पञ्चायतकालमा जस्तो योजनाहरु खल्तीबाट झिकेर आफ्ना कार्यकर्तालाई दिने शैली अझै गएको रहेनछ- अध्यक्ष थापा

  २०७७ माघ १९ गते १९:५३     विकासन्युज

बागमती प्रदेश अन्तर्गतको नुवाकोट जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिकाका हो ‘शिवपुरी गाउँपालिका’ । यो गाउँपालिकाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपले फरक विशेषता बोकेको छ । यस भूमीमा ऋषि तथा तपस्वीहरुले भगवान शिवको तपस्या तथा आरधाना गर्दथे भन्ने पौराणिक कथनका आधारमा यस गाउँपालिकाको नाम शिवपुरी रहन गएको किंवदन्ती छ । लेक, बेँसी, पहाड लगायतका भुबनोटले बनेको यस गाउँपालिकाको भूमी खेतीयोग्य छ ।
यस गाउँपालिकामा विभिन्न जातजाति, भाषा, धर्म, रीतिरिवाज, परम्पराका मानिसहरु मिलेर बसेका छन् । मध्यपहाडी लोकमार्गले शिवपुरी गाँउपालिकालाई बिचबाट छिचोलेको छ भने टोखा छहरे सडकले पश्चिमपट्टी बाट काटेको छ । काठमाडौं बाट एकदम नजिक रहेको यो गाउँपालिकाले विकास र सम्बृद्धि तर्फ प्रचुर संभावना बोकेको छ भन्दा अत्युक्ति हुँदैन ।
गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ? जनप्रतिनिधीहरु निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा आएको परिर्वतन के–के छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कसरी भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रीत रहेर सो गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश ।

गाउँपालिकामा कोरोना महामारीले पुर्याएको असर तथा हालको ताजा अवस्था वारे केही बताइदिनुस् न

कोरोनाले समग्र विश्वलाई नै स्तब्ध बनाएका वेला हाम्रो गाउँपालिकामा चाहिँ असर नपुग्ने कुरै भएन । सरकारले गरेको लकडाउनको सुरुवाती दिनहरुमा हामीलाई क्वारेन्टिन व्यावस्थापन गर्न पनि समस्या भएको थियो । कोरोनाले गाउँपालिकामा हुन लागेका विकास निर्माणका काममा पनि नकारात्मक असर पुग्न गयो । सो वेला हामिले ८ बेडको आइसोलेसनको व्यवस्था गरेका थियौं । यहाँका धेरै नागरिकहरुलाई कोरोना पोजिटिभ देखा परेको थियो । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरु पनि सामान्य रुपमा जीवन यापन गरिरहेका छन् । हाल कोरोना विरुद्धको खोप नेपालमा पनि आइसकेको हुनाले सो खोप लगाउनको लागि हामीले स्वास्थ्यकर्मी साथिहरुलाई पालोपालो गर्दै काठमाडौं पठाइरहेका छौं ।

गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ?

हामीले ४ करोड रुपैयाँको लागतमा गाउँपालिकाको भवन निर्माण गरेका छौं । कोल्ड स्टोरको निर्माण अन्तिम चरणमा पुगेको छ । चिसो बनाउने मेशिन खरिद गर्नको लागि अहिले हामी टेन्डरकै प्रकियामा छौं । ठुलो योजनाको रुपमा हामीले शिवपुरी कृषि रिङ्गरोड बनाउँदैछौं । गाउँपालिकाका कूल ७० कि.मि को रहने यो सडकको ९० प्रतिसत ट्रयाक हामिले खोलिसकेका छौं । माथिका कृषि उपजलाई तल झार्ने र त्यसैगरी तलका कृषि उपजलाई माथि लग्दै बजारीकरणलाई सहज बनाउने उद्देश्य हामीले लिएका छौं ।
१ नं वडा पर्यटकिय स्थल हो जसमा भ्यु टावर बनाउने योजना छ । स्वास्थ्य भवनको निर्माण भइरहेको छ । १० बेडको अस्पताकोे डिपिआर टेन्डर गरी सकेका छौं । गाउँपालिका भित्र शिवपुरी रङ्गशालाको निर्माण गरेका छौं । यी विभिन्न योजानहरुमध्ये केही सम्पन्न भइसकेका छन् भने केहि चाहिँ सम्पन्न हुने क्रममा छन् । राम्रो काम गरेकै हुनाले हामी जिल्ला बाट सम्मानित पनि भएका छौं ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ नि ?
तिन ठाउँको सरकारको समन्वय हुनु पर्ने रहेछ । आधारशिला र बेस चाहिँ स्थानीय तहनै रहेछ । जसले जे काम गरेपनि विकास गरिने भनेको स्थानीय तहमा नै हो । आफुले जाने अनुसार अनि भ्याए अनुसार समन्वय गरेर नै अगाडी बढिरहेका छौं । फरक पार्टिको नेतृत्व हुँदा हँुदै पनि समन्वय गरेरै अगाडी बढेका छांै । तर पञ्चायतकालमा जस्तो योजनाहरु खल्ती बाट झिकेर आफ्ना कार्यकर्तालाई दिने शैली भने अझै पनि गएको रहेनछ ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकारबाट पाउनुपर्ने सहयोग पाइरहेकै छौं ।

गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ?

यहाँ भएका विकास निर्माणका कामहरु निक्कै नै प्रभावकारी छन् । यसले मलाई खुसी र सन्तुष्ट पनि बनाएको छ ।

तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित हुनु भन्दा पछाडि गाँउपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ?

