प्राइम बैंकका सिईओ मानन्धरलाई प्रश्नः सेञ्चुरी बैंकसँग मर्जर गर्न लाग्नु भएको हो ?

  २०७७ माघ २० गते १६:४८     विकासन्युज

विक्रम सम्बत २०२५ सालदेखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका नारायणदास मानन्धर अहिले प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । बैंकिङ क्षेत्रमा ५२ वर्षभन्दा बढी समय विताइसकेका मानन्धरको व्यवस्थापकीय नेतृत्वमा रहेको सो बैंकले चालु आर्थिक वर्षको ६ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आफ्नो नाफा ३९.४ प्रतिशतले बृद्धि गरेको छ ।

अधिकांश बैंकहरुको नाफा गत आर्थिक वर्षको ६ महिनाको तुलनामा यो वर्ष घटिरहेको अवस्थामा प्राइम कमर्सियल बैंकले कसरी नाफा बृद्धि गर्न सक्यो भन्ने आम चासो पनि छ । यस्तै, पछिल्ला केही दिनयता प्राइम कमर्सियल बैंकले सेन्चुरी बैंकसँग मर्जरमा जाने तयारी गरिरहेको छ भन्ने बजार हल्ला पनि चलेको छ । यी लगायत बैंकिङ क्षेत्रका अन्य विषय र खासगरी चेम्बर अर्गनाइजेसनका पदाधिकारीले बैंकहरुबाट अझै राहत र सहुलियत माग गरिरहेको जस्ता सन्दर्भमा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मानन्धरसँग कुराकानी गरिएको छः

कोभिड महामारीको कारण अधिकांश बैंकहरुको नाफा कम देखिएको अवस्थामा प्राइम बैंकले भने गत वर्षको तुलनामा साढे ३९ प्रतिशतले बढाएको छ, यो कसरी सम्भव भयो ?

हामी आफ्नै हिसावमा कन्सिस्टेन्सी रुपमा गइरहेका हुन्छौं । अहिलेको व्यालेन्ससीट हेर्दा तपाईंलाई यो कसरी सम्भव भयो जस्तो लागेको होला । यसअघिका व्यालेन्ससीट हेर्नुभयो भने पनि यस्तै बृद्धि देख्नुहुन्छ । बजारमा प्रतिस्पर्धा गर्नुपर्छ, यो र त्यो गर्नुपर्छ भन्ने हामीलाई छैन । हाम्रो जुन स्ट्रेन्थ छ, जुन अवसर छ, त्यसलाई ट्रयाप गरेर अघि बढ्छौं । हाम्रो नेटवर्क बढ्यो, स्रोत साधन बढ्यो, त्यसैको परिणाम हो यो ।

साच्चै भन्ने हो भने त हामीले जति उपलब्धी हासिल गर्न सक्थ्यौं, त्यति भएन । कोभिडका कारण कति महिनासम्म त हाम्रा कतिपय शाखा नै खुल्न सकेनन् । राम्रोसँग बैंक संचालन हुन पाएन । तर, पनि हामीले अहिले जे जति उपलब्धी हासिल गरेका छौं, त्यो प्राकृर्तिक बृद्धि नै हो । हाम्रो कर्जाको आकार धेरै बढेको छैन । त्यसैले हामीसँग जे छ, त्यसलाई बढाउँदै जान्छौं ।

शहरी क्षेत्रको भित्री बस्तीहरुमा बैंकिङ सुविधा प्रदान गर्नको लागि प्राइम बैंकले सुरुका दिनदेखि जे जस्तो रणनीति अपनाएको थियो, त्यसले पनि बैंकलाई अप्ठेरो अवस्थामा पनि राम्रो उपलब्धी हासिल गर्न सहयोग गरेको हो ?

