चुनावका वेला गरेका वाचाहरुको ८० प्रतिशत काम सम्पन्न गरिसकेका छौं – गाउँपालिका अध्यक्ष श्रेष्ठ

  २०७७ माघ २० गते २१:००     विकासन्युज

नेपालको सिन्धुपाल्चोक जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाँउपालिका हो ‘त्रिपुरासुन्दरी गाउँपालिका’ । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित त छ नै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक किसिमको विशेषता बोक्न सफल पनि छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ९४ दसमलव २८ वर्ग कि.मि रहेको छ भने गाउँपालिकाले नेपालको समग्र भू–भागको ० दसमलव ०६४ प्रतिशत भू–भाग ओगटेको छ । यो गाउँपालिका काठमाडौंबाट ८३ं दसमलव ६ कि.मि. टाढा रहेको छ ।
सो गाउँपालिकामा अवस्थित १ हजार वर्ष पुरानो त्रिपुरासुन्दरी मन्दिरको नामबाट नै यस गाउँपालिकाको नामाकरण गरिएको हो । ४ हजार २ सय ३३ घरधुरी भएको यस पालिकामा हिन्दु, बौद्ध र क्रिस्चियन गरी अलग अलग धर्मका अनुयायीहरुको बसोबास रहेको भएतापनि त्यहाँ बोलिने मुख्य भाषा भनेको नेपाली नै हो ।
गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन् ? जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्नेलगायतका विषयमा केन्द्रित हुँदै सो गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश ।

गाउँपालिकामा कोरोना महामारीका कारण पुग्न गएको असर वारे केही बताइदिनुस न
गाउँपालिका भित्रका ४ जना मानिसलाई कोरोना पोजेटिभ देखिएको थियो । नेपालमा कोरोनाको त्रास फैलिन थालेपछि हामीले ६० लाख रुपैयाँ बराबरको कोरोना कोष स्थापना गरेका थियौं । गाउँपालिकाको ३ ओटा वडामा आइसोलेसन कक्ष स्थापना गरेका थियौं । त्यसैगरी प्रत्येक वडामा १५ देखि २० बेडको क्वारेन्टिन स्थापना गरेका थियौं । क्वारेन्टिनमा बस्ने मानिसको संख्या जम्मा ९६ थियो । कोरोनाले यहाँको शिक्षा क्षेत्रका साथै विकास निर्माणका काममा पनि ठुलो असर पुर्यायो । तर अहिले भने अवस्था सामान्य भइसकेको छ ।

तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित हुनुभन्दा पछाडि गाँउपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ?

धेरै परिवर्तन आएको छ भन्दा पनि हुन्छ । म निर्वाचित हुनुभन्दा अगाडि गाविस सचिवले काम कारवाही चलाउने गरेका थिए । बजेटको आकार पनि सानो थियो । सडकको राम्रो पहँुच थिएन । विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउन सकेका थिएनन् । त्यसैगरी, स्वास्थ्य क्षेत्र तर्फ पनि विभिन्न समस्याहरु देखा पर्ने गरेको थियो । तर म निर्वाचित भएर आईसके पछि गाउँपालिकामा विद्यालयका नयाँ भवनहरु निर्माण गरिएका छन् । ३० ओटा विद्यालयहरुमध्येका २९ वटा विद्यालयहरुको भवन पक्कि बनाइसकिएको छ । वडाका भवनहरु निर्माण भइरहेका छन् । ३ ओटा स्वास्थ्य चौकीका भवन बनिसकेका छन् । सडक निर्माण, खानेपानी आदि क्षेत्रको काम भइरहेको छ । त्यसैले पहिलेको तुलनामा अहिले धेरै परिवर्तन आइसकेको छ भन्नुपर्छ ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ?

जिल्ला समितिको बैठकमार्फत प्रदेश सरकारका मन्त्री अनि कर्मचारीहरुसँग समन्वय गरिरहेका छौं । प्रदेश बाट गाउँपालिकामा योजनाहरु पनि आउने गरेका छन् । प्रदेश सरकारसँग समन्वय गरेरै विकास निर्माणका कामहरु पनि गरिरहेका छौं । सोचे अनुसारको नै बजेट तथा योजनाहरु आइरहेका छन् ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ?

घरघरमा सडक पुगोस् अनि खानेपानीको पनि राम्रो व्यवस्था होस् भन्ने जनताको चाहना हो जुन स्वभाविक पनि छ । तर यति हुँदाहुँदै पनि हामीले जनताको चाहना अनुरुपका सम्पूर्ण कामहरु पूरा गर्न भने सकेका छैनौं । बजेटको अभावले यस्तो भइरहेको हो । हाम्रो भुभागमा धेरैजसो पाहाडी क्षेत्र रहेकोले गर्दा बर्खाको बेलामा विकास निर्माणका कामहरु गर्न असहज हुने गरेको छ ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकार र हाम्रो बीचमा कुराकानी भइनै रहन्छन् । मूल बजेटनै केन्द्र सरकार बाट आउने हो । हामीलाई विभिन्न क्षेत्रको विकास गर्नका लागि भनेर केन्द्र सरकारले ४१ करोड रुपैयाँको वार्षिक बजेट पठाउने गरेको छ । स्थानीय तहमा आउने बजेटमध्ये ७० प्रतिशत बजेट केन्द्र सरकारबाटै आउने गरेको छ ।

गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् नि ?

