साना तथा मझौला उद्योग खोल्न चाहने युवालाई ऋण उपलब्ध गराइरहेका छौं- गाउँपालिका अध्यक्ष खुलाल

  २०७७ माघ १७ गते ६:००     विकासन्युज

‘खानीखोला गाउँपालिका’ बागमती प्रदेश अन्तर्गतको काभ्रे जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपले फरक–फरक विशेषता बोकेको यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । यसका पूर्वमा महाभारत, पश्चिममा महांकाल, उत्तरमा वेथान र दक्षिणमा वागमती गाउँपालिका रहेका छन् । राजधानी काठमाडौंबाट १३२ कि.मी.को दूरीमा रहेको यो गाउँपालिका शितल छ, शान्त अनि प्रदुषणरहित पनि छ ।
कोरोनाकाल पछि गाउँपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ, गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, युवालाई रोजगारीको अवसर गाउँपालिकाले कसरी सिर्जना गरिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै सो गाउँपालिकाका अध्यक्ष कृष्ण वहादुर खुलालसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः

गाउँपालिकामा कोरोनाले पुर्याएको असर साथै हालको अवस्थाका वारेमा पनि केहि बताइदिनुस न ?

कोरोनाले हाम्रो गाउँपालिकामा ठुलो असर पुर्याएको छ । हामीले गाउँपालिकामा २५ बेडको क्वारेन्टिन स्थापना गरेका थियौं भने आइसोलेसन चाहिँ ५ बेडको बनाएका थियौं । कोरोनाले यहाँको शिक्षा क्षेत्रका साथै विकास निर्माणका काममा पनि गम्भिर असर पुर्यायो । आजका दिनमा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । अहिले हामीले माक्स, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर विद्यालयको पठनपाठन सञ्चालन गर्ने गरेका छौं । सर्वसाधारणहरु पनि त्रास रहित भएर आ–आफ्नो काम गरिरहनुभएको छ ।

तपाईंले गाउँपालिकामा कस्तो किसिमको योजनालाई प्राथमिकता दिएर काम गरिरहनुभएको छ ?

हामीले गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतलाई प्राथमिकतामा राखेका छौं । गाउँपालिकामा रहेको सबै वडाहरुमा सडक पुगेका छन् । हामीले अस्पतालमा औषधीको कमी हुन दिएका छैनौं । भुकम्पले क्षति गरेका विद्यालयहरुको भवन पनि निर्माण गरेका छौं । भौतिक पुर्वाधारको काममा पनि हामीले जोड दिएका छौं ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ?

स्थानीय तह र प्रदेश सरकार बीच हामीले विभिन्न किसिमका योजनाहरुमा छलफल गर्ने गरेका छौं । स्थानीय तह र प्रदेश सरकारबीच हामीले सहभागीतामुलक समन्वय गरिरहेका छौं । उपभोक्ता समितीमा चाहिँ सामान्य समस्या रहेको छ ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकारले गाउँपालिकामा ठुला योजना र कार्यक्रमहरु गर्न सकेको छैन । केन्द्र सरकारसँग ५ बर्षे योजनामा हामी छलफल गरेर नै अगाडि बढ्ने गरेका छौं । भनौं न, सामान्य सहयोग भएपनि केन्द्र सरकार बाट मिलिरहेकै छ ।

तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित हुनुभन्दा पछाडि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन् नि ?

हामी निर्वाचित हुनुभन्दा अगाडिको तुलनामा आज गाउँपालिकामा धेरै परिवर्तन आइसकेको छ । विकास निर्माणतर्फ व्यापक परिवर्तन आएको छ भने यहाँका नागरिकको आर्थिक स्थितीमा पनि परिर्वतन आएको देख्न सकिन्छ । म निर्वाचित हुनुभन्दा अगाडि बजेटको आकार पनि सानो रहेको थियो । काम गर्ने तरिका पनि छिटो छरितो थिएन । नगरिकको माग पनि पूरा हुने गरेको थिएन । म निर्वाचित भईसकेपछि विभिन्न क्षेत्रमा परिवर्तन र सुधार आएको छ । सडकको व्यवस्थापन गर्ने काम पनि भइरहेको छ ।

तपाईं निर्वाचित भएको ३ वर्ष पुरा हुँदा गाउँपालिका भित्र सम्झिन लायक काम के–के छन् जस्तो लाग्छ ?