मैले अघि पनि भनें कि हामी प्रतिस्पर्धा गर्दैनौं । तर, बजारमा नयाँ अवसर भने हेरिरहेका हुन्छौं । जोखिम व्यवस्थापन गर्दै नयाँ अवसर हेरिरहेका हुन्छौं । यसो हुँदा हामीले प्रतिस्पर्धा नै गर्नु परेन । दोस्रो कुरा, हाम्रा क्रेडिट क्लाइन्टलाई हामी कहिल्यै पनि ऋणीको रुपमा लिदैनौं । बैंकले लगानी गर्छु भनेर एक पटक निर्णय गरिसकेपछि उहाँहरुलाई हामी हाम्रै परिवारको सदस्यको रुपमा लिन्छौं । गाह्रो सारो परेको बेलामा ‘साइलक’ गर्दैनौं । सहजीकरणको पहल गरिदिन्छौं । रिकभरको सम्भावना छ भने निकासको लागि हामी नै पहल गरिदिन्छौं । कोभिडको बेलामा राष्ट्र बैंकले ल्याएको प्याकेज असाध्यै राम्रो छ । हामी पनि यस्तै प्याकेज दिन चाहन्थ्यौं । यसको कार्यान्वयन हामी धेरै खुसीका साथ प्रभावकारी रुपमा गरिरहेका छौं ।

उद्योगी व्यवसायीहरु हामीसँग खुसी भएका कारण आएर भन्ने गर्छन् कि बरु हामी आधा वा एक प्रतिशत बढी व्याज तिर्न पनि तयार छौं, प्राइम बैंक छोड्दैनौं भन्छन् । हाम्रो व्यवहारले गर्दा पनि उहाँहरुलाई घरायसी वातावरण महसुस भयो होला । कोभिडको बेलामा पनि हाम्रो बैंकको परिसुचक राम्रा देखिनुको कारण यस बैंकका सबै ग्राहकले देखाउनु भएको आत्मिय भाव पनि हो । प्राइम बैंकले हामीलाई राम्रो व्यवहार गरेको छ, हाम्रा लागि अझै केही गर्दैछ, हामीले पनि यो बेला सहयोग गर्नुपर्छ भनेर कर्जाको किस्ता तिरेको अवस्था हो । भन्नाको मतलब के हो भने हामीले राम्रो व्यवहार गर्यो भने ग्राहकले पनि हामीसँग राम्रो व्यवहार गर्छन् ।

कोभिड महामारीपछि पनि बैंकहरुको वित्तीय अवस्था खराब देखिदैन, यसले नेपालमा वित्तीय अनुशासनको अवस्था राम्रो रहेको देखाउँछ, ऋणीहरुले भने तपाईंहरुसँग भेट्दा कस्तो प्रकारको प्रतिक्रिया जनाएका छन् ?

सबै कुरालाई जनरलाइज्ड गर्नु हुँदैन । सबै क्षेत्रमा राम्रो र नराम्रो भन्ने हुन्छ । बैंकमा पनि कतिपय व्यक्तिहरु आफै जिद्दी, आफै जान्ने पल्टिने, मै हूँ भन्नेहरु हुन्छन् । यस्तो प्रबृत्तिलाई हामीले स्वीकार गरेर अपवादको रुपमा लिनुपर्छ । नत्र, सामान्य रुपमा कोही मान्छे पनि बद्मास हुन खोज्दैन । कामै गर्छु, केही व्यवसाय नै गर्छु, त्यसैबाट व्यवहार चलाउँछु, परिवार पाल्छु भनेर आएको मान्छे बद्मास हुन खोज्दैन । यस्ता मान्छेको संख्या ९९ प्रतिशत जति हुन्छ होला । ऋण नतिरेको कुरा गाउँमा थाहा कि, ऋणमा परिएला कि ? ऋणमै मरिएला कि भनेर डराउँने मान्छेको संख्या धेरै छ । यो मान्यता बैंकको पुँजी हो । तर, हामीले पनि जनताको पैसा लिएर बसेका हुन्छौं । कसैले लगेको ऋण तिरेन भनेर खाएर जाओस् भनेर बस्न सक्दैनौं । बद्मासी गर्न खोज्ने र चाहने केही व्यक्तिहरुलाई हामीले पनि कारबाही गरेका छौं । समग्रमा भन्नुपर्दा ग्राहकले हामीप्रति राम्रो र सकारात्मक प्रतिक्रिया जनाउनु भएको छ, वित्तीय विवरणले पनि सोही प्रकारको अवस्था देखाएको छ ।

असोज मसान्तपछि ऋण तिर्नेक्रम बढेको हो ?

