गाउँपालिकाका बिरामीले निःशुल्क रुपमै एम्बुलेन्स सेवा पाउने व्यवस्था गरेका छौं – अध्यक्ष तामाङ्ग

  २०७७ माघ २२ गते २०:३०     विकासन्युज

‘खाँडादेवी गाउँपालिका’ प्रदेश नं. ३ अन्तर्गतको रामेछाप जिल्लामा पर्ने सुन्दर एवं रमणीय गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिकका साथै प्राकृतिक रुपले पनि फरक विशेषता बोकेको यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ ।
यो गाउँपालिका कूल १ सय ५० दसमलव ७ वर्गकिलोमिटर क्षेत्रमा फैलिएर रहेको छ भने यहाँको जनसंख्या ३१ हजार ३ सय ८३ रहेको छ । यस गाउँपालिकामा ९ ओटा वडा रहेका छन् । यसको पूर्वमा मन्थली नगरपालिका, पश्चिममा सुनापति गाउँपालिका अनि उत्तरमा दोरम्बा पर्दछन् भने यसको दक्षिणमा चाहिँ सिन्धुली जिल्ला पर्दछ ।
खाँडादेवी गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्ता भूमिका खेल्दै आएको छ भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष प्रेम वहादुर तामाङ्गसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश ।

गाउँपालिकामा कोरोनाले पुर्याएको असर वारे अलिकति बताइदिनुस न

हामीले गाँउपालिका भित्र महामारीको सुरुआती चरणमै पूर्व तयारी गर्यौं जसका कारण खासै ठुलो असर हुन पाएन । हामीले सो वेला यहाँ ४५ बेडको क्वारेन्टिन स्थापना गरेका थियौं भने १५ बेडको आइसोलेसन कक्ष बनाएका थियौं । यहाँ कसैलाई पनि संक्रमण देखिएन । विद्यालय बन्द भएका कारण शिक्षा क्षेत्र चाहिँ नराम्ररी प्रभावित भएको थियो ।

गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के रहेका हुन् ?

मन्थली चौरीबाट गाल्बा जाने सडक ११ कि.मि. र त्यसैगरी दोलखा जोडिने सडक पनि ११ कि.मि. नै कालोपत्रे गर्ने कार्य भइरहेको छ । बजेट बिनियोजन गर्न प्रदेश सरकारलाई दिएका थियौं त्यहि आधारमा एउटा सडक ३४ करोडको लागतमा र अर्काे सडक भने ३६ करोड रुपैयाँको लागतमा कालोपत्रे भइरहेको छ । त्यसैगरी खैरेनीबाट गाल्बा जाने सडक चहिँ ३ कि.मि. कालोपत्रे भइसकेको छ ।
हाम्रो गाउँपालिका सुख्खा क्षेत्रमा पर्छ । खोलाको पानीलाई ड्याम बनाएर सिँचाइयोग्य बनाउनका लागि हामीले डिपिआर गरेका छौं । ४ करोड ८० लाख रुपैयाँ बराबरको भ्युटावर गाउँपालिकाका भित्र निर्माण भईरहेको छ । गाउँपालिकाको माथिपट्टि १३ फिट अग्लो शिव र बुद्धको मन्दिर निर्माण गरेका छौं । प्रदेश र संघको साझेदारीमा १५ करोड रुपैयाँ बराबरको अस्पताल निर्माण भइरहेको छ । एम्बुलेन्स पनि खरिद गरेका छौं । हाम्रो गाउँपालिका भित्र बिरामी भएका नागरिकले निःशुल्क रुपमै एम्बुलेन्स सेवा पाउने व्यावस्था गरेका छौं । गाउँपालिका भित्र रहेको सबै वडा भवनहरुको निर्माण भइसकेको छ ।

गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

यहाँका किसानले यदी १० लाख रुपैयाँ बराबरको प्रोजेक्ट पेश गर्छन् भने उनीहरुले ५ लाख रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । बाँकी चाहिएको ५ लाख रुपैयाँ हामीले अनुदानमा दिने व्यवस्था मिलाएका छौं । गाउँपालिका भित्र कृषि ऋण कार्यक्रम पनि रहेको छ । किसानहरुले पैसा फिर्ता गरेको आधारमा व्याज मिनाहा तथा बैंकमार्फत फेरी ऋण उपलब्ध गराउने व्यवस्था मिलाएका छौं । हामी निर्वाचित भएपछि किसानहरुकै लागि भनेर १ करोड रुपैयाँ बराबरको कृषि कोष निर्माण गरेका छौं ।
हामीले प्रत्येक वडालाई पकेट क्षेत्र घोषणा गरेका छौं र ती ठाउँहरुमा उत्पादन सुरु हुन पनि थालिसकेको छ । किसानलाई तरकारीको न्युनतम शुल्क निर्धारण गरेर गाउँपालिकामा पेश गर्नु होस्, यदी बिक्रि गर्न सक्नुभएन भने हामी बेचिदिन्छौं भनेका छौं । गाउँपालिका भित्र बाख्रा पालन, भैँसी पालन, कफि उत्पादन तथा चिया उत्पादनका क्षेत्रहरु पनि रहेका छन् । किसानले केराको बगान बनाउने भनेर गाउँपालिका भित्र ६ हजार केराको विरुवा लगाएका छन् । उनीहरुलाई गाउँपालिकाले निःशुल्क रुपमै केराको विरुवा उपलब्ध गराएको हो । कृषिमा धेरै किसानहरु आत्मनिर्भर भएका छन् । कृषिलाई जीवन निर्वाहको साधन मात्र होइन व्यावसाय पनि बनाउनु पर्छ भनेर हौसला दिने गरेका छौं ।

गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ?

गाउँपालिकामा अहिलेसम्म भएका विकास निर्माणका कामहरु प्रभावकारी नै छन् । आशा गरे अनुरुप विकास निर्माणका कामले गति लिइरहेको हुनाले हामी पनि खुसी नै छौं ।

तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित भइसके पछि गाँउपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ?

म निर्वाचित हुनुभन्दा अगाडि र भइसके पछि यहाँ धेरै परिर्वतन आएको छ । पहिले यहाँ सडकको अवस्था राम्रो थिएन । स्वास्थ्य सेवाको पहुँच सवैमा पुग्न सकेको थिएन । शिक्षा बाट धेरै वालबालिकाहरु बन्चित थिए । विद्यालयको अवस्था त झन् लथालिङ्ग नै थियो । धेरै ठाउँमा काठका पोल थिए । सबै गाउँमा विद्युत पुगेको थिएन पनि ।
तर आज उपरोक्त समस्याहरु समाधान हुँदै गएका छन् । ९ वटा वडाको बिच सम्म हामीले बाटोलाई ग्राबेल गरिसकेका छौं । शिक्षा क्षेत्रतर्फ पनि सुधार आउँदै गएको छ । १२ वटा मा.वि तहका विद्यालयहरुको भवन निर्माण गरेका छौं । गाउँपालिकाको सबै ठाउँमा विद्युत पुगेको छ । काठका पोल हटाएर फलामको पोल गाडेका छौं । कृषिमा आधुनिकिकरण हुन थालेको छ ।

तपाईं निर्वाचित भएको ३ बर्ष पुरा हुँदा गाउँपालिका भित्र सम्झिन लायक काम के–के गर्नुभएको छ ?

मैले भर्खरै पनि भनिसकेँ सडक, विजुली, शिक्षा, स्वास्थ्य लगायतमा ल्याइएको सुधारहरु सबै नै सम्झिन लायक काम हुन् । त्यसका अलावा १२ सय घरधुरीमा पानीको व्यवस्था गरका छौं जुन गर्वकै कुरा हो ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

