सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

  २०७७ माघ १२ गते ९:१८     विकासन्युज

काठमाडाैं । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उहाँ आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । टस जितेर सिड्नी सिक्सर्सले फिल्डिङ रोजेपछि होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १८८ रन बनायो । सिड्नीले २० ओभरमा आठ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो ।

होबार्टका लागि लामिछानेले चार ओभरमा २४ रन खर्चिए । उनले यसक्रममा तीन चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए । लामिछानेले सिड्नीका ब्याट्सम्यान मोइसेस हेनरिकलाई ४३ रनमा तथा डेनियल क्रिस्टियनलाई रन नै बनाउन नदिइकन पेभेलियन फर्काए । यसअघिको खेलमा समेत उहाँले दुई विकेट लिनुुभएको थियो । उनले बिग बासमा हालसम्म सात खेलमा आठ विकेट लिइसकेका छन् । लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २७ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा रहेको छ । होबार्टले अब मङ्गलबार मेलबर्न रेनेगेड्ससँग खेल्ने छ । उक्त खेलमा विजयी भएमा होबार्ट अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै रहने छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.