अरु बैंकहरुको बारेमा त जानकारी भएन, हाम्रो बैंकको हकमा भने त्यस्तो देखिन्छ । कोभिड महामारीको बेलामा नेपाल राष्ट्र बैंकले केही खास व्यवस्थाहरु गरेको छ । त्यसको कारण बैंकहरुले क्षणिकको लागि नोक्सान व्यहोर्नु परेको होला । बैंकहरुले अहिले गरेको कर्जा नोक्सानी व्यवस्था भनेको नोक्सानी होइन । क्षणिकको लागि मात्रै हो । त्यसैले पछिल्लो समय कर्जा असुलीको अवस्था राम्रो देखिन्छ ।

कोभिड महामारीको असर अर्थतन्त्रमा जुन प्रकारको जोखिम देखिएला भन्ने अनुमान गरिएको थियो, त्यस्तो जोखिम देखापरिसकेको हो कि अझै गहिरो रुपमा देखापर्छ होला ?

साच्चै भन्ने हो भने त हामी एक हिसावले भाग्यमानी पनि देखियौं । संसारमा जस्तो खालको पेनफुल अवस्था देखापर्यो, नेपालमा त्यो रुपमा देखा परेन । यसैकारण हामी भाग्यमानी देखियौं भनेको हूँ । अन्य देशमा जस्तो असर नपर्नुका धेरै कारणहरु होलान् । जस्तो कि अन्य देशमा जस्तो गरी हाम्रोमा कोभिड फैलिएन होला । बैदेशिक रोजगारीबाट जति मानिस नेपाल फर्केलान् र अवस्था जसरी भयावह होला भनेर अनुमान गरिएको थियो, त्यसको उल्टो रेमिटान्स अप्रवाह बढ्यो । अनुमान गरे जसरी मानिसहरु नेपाला फर्किएनन् होला । उपभोग कम भएका कारण हाम्रो व्यापार घाटा कम भयो होला । त्यसले पनि हाम्रो अर्थतन्त्रलाई स्वास्थ्य राख्न सहयोग गर्यो होला । हामीलाई गम्भीर असर परेको भनेको रोजगारीमा हो । धेरैको रोजगारी गुम्यो ।

अबको दिन कस्तो होला त भन्दा अब कोभिडको असर धेरै देखिएन । अब रिभाइबलको चान्स बढ्यो । यही अवस्थामा सरकारले पनि केही राम्रो काम गर्न खोजेको छ । नेपाल राष्ट्र बैंकले त वान्डरफुल काम गरिदिएको छ । साह्रै राम्रो प्याकेज दिएको छ । माहामारी अब बढेन भने अब आर्थिक असर बढ्दैन ।

कर्जा असुलीका लागि नेपाल राष्ट्र बैंकले दिएको नीतिगत सुविधाको समय सकिएपछि फेरि संकट आउने हो कि ?

राष्ट्र बैंकले जस्तो प्याकेज ल्याइदियो, त्यसले गर्दा सबै पक्ष बच्यो । हामी सबैलाई थाहा छ कि पसल बन्द छ, उद्योग बन्द छ, गाडी चल्न पाएको छैन, होटल बन्द छ, सिनेमा हल बन्द छ, जागिर गुमेको छ, यस्तो बेलामा कसले कहाँबाट पैसा ल्याएर ऋण तिर्ने ? बैंकले जनताको पैसा चलाएको छ, सधै नोक्सानी देखाएर कतिन्जेल बैंक चलाउन सकिन्छ ? ऋणीलाई राहत नदिई ऋणमाथि ऋण थपेको भए उनीहरुले कहाँबाट पैसा ल्याएर ऋण तिर्ने ? समस्या हुन्थ्यो । राष्ट्र बैंकले यो समस्या समाधान गरिदियो ।

अर्काेतिर, आफ्नो व्यवसाय संचालन गर्न रिफाइनान्सको माध्यमबाट स्रोतको व्यवस्था पनि गरिदियो । राष्ट्र बैंकले यस्तो सुविधा नदिएको भए बैंकहरुले पनि केही गर्न सक्दैनथे । यो समस्यालाई राष्ट्र बैंकले बढो राम्रो किसिमबाट समाधान गरिदियो ।

