो। पारिवारिक र सामाजिक रुपले व्यक्तिगत स्वास्थ्य सुरक्षा प्राथमिकतामा राख्‍नु पर्ने वाध्यता सिर्जना हुन गयो ।

महामारीको समयमा आफ्ना ग्राहकवर्गले सेवा उपयोग गर्न कुनै कठिनाई नहोस् भन्ने उद्देश्यले कम्पनीका सेवाहरु र नेटवर्कको मर्मतसम्भार चुस्त दुरुस्त राख्‍न व्यक्तिगत स्वास्थ्यलाई केहि हदसम्म जोखिममा राखी आ-आफ्नो जिम्मेवारी बहन गर्नु हुने समस्त कर्मचारी मित्रहरुलाई हार्दिक सम्मान ब्यक्त गर्दै  धन्यवाद व्यक्त गर्न चाहन्छु।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल टेलिकमले १२ करोड रुपैयाँ सहयोग गरेको छ । विभिन्न भ्वाइस सेवा, डाटा सेवा र रिचार्जमा छुट प्रदान गरेको छ । विद्यार्थीहरुलाई ई-शिक्षामा सहयोग पुर्याउनका लागि सहुलियत दरमा विभिन्न प्याकेजको व्यवस्था गरेको छ ।

स्वास्थ्य सतर्कताका वावजुद काेभिड-१९ कै कारणले ज्यान गुमाउनुभएका कम्पनीको राजविराज, टीकापुर र वीरगंजमा कार्यरत जम्मा ३ जना कर्मचारी प्रति आज वार्षिकोत्सवको अवसरमा स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।

कर्मचारी विनियमावली

लोक सेवा आयोगबाट परामर्स प्राप्त भई आएर बिगत लामो समय देखि कार्यान्वयनमा कठिनाई भइरहेको कम्पनीको   कर्मचारी विनियमावलीलाई कर्मचारीको वृत्ति विकास र सरोकारको बिषय तथा कम्पनीको विशेष कार्य प्रकृतिलाई समेत मध्यनजर गरी अधिकतम सर्बस्विकार्य बनाउन सहयोग पुग्ने गरी सम्बन्धित सबै पक्षसंग सहकार्य गरी कार्यान्वयन गर्न अधिकतम पहल गरिने प्रतिवद्धता समेत व्यक्त गर्दछु।

कम्पनीको भावी रणनीति

१. चालु आयोजनाहरुलाई स्वीकृत कार्ययोजना अनुसार समयमा नै सम्पन्न गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने ।
२.  मर्मत सम्भारलाई थप वैज्ञानिक र भरपर्दो बनाउने र नेटवर्क एभाइलअबिलिटी बढाई गुणस्तलाई सुनिश्चित गरिने छ ।
३. जीआएस मार्फत पूर्वाधारहरुको अभिलेखिकरण तथा सो को प्रयोगबाट योजना तथा कार्यान्वयनमा प्रभावकारीता कायम गरिने, डाइभरलेस अप्टिमाइजेसन मार्फत मोबाइल सेवाको गुणस्तरलाई निरन्तर अनुगमन तथा सुधार गरिने छ ।
४. डिजिटल प्लाटफर्म मार्फत सेवा प्रवाह, गुनासो व्यवस्थापन लगायतका कार्यहरु गर्ने ।
५. नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसंचार प्राधिकरण को सहकार्य र सहमतिमा दूरसंचार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन गरी संचालन गर्ने र पूर्बाधारको सह-प्रयोग मार्फत लागत कम गराई सेवालाई सस्तो बनाउन कम्पनी अग्रणि भूमिका निर्बाह गर्न तयार रहेको ब्यहोरा अनुरोध गर्न चाहन्छु ।
६. कम्पनीको कार्यशैली र व्यवस्थापकीय सुधार गर्नका लागि स्ट्रयाटेजिक म्यानेजमेन्ट भित्र्याउन पहल गर्ने ।
७. सबै स्थानिय निकायहरुमा ब्राेडब्याण्ड सेवा पुर्‍याई डिजिटल डिभाइट कम गर्दै डिजिटल लिटरेसीलाई प्रोत्साहन गर्ने बाताबरण तयार गरिने छ डिजिटलाइजेसनको प्रकृयालाई सहयोग गरिने छ।

८. बिग डाटा/बीआई, आर्टिफिसियल इन्टिलिजेन्स(एआई) को प्रयोग मार्फत सेवालाई बढि ग्राहक मैत्री बनाइने छ ।
९. एफजी सेवा सञ्चालनको लागि परिक्षण तथा अध्ययन गर्ने र व्यावसायिक सञ्चालनको लागि प्रारुप तयार गर्ने ।

(नेपाल दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले कम्पनीकाे १७ औं वार्षिकोत्सव २०७७ को अवसरमा राखेका धारणा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.