हामीले त्यसका लागि स्वरोजगार कोषसँग साझेदारी गरी २ करोड रुपैयाँ बजेट बिनियोजन गरेका छौं । युवाका लागि हामीले तालिम तथा कार्यक्रमहरुको व्यवस्था गरेका छौं । यदी युवाले कामको प्राजेक्ट बनाएर ल्याउँछन् भने प्रोजेक्ट अनुसारको ऋण पनि उपलब्ध गराउँछौं । २ लाख रुपैयाँसम्मको प्रोजेक्ट बनाएर आए भने बिना धितो ऋण पनि दिन्छौं । यहाँका धेरैसजो युवाहरु बाख्रा पालन, तरकारी खेती लगायत गर्दै आएका छन् । गरिब परिवारका भएका किसानलाई १ लाख रुपैयाँ सम्म अनुदान दिने व्यावस्था छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा पनि १ करोड रुपैयाँ बजेट रहेको छ । युवाहरुलाई विकास निर्माणको काममा लगाएर पनि रोजगार दिने गरेका छौं ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ?

हाम्रो गाउँपालिकामा ठुला उद्योग छैनन् भन्दा पनि हुन्छ । यहाँ खेती किसानी गर्ने, बाख्रा पालन गर्ने तथा कुखुरा पालन गर्नेहरु छन् । यसका साथै साना तथा मझौला किराना पसल सञ्चालन गरेर बस्नेहरु पनि छन् ।

सबै भन्दा धेरै कर तिर्ने कम्पनी कुन हो ?

अब ठुला उद्योग, कम्पनी वा कलकारखाना नभइसकेपछि धेरै कर तिर्ने भन्ने त कुरै आउँदैन । बरु यहाँको सम्पती कर नै दिगो करको रुपमा रहेको छ । खोलाको बालुवा, गिट्टी लगायत बाट कर आउने गर्छ । यस्ता स्रोतहरु बाट गाउँपालिकाले वार्षिक ३ करोड रुपैयाँ जति कर संकलन गर्ने गरेको छ ।

तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई बढि जोड दिनुहुन्छ ?

यदी ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषिलाई नै जोड दिन्छु ।

तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ?

म सन्तुष्ट नै छु । मैले गरेको काममा जनताको गुनासो आउने गरेको छैन । नागरिकको सन्तुटिलाई नै म आफ्नो सन्तुष्टि ठान्दछु ।

तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?

यस गाउँपालिकालाई मेरो कार्यकालमा नमुना गाउँपालिकाको रुपमा घोषणा गर्ने योजना बनाएको छु । विकास निर्माणको काम अझ पनि धेरै गर्नुछ । यहाँका नागरिकको जीवनस्तर बृद्धि गर्ने, स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा व्यापक सुधार ल्याउने लगायतका योजना पनि मैले बनाएको छु ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय चाहिँ कसरी गरिरहनु भएको छ नि ?

प्रदेश सरकारसँग हाम्रो समन्वय भइरहेको छ । प्रविधिको युग भएकाले हामी धेरैजसो कामको समन्वय अनलाइन बाट नै गर्छौं । आबधिक योजनाहरु बनाएर हामीले प्रदेश सरकारलाई पेश गरेका थियौं । ५ वर्षको योजनामा लक्ष्य पुरा हुने सम्भावना हामीले देखेका छौं ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्दा रहेछन् ?

स्थानीय तहमा काम गर्दा सामान्य समस्याहरु देखा पर्ने गरेको छ । कानुन कार्यविधि तयार गर्दाको समयमा व्यवहारमा ढाल्न खोज्छ । हामीले कानुनको पालना पनि गर्नुपर्ने हुन्छ । त्यसैले यसमा पनि समस्या रहेको छ । गाउँपालिका भित्र रहेका नागरिकको खासै स्तरोन्नती हुन सकेको छैन । जहाँ चेतनाको विकास भएको छ त्यस ठाउँमा विकास पनि धेरै भएको छ ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकारबाट हामीले राम्रै सहयोग पाएका छौं । त्यहींबाट बजेट आउने गर्छ । ४ प्रकारको बजेट अनुदानमा दिने गरेको छ । केन्द्र सरकारले वित्त हस्तान्तरणमा बजेट पठाउने गरेको छ । जनसंख्या, भौगोलिक स्थिती, गरिबी लगायतका कुराहरुमा आधारित रहेर बजेट आउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.