राष्ट्र बैंकले दिएको सुविधाको म्याद सकिन लाग्दा नेपाल उद्योग वाणिज्य महासंघ लगायत चेम्बर अर्गनाइजेसनहरुले फेरि पनि व्याज छुट दिनुपर्यो, कर्जा पुनर्तालिकरणको अवसर फेरि दिनुपर्यो, यसपालीको जस्तै गरी मौद्रिक नीतिमार्फत पुनः सहुलियतका कार्यक्रम ल्याउनु पर्यो भनेर नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्री जस्ता व्यक्तित्वहरुलाई भेटेर लविङ गरिरहेका छन् नि ?

उहाँहरुको विषयमा म भन्न सक्दिनँ । उहाँहरुलाई कुन विषयमा पेन फिल भएको, कतिसम्म राहत चाहिएको, कति सुविधा चाहिएको भन्ने थाहा भएन । हाम्रो अर्थतन्त्र पनि हेर्नुपर्यो । यसपालीको कोभिड महामारीले मलाई त गज्जवको इम्प्रेसन दियो । म गलत पनि हुन सक्छु । के इम्प्रेसन दियो भने उहाँहरु नेपालको जनता हो कि होइन ? नेपाली दाजुभाइ दिदीबहिनीहरु हो कि होइन ? तपाईंलाई परेको समस्या मलाई, मलाई परेको समस्या तपाईंलाई भन्ने मान्यता उहाँहरुको हो कि होइन ? समाजमा यत्रो असर पर्दाखेरी उहाँहरु कहाँ रहनुभएको थियो ? उहाँहरुको आम्दानी ५ सय करोडमा एक लाख थप्नै पर्ने ? आफ्नो भएकोबाट केही सहयोग गर्न तयार किन हुनुभएन ? कति मान्छेहरु अरुलाई खाना खुवाउने, औषधी बाढ्ने, मास्क र सेनिटाइजर बाँड्न लागेका छन् । उहाँहरुको क्षेत्रमा के भएको छ ? आफ्नै दाजुभाइ दिदीबहिनीलाई समस्या परेको बेलामा मेरो खल्तीमा भएको १० रुपैयाँबाट २/३ रुपैयाँ दिन म किन नसक्ने ? उहाँहरुले त्यो गरेको कहिल्यै सुनिएन । ख्वै उहाँहरु । जहिले पनि सबै मिनाहा गरिदिनु पर्यो भन्ने ? बैंकले यति सेयर हालेर यति नाफा गर्यो भन्ने गुनासो आउँछ । उहाँहरुको नाफाको कहिल्यै राम्रोसँग हिसाव गरेको छ ? बैंकहरुले त जनताको अर्बाैं, खर्बाैं रुपैयाँ चलाएर उनीहरुलाई व्याज दिएर नाफा कमाएको हो । उहाँहरुले कति पुँजी लगानी गरेर कति नाफा गर्नुभएको छ ? पारदर्शी ढंगले हिसाव देखाएको छ ? त्यसैले उहाँहरुको कुरा सुहाएन ।

समाज सेवाको लागि उहाँहरुले अहिले के गरिरहनु भएको छ ? अब यिनीहरुलाई त ऋण नै सबै मिनाहा भनिदिए हुन्छ । अनि मात्रै खुसी होलान् । र, थप चाहियो भन्लान् ।

चेम्बर अफ कमर्श, नेपाल उद्योग वाणिज्य महासंघ वा यस्तै कुनै चेम्बर अर्गनाइजेसनमा बस्नेहरु पनि नेपाली दाजुभाइ दिदीबहिनी नै हुन् । नेपालमा आफ्ना दाजुभाइ दिदीबहिनीलाई आपत परेको बेलामा सधै सरकारको मात्रै मुख ताक्ने ? सरकारको त्यति क्षमता छ ? अमेरिका, बेलायत, क्यानडा, जापानमा सरकारले गरे जस्तो व्यवहार यहाँ गर्न सरकारसँग क्षमता छ ? छ भने भनौं । छैन भन्ने हो भने हामी सबै मिलेर समस्याको समाधान गर्न सकिन्छ । होस्टेमा हैसें हुन्थ्यो नि । यो त भएन ।