यहाँको वडा नं. ३ बाट वडा नं. ४ हुँदै दोलखासम्म जाने सडकको निर्माण गरिरहेका छौं । २ करोड रुपैयाँ बराबरको बजेट यसका लागि छुट्याएका छौं । ७ करोड रुपैयाँ बराबरको टेन्डरमा गाउँपालिकाको भवन निर्माण भएको छ । कालिन्चोक जाने सडक पनि निर्माणकै क्रममा छ । जे होस् यहाँका ठूला योजनाका रुपमा सडक सञ्जाललाई नै लिन सकिन्छ ।

गाउँपालिकामा विकास निर्माणका कामहरु कत्तिको प्रभावकारी भएका छन् ?

गाउँपालिकामा अहिलेसम्म भएका विकास निर्माणका कामहरु अत्यन्तै प्रभावकारी छन् । विकासका काम प्रभावकारी भएकाले नै त होला जनताहरु मसँग खुसी भएका ।

तपाईं निर्वाचित भएको ३ बर्ष पुरा हुँदा गाउँपालिका भित्र सम्झिन लायक कामहरु के–के होलान् ?

मैले सम्झिन लायक कामहरु धेरै छन् । गाँउपालिकाको भवन निर्माण भइरहेको छ । स्वास्थ्यचौकी भवनको निर्माण भइसकेको छ । केही विद्यालयका भवन निर्माण भइसकेका छन् भने केही बन्ने क्रममा छन् । अघि नै पनि भनिहालें सडक निर्माणका काम पनि भइरहेका छन् । कृषिको विकास र त्यसैगरी कृषिलाई आधुनिकिकरण गर्न पनि हामी कम्मर कसेर लागिपरेका छौं । स्वास्थ्य क्षेत्रतर्फ कुरा गर्नुपर्दा प्रयोगशालाको स्थापना गरेका छौं ।

गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

किसानहरुका लागि भनेर हामीले अनुदानको व्यवस्था मिलाएका छौं । हरेक वडालाई ब्लकको रुपमा छुट्याएका छौैं । जसअनुसार वडा नं १ मा बाख्रा पालन, २ मा अलैंची उत्पादन, ३ मा भैंसी पालन, ४ मा आलुको उत्पादन हुने गरेको छ । हामीले यसलाई पकेट क्षेत्रको रुपमा घोषणा गरेका छौं । त्यसैगरी वडा नं ५ मा केरा खेती अनि वडा नं ६ मा तरकारी खेती हुने गरेको छ । गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा विउ उपलब्ध गराउँदै आएको छ । हामीले १० लाख रुपैयाँ बराबरको आलुको विउ ल्याएका छौं । कृषि विकासको लागि भनेर हामीले वार्षिक ६० लाख रुपैयाँ छुट्याउँदै आएका छौं । प्रधानमन्त्री आधुनिकिकरण बाट छुट्टै १९ लाख रुपैयाँ दिने भनेर तयारी भएको छ ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ?

काठमाडौं बाट नजिकै रहेको हाम्रो गाउँपालिका आफैंमा एउटा पर्यटकिय क्षेत्र पनि हो । यहाँ सम्झन लायक धेरै चिज छन् । शहिद पार्क छ, ३८ फिट उचाइको बुद्धको मुर्तिलाई बुद्ध पार्कमा राखेका छौं । तौथलीमा अवस्थित टोकलोखु डाँडामा पार्कको स्थापना गरेका छौं । यहाँ दैनिक ४० जना सम्म पर्यटकहरु आउने गरेका छन् । वडा नं ३ बाट सूर्यास्तको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । यहाँ रहेको महभिर नामको झरनाले मनलाई आनन्दित तुल्याउँछ । यसका साथै हाम्रो गाउँपालिका भित्र विभिन्न मठ, मन्दिरहरु पनि रहेका छन् । हामीले उपरोक्त सवै ठाउँहरुको क्रमिक रुपमा प्रचारप्रसार गरिरहेकै छौैं ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

हामीले युवा प्रति लक्षित गर्दै कृषि र पशुपालनका विभिन्न कार्यक्रमहरु ल्याएका छौं । काम गर्ने युवा तथा मजदुरका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम रहेको छ । केही युवाहरु भने विकास निर्माणका काममा पनि लाग्दै आएका छन् ।

तपाईंको पालिकामा रहेको सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनीको नाम लिनुपर्दा कसको लिनुहुन्छ ?

हाम्रो गाउँपालिकामा ठुला उद्योगहरु छैनन् भन्दा पनि हुन्छ । बरु ३ ठाउँमा साबुन उद्योग सञ्चालित छन् भने कागजको उत्पादन पनि हुने गरेको छ ।

सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन हो नि ?

सबैभन्दा बढि कर तिर्ने भनेको साबुन उद्योगले नै हो ।

तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ?

‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने त म कृषिलाई नै जोड दिन्छु ।

तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ त ?

सन्तुष्ट नै छु भन्नुपर्यो । घोषणापत्रमा उल्लेख गरेको र चुनावका वेला गरेका वाचाहरुको ८० प्रतिशत काम सम्पन्न गरिसकेका छौं । यो कुराले पनि मलाई सन्तुष्ट बनाएको छ ।

गाउँपालिकामा मानिसहरु प्रायःजसो कस्ता समस्या लिएर आउने गरेका छन् ?

धेरैजसो चाहिँ विकास निर्माणकै कुरा लिएर आउने गर्नुहुन्छ ।

तपाईंले नेतृत्व गरेको स्थानीय तहलाई अरुभन्दा फरक र नमुना बनाउन कस्ता योजनाहरु अघि सार्नुभएको छ ?

भौतिक निर्माणको हिसाबले भन्नुपर्दा स्वास्थ्य कार्यालय र स्कुल बनाउने कुरालाई प्राथमिकतामा राखेका छौं । कृषिलाई आधुनिकरण गर्ने योजना पनि छ । यसका साथै पूर्वाधार विकासमा पनि हामीले जोड दिँदै आएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.