गाउँपालिकामा विगत ३ वर्षदेखि एकल पुरुष भत्ता वितरण गर्दै आएका छौं – अध्यक्ष लोप्चन

  २०७७ माघ २१ गते २१:००     विकासन्युज

प्रदेश नं. ३ अन्तर्गतको ललितपुर जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो ‘वाग्मती गाउँपालिका’ । १ सय ११ दसमलव ४९ स्क्वायर कुल क्षेत्रफलमा फैलिएर रहेको यो गाउँपालिकामा ७ ओटा वडाहरु छन् भने गाउँपालिकाको पूर्वमा महाङ्काल गाउँपालिका, पश्चिममा काठमाडौं जिल्ला, उत्तरमा गोदावरी नगरपालिका तथा कोन्ज्योसोम गाउँपालिका रहेका छन् भने दक्षिणमा चाहिँ मकवानपुर जिल्ला रहेको छ । कूल १३ हजार ४९ जनसंख्या रहेको यो गाउँपालिकामा हिन्दु र बुद्ध धर्मावलम्बीहरुको बाहुल्यता पाइन्छ ।
यहाँ माल्टा फाँट, भट्टेडाँडाको राड क्षेत्र, सिद्धेस्वर महादेव, महाङ्कालस्थान मन्दिर, बुद्ध बिहार, आश्राङको ध्याम्पे दह, गिम्दीको चमेरो गुफाजस्ता ठाउँहरुले पर्यटकलाई आकर्षित गर्दै आएका छन् ।
गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै सो गाउँपालिकाका अध्यक्ष बिर वहादुर लोप्चनसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश ।

गाउँपालिकामा कोरोनाले पुर्याएको असर वारे बताइदिनुस न

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि नराम्रो असर पुर्यायो । गाउँपालिकाका केहि नागरिकहरुका साथै कर्मचारीहरुलाई पनि कोरोना संक्रमण देखिएको थियो । सो समयमा हामीले यहाँको हरेक वडामा १० देखि १५ बेडको क्वारेन्टिन स्थापना गरेका थियौं तरपनि धेरै मानिसलाई क्वारेन्टिनमा राख्नुपर्ने अवस्था चाहिँ आएन । कोरोनाले शिक्षाका साथै विकासनिर्माणको काममा पनि नराम्रो असर पुर्यायो । अहिले भने गाउँपालिकाको अवस्था सामान्य भइसकेको छ ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ?

प्रदेश सरकारसँग समन्वय भइरहेकै छ । प्रदेश सरकारले ल्याउनु पर्ने कार्यक्रमहरु कोरोनाको समय पछि ल्याएको चाहिँ छैन । प्रदेश सरकार वाट ९० लाख रुपैयाँ बजेट आउने गरेको छ ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ?

स्थानीय तहमा काम गर्दा सामान्य किसिमका समस्याहरु देखा पर्ने गर्छन् । विकास निर्माणमा काममा पनि समस्या आउँछ । जनताको अपेक्षा धेरै छ । तर बजेटको आकार चाहिँ सानो छ । विकास निर्माणका काम धेरै गर्नुपर्ने छ ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

सामान्यीकरणको बजेट र राजश्व बजेट भनेर तोकेर पठाएको हुन्छ । तर तोके अनुसार केन्द्र सरकार बाट बजेट आएको छैन । केन्द्र सरकारले १५ लाख रुपैयाँ अनुमानित बजेट पठाउने गरेको छ । २ करोड रुपैयाँ बराबरको बजेट त कटौती भएर आउने गरेको छ ।

गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् नि ?

गाउँपालिकामा ठुला योजनाहरु धेरै रहेको छैन । यहाँको ठुलो योजनाको रुपमा खानेपानी र सडक निर्माण नै हो । यस्ता योजनाहरुका लागि भनेर ४० देखि ५० लाख रुपैयाँसम्मको बजेट छुट्याइएको छ । हामीले कृषि क्षेत्रको विकासलाई पनि प्रथमिकता दिइरहेका छौं ।

गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ?

गाउँपालिकामा अहिले सम्म गरेका विकास निर्माणको काम प्रभावकारी नै भएका छन् भन्नुपर्छ । हामी जनप्रतिनिधिको रुपमा गाउँपालिकामा आईसकेपछि गरेका कम्मर कसेर काम गरिरहेका छौं ।

तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित भइसकेपछि गाँउपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ?