हामी निर्वाचित हुनुभन्दा अघि जनता कतिपय पहुँचबाट टाढै रहेका थिए । उनीहरुले समस्या पोख्ने ठाउँ खासै पाएका थिएनन् पनि । संविधानको परिकल्पना अनुसार स्थानीय सरकार बनिसके पछि जनताहरु समस्या लिएर आउनसक्ने भएका छन् । हामी निर्वाचित भएर आएपछि गाँउपालिकाको स्वास्थ्य क्षेत्रमा पनि ठूलो परिर्वतन आएको छ । अहिले हामीले गाउँपालिकामा एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सेवा पनि सञ्चालन गरिरहेका छौं । यस बाहेक यहाँको सडक, खानेपानी, शिक्षा लगायतको क्षेत्रहरुमा पनि धेरै परिर्वतन आइसकेको छ ।

निर्वाचित भएको ३ बर्ष पूरा हुँदा तपाईंले गरेका सम्झिन लायक कामहरु के–के रहेका छन् त ?

त्यस्ता काम धेरै नै छन् जस्तो लाग्छ । गाँउपालिकाको भवन बनेको छ । ४ वटा वडाको भवन निर्माण भइसकेको छ भने अन्यत्रका भवनहरु बन्ने क्रममा छन् । तरकारी भण्डारण गर्नका लागि भनेर कोल्ड स्टोरको निर्माण गरिएको छ । अघिनै पनि भनिहालेँ स्वास्थ्य भवनको निर्माण भइरहेको छ । त्यसैगरी, कृषि उद्योग संकलन केन्द्र विभिन्न ठाउँमा बनाएका छौं । सहकारीसँग मिलेर ढुवानी सेवाको व्यवस्था गरेका छौं । १० बेडको अस्पतालको लागि पनि टेन्डर भएको छ ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न केकस्ता कदम चाल्नुभएको छ ?

हाम्रो गाँउपालिका काठमाडौं बाट नजिकै छ । यहाँ रहेको चिसापानी एरिया निकै मनमोहक छ । यसको विकासको लागि हामीले विभिन्न योजना पनि बनाएका छौं । यो ठाउँमा हामीले पार्क, भ्युटावर बनाउन योजना अगाडी सारेका छौं । पर्यटन प्रवद्र्धनका लागि बेला बेलामा कार्यक्रमहरु पनि गर्ने गरेका छौं । त्यसैगरी, होमस्टेको अवधारणा पनि अघि बढाएका छौं ।

गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

कृषि विकास गर्नकै लागि भनेर हामीले गाउँपालिकामा धेरै किसिमका कामहरु गर्दै आइरहेका छौं । यहाँका धेरै मानिसहरु कृषि पेशामा आवद्ध रहेका छन् । यहाँ कोदो, धान र मकै प्रशस्त मात्रामा उत्पादन हुने गरेको छ । मध्यपहाडी लोकमार्गले १२ महिनानै किसानको पँहुच बजारसम्म पुर्याएको छ । हामीले पछिल्ला दिनमा फलफुल, तरकारी तथा पशुपालनमा जोड दिइरहेका छौं । कृषिलाई व्यवसायिक बनाउनु पर्छ भनेर हामी लागिपरेका छौं । सुरुका दिनमा हामिले किसानलाई एक–एक ओटा टनेल वितरण गरेका थियौं । ‘कृषकको लगानी गाउँपालिकाको ढुवानी’ भन्ने नारालाई मूर्तरुप दिइरहेका छौं । यहाँ उत्पादान हुने गरेका फलफुल बाट जाम अथवा जुस बनाउनका लागि मेशिन पनि खरिद गरेका छौं । गाउँपालिकाको समृद्धिको मुल आधार कृषि नै हो । हामीले गाउँपालिकामा कृषि बीमाको पनि सुरुवात गरेका छौं । च्याउ खेतीका लागि हामीले पकेट क्षेत्र पनि छुट्याएका छौं ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

यहाँका कतिपय युवा विदेश गएका छन् भने कतिपय चाहिँ आर्मी अथवा प्रहरीमा भर्ती भएका छन् । कोभिडको कारण बिदेश वाट धेरै युवाहरु गाउँ आए । हामीले त्यसरी आएका युवाहरुलाई कृषिमा आत्मनिर्भर बन्नुपर्छ भनेका छौं । बरु उनीहरुलाई ऋणको पनि सहजिकरण गर्ने व्यवस्था मिलाएका छौं ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ?

हाम्रो गाउँपालिकामा ठुलो उद्योग रहेको छैन । छिटपुट रुपमा साना खुद्रा पसल मात्र खुलेका छन् । अहिले हामीले खोल्न लागेको जुस बनाउने उद्योग नै सम्भवतः गाँउपालिकाकै ठुलो उद्योग हुनेछ । यहाँ दुधको उत्पादन प्रशस्त मात्रामा हुने गरेको छ । काठमाडौंमा त झन् शिवपुरीको दुध फेमस नै रहेको पाइन्छ ।

तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ?

मैले गरेको कार्यप्रति म एकदमै सन्तुष्ट छु । सबैसँग समन्वय गर्दै काम गरिरहेको छु । त्यसैले पनि होला गाउँपालिकामा पहिलेको तुलनामा अहिले निक्कै परिर्वतन पनि आएको छ ।

तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने सोच्नुभएको छ ?

अझ धेरै विकास गर्नपाए हुन्थ्यो भन्ने सोचिरहन्छु । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरुबाट लाभ लिइरहन सकुन भन्ने चाहना छ । गाउँपालिकमा रहेका सबै वडामा विद्युत पुर्याएका छौं भने अब चाहिँ सबै घरमा सडक पुर्याउने योजना बनाएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.