बरु हामी जनताबीचबाट कसलाई के राहत दिनुपर्यो, कसले कसरी सहयोग गर्न सकिन्छ भनेर लागिरहेका छौं । तर, उहाँहरुमध्ये एक दुई जना बाहेक कसले के गर्यो भनेर हेरौं न । केही गर्नेहरुले पनि आफ्नो क्षमता अनुसार गरेको भने देखिएन । आफ्नो गोजीमा भएको रकमबाट केही सहयोग गर्दा आफू टाट पल्टिने त होइन । समाज सेवाको लागि उहाँहरुले अहिले के गरिरहनु भएको छ ? अब यिनीहरुलाई त ऋण नै सबै मिनाहा भनिदिए हुन्छ । अनि मात्रै खुसी होलान् । र, थप चाहियो भन्लान् ।

उद्योगी व्यवसायीले बैंकरलाई ‘ह्वाइट कलर’ वा टाई लगाउने गुण्डा जस्ता शब्द पनि प्रयोग गर्ने गरेको सुनिन्छ तर, आजको दिनमा बैंकिङ क्षेत्रमा जम्मा भएको निक्षेपको औसत व्याज ६ प्रतिशत मात्रै हिसाव गर्ने हो भने पनि २ अर्ब रुपैयाँभन्दा बढी त व्याजको रुपमा ग्रामीण क्षेत्रका कन्तुर वा थैलीमा राखिने पैसाको लागि पनि प्रदान गरिरहेका छन्, आफूहरुले यसरी आर्थिक योगदान गर्दा पनि उल्टै नमिठा शब्दहरु सुन्नुपर्दा तपाईंलाई कस्तो महसुस हुन्छ ?

सबैको आ–आफ्नो स्वभाव र शैली हुन्छ । कसैले भनेको कुरा सही रहेछ, म गलत रहेछु भने त्यो सुनेर म सच्याउछु । मेरो आलोचना वा विरोध गर्ने व्यक्तिलाई म गुरु मान्छु । तर, हामीले गरेको कामको कारण समाज र देशलाई नै फाइदा भएकोले हामीप्रति सम्मान प्रदर्शन होस् भन्ने तपाईंको जुन आसय छ, त्यसको तपाईं अपेक्षा नगर्नुहोस् । मेरो स्वभाव के हो भने म आफूले सकेजति गर्छु । तर, त्यसको प्रतिफलको अपेक्षा म गर्दिनँ । मैले खोजेको काम भयो कि भएन भनेर मूल्यांकन गर्छु । कुनै निहित स्वार्थको लागि मैले केही गरिरहेको छु भने म गलत भएँ । तर, निस्वार्थ रुपमा केही गरिरहेको छु भने त्यो उसको कुरा हो ।

कोही मानिसले खान पाएको छैन, कसैले उसको घरमा गएर खाना दिन्छ भने उसले जस्तो प्रतिक्रिया देखाए पनि केही फरक पर्दैन । उसले त यत्रो भएर पनि यति थोरै दिने पनि भन्न सक्छ । फूर्ती लाउन दिएको पनि भन्न सक्छ । त्योसँग हामी किन लाग्ने ? हाम्रो कर्तव्य पूरा भयो कि भएन भनेर मात्रै आफूले ध्यान दिने हो ।

मर्जर र एक्विजिसनअघि प्राइम बैंक थोरैभन्दा थोरै कर्मचारीबाट अधिकतम प्रतिफल प्राप्त गर्नेमध्येमा पर्ने गरेको थियो, मर्जर एक्विजिसनपछि कर्मचारीको उत्पादकत्वमा केही कमि आएको हो ?