पहिला र अहिलेको स्थितीमा धेरै परिर्वतन आएको छ । म निर्वाचित हुनु भन्दा अगाडि गाउँपालिकाको सबै ठाउँमा सडक पुगेको थिएन । खानेपानीको राम्रो व्यावस्थापन थिएन । म निर्वाचित भएर आइसके पछि गाउँपालिकाको स्वास्थ्य, शिक्षा, खानेपानी, सडक आदिमा परिर्वतन आएको छ ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ?

हामीले गाउँपालिकामा विभिन्न पर्यटन क्षेत्रहरु घोषणा गर्नको लागि संघीय सरकारसँग बजेट मागेका थियौं । तर बजेट परेन । गाउँपालिकामा धेरै पर्यटन क्षेत्र रहेका छन् । गाँउपालिकाको वडा नं ३ भित्र रहेको तीनपाने राडर पर्यटकिय स्थलको रुपमा रहेको छ । यो ठाउँमा पर्यटको भीड लाग्ने गरेको छ । सातकन्या भन्ने ठाउँमा पनि धेरै पर्यटन आउने गरेका छन् । गाउँपालिका भित्र रहेका मठ–मन्दिरको प्रचार प्रसारमा पनि हामीले जोड दिएका छौं ।

गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

हामीले कृषि विकासको लागि धेरै काम गर्दै आइरहेका छौं । तरकारी संकलन केन्द्र खोलेका छौं । यहाँका कृषि उत्पादनहरु काठमाडौंमा पठाउने गरेका छौं । कृषकलाई अनुदानस्वरुप विउविजन दिने गरेका छौं । हाते ट्र्याक्टर, घाँस काट्ने मेशिन लगायतका कुराहरु हामीले ५० प्रतिशत अनुदानमा दिने गरेका छौं । गाउँपालिकामा पशु बीमा कार्यक्रम पनि ल्याएका छौं । बाख्रा पालन कार्यक्रम सञ्चालन गरेका छौं । भैंसी पालन साझेदारी कार्यक्रम सञ्चालन गरेका छौं । धान, गहुँ, मकै, भटमास, तोरी, फापर, कोदो, दाल, केराउ, सिमि, बोडि, फर्सी लगायतको उत्पादन पनि हाम्रो गाउँपालिकामा हुने गरेको छ ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

हामीले युवा लक्षित विभिन्न कार्यक्रमहरु ल्याएका छौं । विदेशबाट फर्केका युवाहरुलाई सामुहिक खेती गर्न प्रेरीत गरेका छौं । यसरी खेती गर्ने युवाहरुलाई २ प्रतिशत ब्याज अनुदान दिने कार्यक्रम पनि राखेका छौं । हामीले गाउँपालिकामा एकल पुरुष भत्ता वितरण गर्दै आएका छौं । यो कार्य ३ वर्षदेखि निरन्तर रुपमा चल्दै आइरहेको छ । ५० वर्ष पुगेका अनि ७० वर्ष ननाघेका एकल पुरुषहरुले महिनाको १ हजार रुपैयाँका दरले पाउने गरेका छन् ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ?

ठुलो उद्योग हाम्रो पालिकामा रहेको छैन । यहाँ गरिने प्रमुख पेसा भनेको खेती किसानी नै हो । कृषकहरुले कुखुरा पालन, भैँसी पालन लगायतका कामहरु गरिरहेका छन् । गाउँपालिका भित्र खानिखोला हाईड्रो भने सञ्चालन भएको छ ।

तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ?

‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनु पर्याे भने म कृषिलाई नै जोड दिन्छु । गाउँपालिकामा धेरै मानिसहरु कृषि पेशामा आबद्ध रहेको हुनाले यहाँ कृषिलाई नै जोड दिनु राम्रो हुन्छ ।

तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ?

म सन्तुष्ट नै छु । मैले गरेको काममा जनताको गुनासो आउने गरेको छैन । नागरिक सन्तुष्ट भएकोले होला मलाई पनि सन्तुटि नै मिलेको छ ।

गाउँपालिकामा मानिसहरु प्रायः कस्ता समस्याहरु धेरै लिएर आउने गर्दछन् ?

कोही खानेपानीको समस्या लिएर आउँछन्, कोही सडकको समस्या लिएर आउँछन् । कोही भने बिरामी सहयोगको अपेक्षा लिएर आउँछन् । बाढी, पहिरो रोकथामको लागि तारजालिले रोक्नुपर्यो भन्ने जस्ता समस्या लिएर आउनेहरु पनि छन् ।

तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

मेरो कार्यकालमा गाउँपालिकालाई संवृद्ध बनाउने योजान रहेको छ । विकास निर्माणका धेरै कामहरु गर्ने, स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा व्यापक सुधार ल्याउने, सबै वडामा सडक पुर्याउने लगायतका योजना बनाएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.