गाउँपालिका भित्र हामिले गरेका सम्झिन लायक कामहरु धेरै नै छन् । विद्यालयका नयाँ भवनको निर्माण गर्नु, शिक्षा क्षेत्रलाई १ करोड रुपैयाँ बरावरको अनुदान दिनु, खोलामा पुल निर्माण गर्नु, खानेपानी घरघरमा पुर्याउने वातावरण बनाउनु, आधुनिक कृषि प्रणालीमा यहाँका नागरिकलाई अवसर प्रदान गर्नु, पर्यटन क्षेत्रमा पनि क्रमिक विकास गर्नु, गाउँपालिका भित्र स्वास्थ्य सेवा उपलब्ध गराउनु लगायतका कामहरु सम्झिन लायकका काम हुन् जस्तो लाग्छ ।

गाउँपालिकामा भएगरेका विकास निर्माणका कामहरु सबै नै प्रभावकारी नै छन् त ?

हेर्नुस्, हामी त यसमा सन्तुष्ट रहेका छौं । कतैकतै काम गर्ने मानिसहरुले विगारे पनि होलान् तरपनि यहाँ गरिएका विकास निर्माणका कामहरु सबै नै प्रभावकारी नै भएका छन् भन्ने ठानेको छु ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ?

हाम्रो गाउँपालिकामा प्रशस्त मात्रामा पर्यटकिय क्षेत्रहरु रहेका छन् । हामीले गाउँपालिकमा रहेको सबै मठ मन्दिरको संरक्षण गर्दै यसको प्रचारप्रसार पनि गरिरहेका छौं । आकर्षक पदमार्ग, विभिन्न धार्मिक स्थलहरु लगायतलाई प्रचारप्रसार गर्नतर्फ हामिले ध्यान दिएका छौं । हामीले गाउँपालिकामा पर्यटन पूर्वाधारका लागि भनेर वार्षिक ६० लाख रुपैयाँ छुट्याउने गरेका छौं ।

तपाईसँग चुनाव लडेका प्रतिस्पर्धीको साथ कस्तो पाइरहनु भएको छ ?

हामी उहाँहरुसँग समन्वय गरेर नै अगाडि बढिरहेका छौं । चुनाव भनेको एउटा निर्वाचित भएर आउने विधि हो । सबै बाट साथ र सहयोग मैले पाइनै रहेको छु ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

गाउँपालिकाका बढिजसो युवाहरु कृषिक्षेत्रमा लाग्नुभएको छ । युवाहरु रोजगारीका लागि बिदेश जानु नपरोस् भनेर हामीले विभिन्न कार्यक्रमहरु पनि ल्याएका छौं । युवाहरुलाई विकास निर्माणको काममा लगाएर पनि हामीले रोजगारी दिने वातावरण सृजना गरेका छौं । साना तथा मझौला उद्योग खोल्न चाहने युवाहरुलाई ऋण पनि उपलब्ध गराउँदै आएका छौं ।

गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

हाम्रो गाउँपालिकाले कृषि विकासका लागि धेरै नै काम गर्दै आइरहेको छ । हामीले गाउँपालिकामा जमीनलाई बाँझो नराख्न तथा खेतीयोग्य जमीनको पूरापूर उपभोग गर्न आग्रह गर्ने गरेका छौं । यहाँ रासायनिक मलको अभाव रहेको छ । हामीले सबै वडामा कृषि समिति बनाएका छौैं । खेती गर्नेहरुकालागि विउहरु अनुदानमै उपलब्ध गराउने गरेका छौं । बेमौसमी तरकारीको विउ गाउँपालिकाले निःशुल्क रुपमै उपलब्ध गराइरहेको छ । हाम्रो गाउँपालिकामा नगदे वालीको रुपमा कफि खेती हुने गरेको छ । मकै, धान, कोदो लगायत पनि उत्पादन हुने गरेका छन् । यहाँ उत्पादन गरिएका खुवा काठमाडौंका विभिन्न ठाँउमा विक्री गर्नका लागि लैजाने गरिन्छ ।

तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?

मेरो कार्यकालमा गाउँपालिकालाई फरक र अरु गाउँपालिकाभन्दा विकसित बनाउने योजना रहेको छ । बजेटको अभावले गर्दा चाहिँ सोचेजस्तो काम गर्न पाइएको छैन । मूल रुपमा सडक, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई उदाहरणीय बनाउने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.