त्यस्तो भएको छैन । हाम्रोमा एक प्रकारको वर्किङ कल्चर छ । हाम्रोमा सबैभन्दा पहिला कर्मचारीलाई उसको जिम्मेवारीको बोध गराउँछौं । यहाँ तिमी किन बसिरहेका छौं भनेर हामी ओरेन्टेसन दिन्छौं, तालिम दिन्छौं । सबैलाई केही गरौं, केही देखाउँ भन्ने हुन्छ । हामीले त्यो मौका सबैलाई दिने गरेका छौं । बैंकका सबै कर्मचारी पढेलेखेका हुन्छन् । आफै जान्ने र परिस्थितिको सामना गर्न सक्ने क्षमताका हुन्छन् । उनीहरुलाई केही समस्या पर्यो भने हामी हरसम्भव प्रयत्न गर्छाैं ।

जस्तो कि कोभिड महामारीको बेलामा हाम्रा कर्मचारीलाई सुरक्षित राख्न हामीले केही कसर बाँकी राखेनौं । भगवानको कृपाले हामी सफल पनि भयौं । तपाईंले भने जस्तै अर्काे कल्चरबाट आएका कर्मचारीहरु यो कल्चरमा आएपछि केही भिन्नता महसुस गरेका हुन्छन् । पछिल्लो मर्जरकै कुरा गर्ने हो भने त्यो मर्जर प्रक्रिया पूरा हुने वित्तिकै कोभिड महामारी सुरु भयो । त्यसैकारण हामीले चाहे जस्तो गरी ओरेन्टेसन दिन पाएनौं । त्यहाँनेर केही सामान्य असर परेको छ । अब परिस्थिति सामान्य हुँदैछ, उनीहरुलाई ओरेन्टेसनदेखि तालिमसम्म प्रदान गरेर सहजीकरण गर्छाैं ।

मर्जरका बारेमा तपाईंहरुको अबको रणनीति के हो ?

यो विषय अब सरकारको नीति वा देशको आवश्यकतामा भर पर्छ । यसै भन्न सकिदैन । मर्जर हामीलाई आफैमा आवश्यकता अब होइन । पुँजीको हिसावमा, नेटवर्कको हिसावमा, लगानीकर्तालाई प्रतिफल दिने हिसावमा, कर्मचारीलाई दिने सुविधाको हिसावमा वा अन्य कुनै पनि कारणले हामी असाध्यै राम्रो अवस्थामा छौं । त्यसैले अब हामीलाई मर्जर अव आवश्यक होइन । तर, पनि कहिले काँही नीतिगत व्यवस्थाको कारणले वा आर्थिक अवस्थको कारणले पनि मर्जर गर्नुपर्ने हुन्छ । आवश्यकता पर्यो भने मर्जरको लागि हामी खुल्ला छौं । अब हामीलाई मर्जर आवश्यक छैन भनेर स्वार्थ केन्द्रीत भएर हामी पन्छिदैनौं । किनभने हाम्रो पनि जिम्मेवारी हुन्छ । हामी त्यो जिम्मेवारी पूरा गर्न तयार छौं ।

अब मर्जर र एक्विजिसनको लागि वाणिज्य बैंक नै खोज्ने हो ?

जुन पनि हुन सक्छ । वाणिज्य बैंक वा विकास बैंक जुन पनि हुन सक्छ । हामीलाई यो नै चाहिन्छ भन्ने छैन ।

कुनै बैंक वित्तीय संस्थाहरुसँग कुरा भइरहेको छ ?

त्यस्तो सिरियसली कुरा भएको छैन । अहिलेको अवस्थामा जुनसुकै बैंक वित्तीय संस्थाहरुलाई मर्जर र एक्विजिसनको प्रस्ताव आइरहेकै हुन्छ । यो कुन नौलो कुरा भयो र । अहिले बैंक वित्तीय संस्थालाई मर्जर र एक्विजिसनको प्रस्ताव आउनु भनेको त विहे गर्ने उमेर पुगेका केटाकेटीलाई बिहेको प्रस्ताव आए जस्तै हो । हामी मर्जरको ओपन छौं ।

सेन्चुरी बैंकसँग मर्जर गर्न लाग्नुभएको हो ?

यो विषयमा बजारमा निकै हल्ला चलेको मैले पनि सुनेको छु । यो नितान्त हल्ला मात्रै हो । सेन्चुरी मात्रै होइन, अरु कुनै पनि बैंकसँग मर्जर गर्ने वा नगर्ने भन्ने हिसावले हाम्रो कुरा भएको छैन ।

सम्बन्धित सामग्री

२०३८ सालदेखि जागिर छोड्न चाहेको तर अझै पाएको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.